१५ फागुन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँचाै संसद बैठकमा विश्वासको मत माग्दै प्रदेश समृद्धिका लागि सबै एक हुनुपर्ने बताएका छन् ।
जनताले प्रदेश समृद्धि र विकासका लागि मत दिएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न सबै एक ठाउँमा आउनु पर्ने मुख्यमन्त्री शाहीले बताए ।
कर्णाली प्रदेशमा सम्भावना र चुनौती दुबै भएकोले चुनौतीलाई छिचोलेर समृद्धि प्रदेश बनाउन कोही विपक्ष हन नहुने बताए । ‘हामी सबै एक ठाउँमा उभिएर अघि बढ्यौभने हाम्रो जिम्मेवारी पूरा गर्न सक्छौं,’ उनले भने,’प्रदेशको समृद्धिका लागि पक्ष र प्रतिपक्ष कोही नबनौं ।’
संविधानको धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
एमाले र माओवादीका ३३ सांसदको समर्थनमा शाहीको नेतृत्वमा कर्णाली सरकार गठन भएको हो । हाल एमालेका चन्द्रबहादुर शाहीले राजीनामा दिइसकेका छन् । बाँकी ६ जना कांग्रेस र एक जना राप्रपाका सांसद छन् ।
यस्तै बैठकमा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता यामलाल कंडेल र माअोवादी केन्द्रकी संसदीय दलकी सचेतक सीता नेपालीले समेत प्रदेश समृद्धिका लागि कोही प्रतिपक्षी हुन नहुने बताएका छन् ।
प्रतिक्रिया 4