+
+

भूकम्पपीडितका घरको सरकारले बीमा गरिदिने

सहुलियत ऋण लिने लाभग्राही प्राथमिकतामा

सुवास भट्ट सुवास भट्ट
२०७४ माघ २६ गते १५:५८

२६ माघ, काठमाडौं । भूकम्पपीडितका घरलाई अब सरकारले बीमा पनि गरिदिने भएको छ । भविष्यका सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै सरकारी अनुदानमा बन्ने निजी आवासको बीमा गर्ने तयारी थालिएको हो ।

‘सरकारले प्रवाह गरिरहेको सहुलियत व्याजदरको ऋणसँग जोडेर बीमा पनि गर्ने आन्तरिक गृहकार्य भइरहेको छ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले अनलाइनखबरसँग भने ।

उनका अनुसार यस सम्बन्धमा बीमा समिति, राष्ट्रिय बीमा संस्थान, निजी बैंकलगायतका सरोकारवालाहरुसँग छलफल चलिरहेको छ ।

हाल प्राधिकरणले शहरी क्षेत्रका पीडितलाई २५ लाख रुपैयाँ र ग्रामीण इलाकामा दुई प्रतिशत सहुलियत व्याजदरमा ऋण दिँदै आएको छ । त्यसको अवधि अधिकतम १० वर्षसम्म रहने व्यवस्था छ । हालसम्म ६ सय ६९ लाभग्राहीले यस्तो कर्जा सुविधा लिएका छन् ।

सहुलियत व्याजको कर्जा लिने पीडितलाई बीमा सुविधा उपलब्ध गराउने प्राधिकरणको योजना छ ।

त्यसबाट पीडितलाई पनि त्यति धेरै मर्का नपर्ने प्राधिकरणको ठहर छ । ‘दुई प्रतिशत व्याजदरको कर्जा सुविधा आफैंमा सहुलियत हो,’ भूसालले भने, ‘कर्जा रकमको शून्य दशमलव एक प्रतिशत छुट्याउँदा पनि बीमा गर्न सक्ने अवस्था देखिन्छ ।’

प्राधिकरणका अनुसार भूकम्पबाट प्रभावित सात लाख ६७ हजार पीडित अनुदानका लागि लाभग्राही हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?