+
+

जबजमाथि औचित्यहीन प्रश्न

महेश विष्ट/सुरेश गौतम महेश विष्ट/सुरेश गौतम
२०७४ माघ २५ गते १८:३०

नेकपा एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज) को औचित्यबारे यतिबेला एमाले कार्यकर्तावीच बहस भइरहेको छ । उपमहासचिब घनश्याम भुसालले कमिटी बाहिरबाट सुरु गराउनुभएको यो बहसले कार्यकर्ता पंक्तिमा धु्रबीकरण गराएको छ ।

उपमहासचिब भुसालले यो बहस त्यतिबेला सुरु गराउनुभएको छ, जतिबेला एमाले र माओबादी केन्द्रबीच एकीकरणका लागि घनीभुत छलफल भइरहेको छ । दुई भिन्न-भिन्न पार्टी एकीकरणको पूर्बसन्ध्यामा सैद्धान्तिक बिषयमा छलफल हुनु स्वाभाबिक हुन्छ । अहिले दुई पार्टीबिच भइरहेको छलफलमा सैद्धान्तिक र बैचारिक बिषयले प्रबेश पाएको छैन ।

दुई पार्टीको कार्यक्रमिक, कार्यनीतिक र रणनीतिक एकरुपताका कारण सैद्धान्तिक बिषय जटिल हुने आकलन दुबै पक्षको नेत्तृत्वले गरेको छैन । बरु नेत्तृत्व ब्यबस्थापन पेचिलो हुन सक्ने सर्बत्र अनुमान छ । कथंकदाचित दुई पार्टीको एकीकरण हुन सकेन भने त्यो सैद्धान्तिक हिसाबले होइन, नेत्तृत्व ब्यबस्थापनले नै हुदैन भनेर ठोकुवा गर्न सकिने आधार प्रसस्तै छन् । यस्तो अबस्थामा एमालेभित्र, त्यो पनि असंस्थागत ढंगले सैद्धान्तिक बिषयमा किन छलफल चलाइयो ? यो निकै रहस्यमय छ ।

जबजमाथिको बहसका कारण एमालेभित्र ध्रुबीकरण पैदा हुदा पार्टीजीबनमा निकै असर परेको छ । पार्टीभित्रको एकमना एकता, सद्भाब र कमरेडीपनमा स्खलन आइरहेको छ । जबज पक्षधर र बिरोधीको रुपमा एक अर्काप्रति प्रहार हुन थालेको छ । जबजमाथि एक पक्षले स्वामित्व र अपनत्व दाबी गर्ने तथा अर्को पक्षले अरुची देखाउने परिस्थिति निर्माण हुन थालेको छ । कुनै मौका पाउने बितिकै जबजप्रति प्रहार समेत हुन थालेको छ । जस्तो कि गायिका कोमल वलीलाई एमालेले प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाको महिला उम्मेद्वार बनाउँदा जिम्मेवार कार्यकर्ताहरुले ‘जबजको औचित्य देखियो’ भन्दै सामाजिक सन्जालमा ब्यापक असन्तुष्टि पोखे । जबकि यस बिषयमा नेत्तृत्व पंक्तिको आलोचना हुनुपथ्र्यो । त्याग, बलिदानी, निष्ठा, समर्पण, सिद्धान्त, लगानी आदि सबै हिसाबले राष्ट्रियसभा जस्तो गरिमामय सदनमा वलीलाई पठाउने कुरा सर्बथा बेठीक हो । यसको आलोचना र भत्र्सना हुनैपर्छ । तर, आलोचना सिद्धान्तको होइन, नेत्तृत्व पंक्तिको हुनुपर्छ ।

महेश बिष्ट / सुरेश गाैतम

जबजले अोलीको माग गरेको थिएन र गर्दैन पनि । अोली चाहिएको हाम्रो नेत्तृत्व तहलाई हो । अोली हुनु र नहुनुले एमाले र कम्युनिष्ट आन्दोलनलाई केही फरक पर्दैन । हिजोसम्म अोलीले अहिलेको परिवर्नन र त्यसका पक्षधरलाई धारे हातले सरापेकै हुन । परिबर्तनको नेत्तृत्वकर्ता एमाले त मुलुकको सबैभन्दा ठूलो र प्रभावशाली राजनीतिक शक्तिका रुपमा आयो नि । जनताको बिश्वास र भरोसाका कारण एमाले यो अवस्थामा आएको हो ।

जनताले एमालेप्रति भरोसा गर्नु, अनि एमाले नेत्तृत्व तहले चाहि कोमल वलीहरुको भरोसा गर्नु एकदमै बिचित्र र असंगतिको अबस्था हो । वलीलाई एमालेले उम्मेद्वार बनाउने बिषय स्थायी समितिको सर्बसम्म निर्णय हो । यसमा स्थायी समितिले गलत निर्णय गरेकै हो । तर प्रहार जबजमाथि गरियो । हामी कहाँसम्म पुगेछौ भने आफ्नै मार्गदर्शन सिद्धान्तको धज्जी उडाएर आनन्द लिने ।

जबजको अपब्याख्या

०४९ सालमा जबज सामन्तबाद, दलाल नोकरशाही पुँजीबाद, बैदेशिक एकाधिकार पुँजीबाद र साम्राज्यबादबिरोधी कार्यक्रमका रुपमा प्रतिपादित गरिएको हो । जबजले सामन्ती शोषण, उत्पीडनको सबै अबशेषहरुको अन्त्य गर्ने, साम्राज्यबादी, दलाल नोकरशाही पुँजीबादका शोषणको अन्त्य गरी स्वतन्त्र, स्वाधीन तथा समृद्धशाली अर्थतन्त्र निर्माणमा जोड दिएको छ । जबज नौलो जनबादी क्रान्ति नै हो ।

अर्धसामन्ती र अर्धऔपनिबेशिक मुलुकहरुमा गरिने क्रान्ति नौलो जनबादी क्रान्ति नै हुन्छ । मदन भण्डारीले यो कार्यक्रम अघि सार्दा जबज मुलतः नयाँ जनबादी क्रान्ति नै हो भन्ने तथ्य अघि सार्नु भएको थियो । तर चीनमा गरिएको नयाँ जनबादी क्रान्ति र जबजमा फरक छ । नयाँ जनवादमा बिशिष्ट पक्षहरु थप गरेर जबजको न्वारान गरिएको तथ्यलाई कसैले भुल्न हुँदैन ।

जबजले बहुदलीय प्रतिश्पर्धाको राजनीतिलाई अंगालेको छ । आबधिक निर्बाचन गर्ने, बहुमत प्राप्त पार्टीले सरकार बनाउने र अल्पमतले प्रतिपक्षमा बस्ने, संबिधानको सर्बोच्चतालाई मान्ने, कानुनको शासन मान्ने, मानबअधिकार, मौलिक अधिकार, पूर्ण पे्रस स्वतन्त्रता, बहुलबादी खुला समाज, शक्ति पृथकीकरण जस्ता दुरगामी प्रभाब रहेका राजनीतिक बिषय जबजका अन्तरबस्तु हुन । यि बिशिष्ट पक्षहरु नौलो जनबादमा थपिएर जबजको जन्म भएको हो । यि बिशिष्ट पक्षहरु जनबादी क्रान्ति सम्पन्न भएपछिको अबस्थामा पनि लागू हुने हुन । जबजले जनबादी क्रान्ति सम्पन्न गरेपछि कम्युनिष्ट अधिनायकत्वको परिकल्पना गरेकै छैन । बहुदलीय प्रतिश्पर्धात्मक समाजबादमा शान्तिपूर्बक संक्रमण हुने कुरा जबजले प्रष्ट पारेको छ । तर अहिले क्रान्तिपछि जबजको कामै छैन भनेर अपब्याख्या भइरहेको छ । किन यस्तो गरियो, अपब्याख्या गर्नेहरुले जानुन । अर्धसामन्ती र अर्धऔपनिबेशिक मुलुकमा गरिने क्रान्ति, जो शान्तिपूर्ण हुन्छ नै जबज हो ।

मुलुकमा जनबादी क्रान्ति सम्पन्न भइसकेकाले अब जबजको च्याप्टर बाँकी नै छैन भनेर अहिले जोडतोडले प्रचार गरिएको छ । जबजको दुई पक्ष भएको कुराबाट कोही अनभिज्ञ छैन । एउटा सिद्धान्तको पक्ष र अर्को कार्यक्रमको पक्ष । कार्यक्रमको पक्ष कार्यान्वयन गर्दै र परिस्थिति अनुसार बिकास गर्दै जाने पक्ष हो । सिद्धान्तको पक्षलाई समृद्ध बनाउँदै जाने हो । जबज कार्यक्रम मात्र हुन्थ्यो भने क्रान्तिका लागि निर्माण गरिएको कार्यक्रम क्रान्तिपछि औचित्यहीन भयो भन्न सकिन्थ्यो ।
यो बिचार प्रणाली ब्यबहारको कसीमा सही ठहरिएर मार्गदर्शन सिद्धान्तको रुपमा बिकास भइसकेको छ । पार्टीले जबज मान्ने, नेता कार्यकर्ताले मान्दिन भन्ने, पार्टीले जबजको औचित्य थप पुष्टि भएको निस्कर्ष निकाल्ने, नेता कार्यकर्ताले जबजको अब कामै छैन भन्ने । यस्तो बिचित्रको अबस्था पार्टीभित्र लामो समयसम्म राख्नु राम्रो होइन । यसको चाँडो निरुपणको आवश्यकता छ ।

कसरी च्याप्टर क्लोज ?

जबज सिद्धान्त नभएर कार्यक्रम भएकाले यसको च्याप्टर क्लोज भएको प्रशिक्षण चल्न थालेको छ । ०५४ सालमै एमालेको छैटौं राष्ट्रिय महाधिबेशनले जबजलाई नेपाली क्रान्तिको कार्यक्रम, कार्यनीति र कार्यदिशालाई मार्गदर्शन गर्ने निर्देशक बिचार र मौलिक सिद्धान्तका रुपमा स्वीकार गरेको हो । सातौं राष्ट्रिय महाधिबेशनले यसैलाई निरन्तरता दिएको हो । ०६५ सालमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिबेशनले जबजको बिस्तुत ब्याख्या गर्दै नेपाली क्रान्तिको कार्यक्रम, कार्यनीति, कार्यदिशाका साथै मार्गदर्शन सिद्धान्तका रुपमा किटान गरेको हो । यी सबै महाधिबेशनमा कसैले पनि जबज सिद्धान्त होइन, कार्यक्रम मात्र हो भनेर भन्नुभएको थिएन ।

नेपाली समाजको चरित्रको बारेमा घनश्यमा भुसाललगायतका केही युवा नेताहरुले फरक मत प्रस्तुत गर्नुभएको थियो, त्यसैगरी जबज सिद्धान्त होइन भनेर कही फरक मत दर्ज छैन । आज जबज अप्रत्यासित रुपमा कार्यक्रम मात्र देखिनुको पछाडि कस्तो ब्यबसायिक सम्बन्धले काम गरेको छ, बुझ्न सकिएन ।

जबजलाई कसैको सनकको भरमा वा भावाबेषमा आएर सिद्धान्तको घोषणा गरिएको होइन । कसैले एकल वा समूहगत स्वामित्व लिन र अपनत्व जनाउन पनि जबज सिद्धान्तका रुपमा बिकास गरिएको होइन । जबजलाई सिद्धान्तका रुपमा किटान गर्ने कैयौ आधार थिए । कुनै बिचार प्रणाली सिद्धान्तका रुपमा बिकसित हुन ब्यबहार र अनुसन्धानबाट सही प्रमाणित हुनुपर्छ । बहुदलीय प्रतिश्पर्धाबाट र शान्तिपूर्बक ढंगले पनि कम्युनिष्टहरु सत्ता पुग्न सक्छन र आर्थिक, सामाजिक रुपान्तरण गर्न सक्छन् भन्ने कुरा दुनियासामु जबजले. प्रमाणित गरेको छ । जबज अंगीकार गरेको दुई बर्षभित्रै मुलुकमा एमालेले संसदमा ठूलो दलको हैसियतले सरकार गठन गर्न सफल भयो र ०५१ सालमा नेपालमा जनअभिमतद्वारा पहिलो पटक कम्युनिष्ट पार्टी सत्तासिन हुन पुग्यो । यसअघि कम्युनिष्टहरु राज्यसत्तामा पुग्न बुलेटलाई नै आधार बनाउनुपर्ने मान्यता थियो ।

मदन भण्डारीले ब्यालेटबाट पनि कम्युनिष्टहरु सत्तासिन हुन सक्छन् भन्ने बिचार अघि सार्दा एमाले अब कम्युनिष्ट नै रहेर भनेर स्यालहुइया मच्चाइएको थियो । कम्युनिष्टहरुको मूल उद्धेश्य सत्ता प्राप्ति होइन । सत्तामार्फत समाज बदल्ने कुरा कम्युनिष्टहरुको केन्द्रीय कार्यभार हो । सत्तालाई बैधानिक ढंगले उपयोग गरेरै समाज बदल्न सकिन्छ भनेर एमालेले ०५१ सालमा प्रमाणित पनि गर्‍यो । यो जबज बिचार प्रणाली ब्यबहारबाट सही ठहरिएको प्रमाण हो । मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष्यता जस्ता महान उपलब्धी हासिल हुनु जबज बिचार प्रणाली ब्यबहारबाट सही उठरिएको अर्को प्रमाण हो ।

जबजकै मार्गदर्शनमा ०६२/०६३ सालको जनआन्दोलन सफलतापूर्बक सम्पन्नभयो । यो शान्तिपुर्ण बाटोबाट एउटा राजनीतिक क्रान्ति सम्पन्न गरेको अबस्था थियो । क्रान्ति रक्तपातपूर्ण र मानिस मर्नैर्पर्छ भन्ने जडसुत्रबादी कम्युनिष्टका लागि यो भयंकर ठूलो शिक्षा थियो । क्रान्तिको प्रधान कुरा यथास्थितिमा परिबर्तन हो र क्रान्ति सम्पन्न हुनुभनेको परिबर्तन हुनु हो । क्रान्तिमा मानब रगत अनिबार्य छैन र शान्तिपुर्ण जनसंघर्षबाट पनि क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने जबजको सच्याई ०६२/०६३ सालको जनआन्दोलनले पुष्टि गर्‍यो । त्यस जनआन्दोलनको बलमा स्थापित ब्यबस्थापिका संसदले सर्यौ बर्षदेखि कायम बंशानुगत राजतन्त्रको अन्त्य गर्ने ऐतिहासिक प्रस्ताब पास गर्‍यो, जसलाई पहिलो संबिधानसभाले कार्यान्वयन गर्‍यो भने दास्रो संबिधानसभाले नयाँ संबिधान जारी गर्दै त्यससलाई संस्थागत गर्‍यो । यस ऐतिहासिक परिघटनाले शान्तिपुर्ण जनसंघर्षबाट एउटा राष्ट्रको जीबनमा युगान्तकारी परिबर्तन गर्न सकिन्छ भन्ने बिश्वसामु उदारहण पेश मात्र गरेन जबजको बैचारिक मान्यताहरु एकदमै सही छन् भन्ने ब्यबहारबाटै प्रमाणित समेत गर्‍यो ।

०७३ साल असोज ३ गते संबिधानसभाबाट संबिधान जारी गर्ने देशहरुको ४३ औ सुचीमा समाबेश हुदै मुलुकमा नयाँ संबिधान जारी भयो । यो नेपालको लागि युगान्तकारी परिबर्तन हो । यो परिबर्तनसँगै मुलुकमा नयाँ युगको प्रारम्भ भयो र बिकास, प्रगति, समृद्धि, शान्ति, स्थिरता एबम् सामाजिक रुपान्तरणको संभाबना अत्याधिक बढेको छ । यो संबिधानले लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्ष्यता, समाबेशी राज्यको स्वरुप र चरित्रलाई संस्थागत गरेको छ । एउटा राष्ट्रको जीबनमा यति धेरै परिबर्तन एकै पटक गर्ने र त्यसलाई संबिधानमार्फत संस्थात गर्ने संभबतः नेपाल बिश्वमै पहिलो मुलुक हो । यो युगान्तकारी परिबर्तनलाई संस्थागत गर्ने नयाँ संबिधान जबजको मार्गदर्शनमा निर्माण भएको छ । यो संबिधानले आत्मसात गरेको लोकतन्त्रको आधारभुत मुल्य मान्यता जबजको आत्मा हो । संबिधानसभाबाट निर्मित संबिधान जजबको मार्गदर्शनमा निर्माण भएर कार्यान्वयन आउने अनि जबजको औचित्य चाहि समाप्त भयो भन्नु कति संगतिपूर्ण कुरा हो ?

संबैधानिक राजतन्त्र, नवउदारवाद, हिन्दु धर्मलाई आफ्नो सिद्धान्त बनाउन पुगेको नेपाली काङ्ग्रेस आज गणतन्त्र र सामाजिक न्याय सहितको लोकतन्त्रमा आइपुगेको छ । यता एमाले र माओबादी केन्द्रबिच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । कुनै बेला नेकपा माओबादी एमालेलाई कम्युनिष्ट मान्ने स्थितिमै थिएन । सशस्त्र क्रान्ति नगरी शान्तिपूर्ण बोटोबाट सत्तामा पुग्न सकिन्छ भन्ने, बहुदल र बहुलबाद मान्ने, संसदीय ब्यबस्थाबाट समाज बदल्न सकिन्छ भन्ने कम्युनिष्ट हुनै सक्दैनन् भन्ने सशस्त्र संघर्ष सन्चालन गरिरहेको माओवादीको निस्कर्ष थियो ।

त्यसैले माओवादीको दृष्टिकोणमा जबज मान्ने एमाले घोर संशोधनबादी र दक्षिणपन्थी भासमा डुबेको पार्टी थियो । सशस्त्र संघर्षले राज्यसत्ता कब्जा नहुने तस्बीर देखेपछि एक्काइशौ शताब्दीको जनवादको नाममा जबजकै मूल बाटोमा माओबादी आउन बाध्य भयो । हिजो एमालेलाई कम्युनिष्ट नै नदेख्ने माओबादी जबजको मार्गमा मात्र आएन, आज एमालेसँग पार्टी एकीकरणको प्रक्रियामा छ ।

एकीकरणपछि पनि प्रचण्ड एमालेको अध्यक्ष बन्ने योजनामा छन्, जुन घुमाउरो भाषामै उनले सार्बजनिक गरिसकेका छन् । राज्यसत्ता प्राप्तिको लागि दश वर्ष लामो सशस्त्र संघर्षको नेत्तृत्व गरेका प्रचण्ड सिंगो माओवादीलाई एमालेकरण गर्दै जवजलाई मार्गदर्शन सिद्धान्त बनाएको पार्टीको नेत्तृत्व लिन अग्रसर हुनुले जबजको ब्यबहारिक सच्याई पुष्टि गर्छ कि औचित्य समाप्त हुन्छ ? निरन्तर जबजको श्रेष्ठता प्रमाणित भइरहेको अबस्थामा जबजमाथिको प्रहार किन र कुन प्रयोजनका लागि हो ? यस्ता प्रश्न अनुत्तरित हुनुहुदैन ।

(लेखकद्वय नेकपा एमाले केन्द्रीय युवा तथा खेलकुद बिभागका सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?