+
+

अाजबाट ‘पोखरा सस्तो बजार’ सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १३ गते १७:३७

१३ फागुन, पोखरा । पोखरा पृथ्वीचोकमा हालै खुलेको ‘पोखरा सस्तो बजार’ सञ्चालनमा आएको छ ।

पृथ्वीचोक भन्दा करीब एक सय मिटर माथि वायु सेवा निगमको जग्गामा गत असोजबाट आंशिक रुपमा सुरु भएको बजार आइतबारदेबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

विदेशमा पलायन नभइ स्वदेशमै लगानी गरेर स्वरोजगार हुनुपर्छ भन्ने ३ युवाहरुले ५ रोपनी क्षेत्रफलमा बजार सञ्चालन गरेका छन् ।

बजारको संरक्षकमा राजेन्द्रबहादुर गोर्खाली छन् भने सञ्चालकमा युवराज खतिवडा र पूर्णबहादुर पाठक छन् ।

उनीहरुले सूर्य दिल ग्रुप ईन्भेष्टमेन्ट कम्पनी प्रालिमार्फत करीब ७ करोडको लागतमा बजार सञ्चालन गरेका हुन् ।

पुरानो बजार हटाएर नयाँ बनाइएकाले २ वर्षसम्म वायु सेवा निगमलाई भाडा वापत २ करोड बुझाई सकेकाले कुल ९ करोड रुपैयाँ लागत भेटेको सञ्चालक मध्येका एक पूर्णबहादुर पाठकले जानकारी दिए ।

यसअघी सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले सस्तो बजारको ठेक्का पाएपछि ब्यबसायीहरुले विरोध गर्दै भाडा तिरेका थिएनन् । सो विवाद चरम उत्कर्षमा पुगेपछि जग्गा धनी नेपाल वायु सेवा निगमले हस्तक्षेप गरेर बजार हटाएपछि स्थायी संरचना बनाएर बजार बसाइएको हो ।

बजार सञ्चालनमा आएपनि केही स्टलहरु बुकिङ हुन बाँकी रहेको सूर्य दिल ग्रुपले जनाएको छ । सूर्य दिल ग्रुपका सञ्चालक मध्येका एक युवराज खतिवडाले भुईंतलामा ७५ प्रतिशत स्टलहरु बुकिङ भइ २५ प्रतिशत बुकिङ हुन बाँकी छन् भने माथिल्लो तलामा २५ प्रतिशत बुकिङ भई ७५ प्रतिशत स्टलहरु बुकिङ हुन बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार बजारमा कुल ४ सय स्टलहरु रहेका छन् । हुने खानेलाई भन्दा हुँदा खानेलाई प्राथमिकताका साथ सटर उपलब्ध गराइने गरेको र बजारमा ८० प्रतिशत भन्दा बढी व्यवसायी पुराना रहेको खतिवडाले बताए ।

बजारमा नूनदेखी सुनसम्म र हिरादेखि जिरासम्म रहने सूर्य दिल ग्रुपले जनाएको छ । बजारमा होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, व्यूटी पार्लर, सैलुन, भाँडाकुँडा, क्याफे, थकाली किचन, स्पोर्टस् सेन्टर, फलफुल, तरकारी, मोवाइल तथा इलेक्ट्रोनिक्सलगायतका सामग्री एकै थलो पोखरा सस्तो बजारमा पाइने सञ्चालक खतिवडाले बताए ।

बजारमा रहेका सामान ताजा, सफा र गुणस्तीय हुने उनले दाबी गरे । कृषकबाट सिधै बजारमा ल्याउने भएकाले सो बजारका उपभोग्य सामग्री गुणस्तरीय र ताजा हुने उनको भनाइ छ ।

त्यस्तै बजार पोखराका अन्य बजारको तुलनामा सस्तो हुने सूर्य दिल ग्रुपको दाबी छ । सञ्चालक खतिवडाले भने,’पोखरा सस्तो बजारले नाम अनुसारकै सेवा दिनेछ, यसमा ढुक्क हुनुस् ।’

बजारमा स्टल अनुसार भाडादर पनि फरक/फरक रहेको सूर्य दिल ग्रुपले जनाएको छ । सञ्चालक खतिवडाका अनुसार माथिल्लो तलामा न्यूनतम ८ हजारदेखी र भुईंतलामा १० हजारदेखी ४५ हजारसम्मको भाडा कायम गरिएको छ । त्यस्तै, स्टलका लागि १ लाखदेखी स्टल अनुसार १५ लाखसम्म धरौटी बुझाउनुपर्ने उनले बताए ।

भुईं तलाको अग्र भागको २ वटा सटरको भाडा महङ्गो हुने र माथिल्लो तलाको पछिल्लो भागमा रहेका स्टलहरु सस्तोमा पाइने उनले बताए ।

बजारलाई ग्राहकमैत्री बनाउन भन्दै होम डेलिभरीको व्यवस्थासमेत हुने भएको छ । सञ्चालक खतिवडाले भने,’कुनै सामान ग्राहकले किन्यो र घरसम्म लगिदिन आग्रह गर्‍यो भने हामी घरसम्म नै पुर्‍याई दिन्छौं, त्यसका लागि बजारको आफ्नै गाडी छ ।’

त्यस्तै बजारका प्रत्येक सटरमा सिसी टिभी जडान गरिएको छ । जसका कारण व्यवसायीले बेलुका सामान थन्काएर सटर लगाउनुपर्ने बाध्यतासमेत हट्ने भएको छ । यसैगरी निःशुल्क वाइफाई, व्यवस्थित शौचालय, खानेपानीको सुविधा र पार्किङको पर्याप्त सुविधा रहेको खतिवडाले बताए ।

बजार सञ्चालकले स्टलको भाडा समयमै भुक्तानी गर्ने व्यवसायीलाई उपहार दिने भएको छ । वाषिर्क रुपमा समयमै स्टलको भाडा बुझाउने मध्ये एक जना व्यवसायीलाई स्कुटर प्रदान गरिने सञ्चालक खतिवडाले जानकारी दिए ।

पोखरामा फुटपाथ ब्यापार अझैपनि सञ्चालन भइरहेका बेला यस बजारले ती व्यवसायीलाईसमेत स्टलसम्म ल्याएर पोखरालाई स्मार्ट सिटी बनाउनका लागि सघाउने उनले दाबी गरे ।

सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले ५ वर्षको लागि कर कट्टासहित मासिक ११ लाख तिर्नेगरी निगमसँग जग्गा लिजमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?