१७ माघ, उदयपुर । स्थानीय तह निर्वाचनको बेलामा गाउँ-गाउँमा सिंहदरबार भन्ने नारा सुने पनि उदयपुरगढी गाउँपालिकाका वासिन्दाले ब्यवहारमा भने अनुभव गर्न पाएका छैनन् ।
गाउँमा सिंहदरबार ल्याउँछौं भनेर चुनाव जितेका जनप्रतिनिधि पनि निराश बन्न थालेका छन् । गाउँपालिकामा न बिजुली छ, न राम्रो सडक छ, न खानेपानी छ, न बैंकको सुविधा नै छ । उनीहरुले यी सबै सेवा पाउन अझै सदरमुकाम गाईघाट नै पुग्नुपर्छ ।
गाउँपालिकाका प्रमुख अध्यक्ष मानबहादुर केप्छाकी मगर भन्छन्-‘यो गाउँ-गाउँमा सिंहदरबार पुर्याउन त अझै धेरै समय लाग्ला । अहिले आधारभूत समस्या समाधान गर्दागर्दै ५ वर्ष बित्लाजस्तो छ ।
बैंकका लागि सदरमुकाम नै
गाउँपालिकाका ३ सय भन्दा बढी योजनाको खाता खोल्न सदरमुकाम गाईघाट वा कटारी नगरपालिका पुग्नुपर्छ । त्यसका लागि एक दिन समय निकाल्नुपर्छ । अध्यक्ष केप्छाकी मगर भन्छन् ‘गाउँपालिकाका सरकारी सबै काम बैंक खाताबाट काम गर्नुपर्ने हुन्छ । सबै काम गर्न महिनामा १५ दिन त सदरमुकामनै बस्नुपर्छ ।’
यो गाउँपालिकामा बिजुली पनि पुगेको छैन । वडा नम्बर ७ मा त्रियुगा नगरपालिकाबाट जोडेर केही घरले विजुली बालेका छन् अन्यन्त्र अन्धकार छ ।
गाउँपालिकाको केन्द्रमै पानी हाहाकार
उदयपुरगढी गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ मै पानीको हाहाकार रहेको छ । वडा नम्बर ४ भेडिखोरबाट ल्याएको पुरानो खानेपानी आयोजना जीर्ण भइसकेपछि गढी क्षेत्रमा पानीको समस्या बढेको छ ।
गढी क्षेत्रमा अहिले पानी लिनका लागि १ घण्टा टाढाको कुवामा पुग्नुपर्नेे स्थानीय मेघप्रसाद धमलाले बताए । उनका अनुसार पुरानो आयोजनाको खानेपानी आउन छाडेपछि अहिले पानीको समस्या बढेको हो ।
पानीको ठूलो समस्या रहेको गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुहरि बरालले बताए । ‘यहाँ समस्या छ लुगा धुन नुहाउन त गाईघाट पुग्ने गरेको छु’ उनले भने ।
गढीमा ४ करोड ६९ लाख रुपैयाँको सरकारी खानेपानी आयोजना ३ वर्षदेखि सञ्चालनमा छ । उक्त आयोजनाको ३५ लाख बराबरको काम भए पनि अहिलेसम्म इन्टेक र १७ सय ३२ मिटर पाइप विछ्याइए पनि पानी ल्याउन धेरै समय लाग्ने उदयपुरढी खानेपानी आयोजनाका सचिव दीपक रोकाले बताए ।
अहिले उक्त क्षेत्रका दुई सय घरमा खानेपानी समस्या रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए । पानीको समस्याका कारण गढी क्षेत्रमा लुगा धुन, नुहाउन र विभिन्न आयोजनाको निर्माण कार्यसमेत प्रभावित भएको स्थानीय वासिन्दा बताउँछन् ।
पानीकै समस्याले पञ्चावती सामुदायिक होमस्टे सञ्चालनमा पनि कठिनाई रहेको होमष्टे सञ्चालक गीता धमलाले बताइन् ।
गाउँपालिकाले कार्यालयसमेत तत्कालिन गाविस भवनलाई प्रयोग गरेको छ । संरचनाको अभावमा कृषि, पशु, स्वास्थ्य लगायतका इकाइ कार्यालय सञ्चालनमा समस्या देखिएको छ ।
प्रतिक्रिया 4