२५ माघ, लहान । सिरहाको सुखीपुर वडा नम्बर ८ क्याम्पस चौकमा बन्दै गरेको सलहेश मन्दिर रातारात गायब भएको छ । साँझसम्म सबैले मन्दिर देखेको ठाउँमा भोलिपल्ट बिहान इँटा समेत नभेटिएपछि स्थानीयहरु आश्चर्यमा परेका छन् ।
राम जानकी मन्दिर सुखीपुरका महन्त बाबा वृज नारायण दासले २० वर्ष पहिले सलहेश मन्दिर बनाउन जग्गा दिएका थिए । तर, जग्गा रजिष्ट्रशन मन्दिरको नाममा नगरी दासका आफन्तको नाममा पास गरियो । त्यसबेला जग्गाको मूल्य धुर एक हजार पथ्र्यो । अहिले साढे ३ देखि ४ लाखसम्म पुग्यो ।
मन्दिरलाई दान गरिएको जग्गा कति धुर थियो एकीन छैन । बाबाले हातले नापेर सलहेश मन्दिरलाई जग्गा दान गरेका थिए । उनले नै मन्दिर निर्माणको शिलान्यास गरे ।
तर, मन्दिर बनिनसक्दै गायब भएको छ । निर्माणधीन रहेको सलहेश मन्दिर र पछाडि जोडिएको जमिन १ कठ्ठा ३ धुर जग्गा एउटै किता छ र उक्त जग्गाको मूल्य करोड पुगेपछि चलखेल गरेर रातारात निर्माणाधीन मन्दिर नै गायब पारिएको हो ।
पासवान टोलभित्र कम मूल्यको जग्गामा मन्दिर बनाई दिने भन्दै मन्दिर भत्काइएको स्थानीय बताउँछन् । यसमा संलग्नहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने साविक सुखीपुर गाविस-१ का पूर्ववडा अध्यक्ष बिल्ट चौधरीले बताउँछन् ।
ईलाका प्रहरी कार्यालय सुखिपुरले मन्दिर तोडफोड गर्ने आरोपमा रंजित पासमान, राजिव मिश्र र गाडी चालक रामकुमार यादबलाई पक्राउ पनि गरेको थियो ।
तर, त्यही दिन छुटेका छन् ।
जग्गा धनीका आफन्त राजिब मिश्रले मन्दिर तोडफोड आफूले नगरेको बताएका छन् । तर, आफूले मन्दिरको जग्गाको सट्टा अर्को जग्गा किनिदिएको स्वीकार गरे ।
पासमान समुदायले नै मेरो घरमा आएर यो मन्दिरको साट्टो पासमान टोलमै सलहेश मन्दिरको जग्गा खरिद गरी बनाई दिनु भनेपछि मैले २ धुरमा बनेको मन्दिरको जग्गाको साट्टो ११ घुर जग्गा किनिदिएको हुँ’ उनले भनेका छन् ।
प्रतिक्रिया 4