+

नेपाल भर्सेस हङकङः नेपालको घाँटीमा रेलिगेसनको तरबार !

२०७४ फागुन  २७ गते २०:०० २०७४ फागुन २७ गते २०:००
नेपाल भर्सेस हङकङः नेपालको घाँटीमा रेलिगेसनको तरबार !

२७ फागुन, काठमाडौं । विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार हङकङसँग खेल्दैछ । हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।

सुपर सिक्सको अंकगणित

विश्वकप छनोटमा लगातार तीन खेल हारेको नेपालले अंकविहीन हुँदै समूह ‘बी’को पुछारमा छ । यो समूहबाट स्कटल्याण्ड र जिम्बाब्वे अघिल्लो चरण पुगिसकेका छन् ।

समान २-२ अंक भए पनि नेट रनरेटका आधारमा अफगानिस्तान तेस्रो र हङकङ चौथो स्थानमा छ ।

यदि नेपालले सोमबार हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल हुन्छ । नेपाल आफैं सुपर सिक्समा पुग्न चमत्कारिक खेल देखाउनुपर्छ ।

क्रिकइन्फोका पिटर डेला पेनाका अनुसार नेपालले पहिले ब्याटिङ गरेको अवस्थामा ३०० रन बनाएर हङकङलाई १५० मा समेट्नुपर्छ । पहिले फिल्डिङ गरेको अवस्थामा हङकङलाई १५० रनमा अलआउट गरेर ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्छ ।

नेपाली टिमको अहिलेको फर्मलाई हेर्दा यो एक प्रकारले असम्भव जस्तै छ ।

ओडीआई स्टाटसको हिसाव किताब

तर, एकदिवसीय मान्यता पाउन तथा घटुवा हुनबाट बच्न पनि नेपालले सोमबार हङकङलाई हराउनुपर्छ ।

विश्वकप छनोट खेलिरहेका १० मध्ये जिम्बाब्वे, वेस्टइण्डिज, अफगानिस्तान र आयरल्याण्ड आईसीसीका पूर्णकालीन सदस्य हुन् भने नेदरल्याण्डले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको छ र २०२२ सम्म एकदिवसीय मान्यता पाएको छ ।

आईसीसीकाअनुसार बाँकी ५ टिम एसोसिएट टिमध्ये तीनले एकदिवसीय मान्यता पाउनेछन् ।

स्कटल्याण्डले समूह बीबाट सुपरसिक्समा स्थानसँगै ओडीआई स्टाटस पक्का गरेको छ । सोमबार नेपाललाई हरायो भने हङकङ पनि सुपरसिक्समा पुग्छ र ओडीआई स्टाटस पाउँछ । तर, हङकङलाई हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्छ र त्यसपछि खेलाइने प्ले अफले ओडीआई स्टाटस पाउने टोलीको टुंगो लाग्नेछ ।

यो पनि विकल्प

सोमबार हार्नासाथ नेपालले ओडीआई स्टाटस नपाउने र डिभिजन टूमा घटुवा हुन्छ त ?

होइन, एउटा अर्को सम्भावना छ । त्यो भनेको समूह एको खेल । समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४-४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ ।

सोमबार नै यूएई र आयरल्याण्ड तथा नेदरल्याण्ड्स र वेष्टइण्डिजसँग खेल्नेछन् । यदि नेदरल्याण्ड्सले ८७ रन बढीको जित निकाल्यो र आयरल्याण्डले यूएईलाई ५७ रन अन्तरले हरायो भने नेदरल्याण्ड्स सुपर सिक्समा पुग्छ ।

अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

तर, नेपाल हङकङसँग हार्ने र यूएई सुपर सिक्समा पुग्ने हो भने नेपालले ओडीआई स्टाटस पाउने मौका मात्र गुमाउने छैन, फेरि डिभिजन टूमै घटुवा हुनेछ ।

विश्वकप छनोट क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय