२९ फागनु, दार्चुला । भारतले महकाली नदीमा निर्माण गरेको ४ वटा अस्थायी काठेपुलमध्ये २ वटा हटाएको छ ।
जिल्लाका व्यास गाउँपालिका २ राप्ला क्षेत्रका ४ ठाउँमा नेपाल भारत जोड्ने अस्थायी काठे पुलमध्ये २ वटा पुल हटाएको निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर लालबहादुर साउदले बताए ।
राप्लाको घाटिबगड र भारतको मालपा जोड्ने अस्थायी काठेपुल र नेपालको दोपाखे र भारतको छनकन जोड्ने अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको जनाएको छ ।
यसअघि फागुन २१ गते भारतको पिथौरागढमा बसेको नेपाल भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाली पक्षले पुल हटाउनुपर्ने बताएपछि भारतले हटाएको अनुमान गरिएको छ ।
भारतले नेपालको अनुमति विना सीमा नदी महाकालीमा निर्माण गरेको ४ वटा अस्थायी काठेपुलमध्ये २ वटामात्रै हटाएको छ भने २ वटा कायमै छ । तम्बाकु र नजंग भन्ने ठाउँमा निर्माण गरिएको २ वटा काठेपुल भने हटाइएको छैन ।
सेनाकाे गस्ती
महाकाली नदीमाथि भारतले अनुमति विना अस्थायी काठेपुल निर्माण, नेपाली भूमिमा झण्डै डेढ सय मिटर सडक निर्माण, २ किलोमिटर गोरेटो बाटो निर्माण गरेको खरब सार्वजनिक भएपछि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।
जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाली सेनाको दुर्गादल गुल्मबाट ५० जना सैनिक टोली भारतले काठेपुल निर्माण गरेको दार्चुलाको उत्तर पुर्वी सीमा क्षेत्रतिर गस्तीमा गएको छ ।
सेनाले सीमा क्षेत्रका गतिविधि, अवस्था र त्यस क्षेत्र स्थानीयहरुको सुरक्षा अवस्था लगायतलाई मध्यनजर गर्दै नेपाली सेनाको टोलीले झण्डै ३ हप्ता सीमा क्षेत्रमा गस्ती गर्ने छ ।
प्रतिक्रिया 4