+
+

के हो परिपक्व मौसम पूर्वानुमानको राज ?

पहिले आकाश हेरेर पानी पर्छ र कि घाम लाग्छ भनेर भविष्यवाणी गर्न बाध्य नेपालका मौसमविदहरु हाल अत्याधुनिक प्रविधिबाट प्राप्त तथ्यांक र मोडेलहरु अध्ययन विश्लेषण गर्छन् । विज्ञसमेतको सामूहिक छलफलबाट निचोड निकाल्छन् ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असोज १५ गते २०:१०

१५ असोज, काठमाडौं । नेपालमा केही वर्षअघिसम्म मौसमको भविष्यवाणी मिल्दैनथ्यो । पानी पर्छ भनेको बेला घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी पर्थ्यो । त्यही भएर मानिसहरू व्यंग्य गरेर भन्थे– मौसमविदले आज पानी पर्दैन भनेका छन्, त्यही भएर छाता बोक्नुपर्‍यो ।

‘त्यतिबेला पूर्वानुमान मिलोस् पनि कसरी, हामीलाई आकाश हेरेर भविष्यवाणी गर्नुपर्ने बाध्यता थियो,’ मौसमविद प्रतिभा मानन्धर भन्छिन्, ‘तपाईंको जिल्लामा पानी परेको छ कि छैन भनेर फोन गरेर सोध्नुपर्थ्यो ।’

केही वर्षयता भने अवस्था फेरिएको छ । नेपालको मौसम पूर्वानुमान वैज्ञानिक भएको छ । र, पूर्वानुमान पनि मिल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन सुरु हुनुअघि नै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यो प्रक्षेपणसँगै यस वर्ष चरम मौसमी घटनाको जोखिम पनि औंल्याएको थियो ।

त्यतिबेला विभागका मौसमविदले मनसुन अवधिका चार महिनामध्ये सुरुका दुई महिना (जुन र जुलाई)मा ‘अल निनो’ र अन्त्यका दुई महिना (अगष्ट र सेप्टेम्बर)मा ‘ला–निनो’को प्रभाव देखिने बताएका थिए । ‘अल निनो’को बेला कम वर्षा र ‘ला निनो’को बेला बढी वर्षा हुने गर्दछ ।

नभन्दै जुलाई महिनामा गर्मीले पनि रेकर्ड तोड्यो । झमझम झरी परिरहेका बेला पनि गर्मी महसुस भयो ।

भर्खरैको कुरा गर्ने हो भने ठ्याक्कै सेप्टेम्बरको अन्तिम साता अर्थात् असोज १० गतेदेखि १२ गतेको बीचमा परेको रेकर्ड ब्रेक वर्षाले विपत्ति पनि निम्त्यायो । असोज १२ गते बिहान ८:४५ बजेसम्मको २४ घण्टा अवधिको रेकर्डअनुसार १४ जिल्लाका २५ वटा केन्द्रमा वर्षाको पुरानो रेकर्ड तोडियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते मनसुन सक्रिय हुन लागेको भन्दै विशेष बुलेटिन निकालेर सतर्कता अपनाउन अनुरोध पनि गरेको थियो । त्यतिबेला महाशाखाका मौसमविदले अत्यधिक वर्षाले नेपालका २७ जिल्ला उच्च जोखिममा र ४२ जिल्ला मध्यम जोखिममा पर्ने भविष्यवाणी गरेका थिए ।

त्यसको दुई दिनपछि नै अर्थात् असोज ९ गते महाशाखाका मौसमविदले बुलेटिन अद्यावधिक गरे । र, दिउँसो तीन बजे विशेष बुलेटिन सार्वजनिक गरी वर्षाबाट हुने बाढी–पहिरोबाट ५६ जिल्ला उच्च जोखिममा र १९ जिल्ला मध्यम जोखिममा पर्ने सम्भावना औंल्याए ।

अनलाइनखबरले भने असोज ९ गते बिहान ८ बजे नै ‘नेपालतिर सोहोरियो पानी पार्ने प्रणाली, विपत्तिको जोखिम’ शीर्षकमा समाचार सार्वजनिक गरिसकेको थियो ।

पूर्वानुमान अनुसार नै भिषण वर्षासँगै आएको बाढी–पहिरोमा परी २०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । साना बाटाघाटादेखि ठूला राजमार्गसम्म तहसनहस भएका छन् । पुलपुलेसा बगेका छन् । हजारौं व्यक्तिहरू बीच बाटोमै अलपत्र परेका छन् । सिंगो गाउँबस्ती र बजार बगरमा परिणत भएका छन् । सञ्चार सम्पर्क पनि विच्छेद भयो ।

अवस्था यतिसम्म दर्दनाक भयो कि धादिङको नौबिसेदेखि काठमाडौंको नागढुंगाको बीचमा पर्ने झ्याप्लेखोलामा सवारी साधनहरू पहिरोमा पुरिए । त्यहीँ तीन दर्जन बढीको मृत्यु भयो । काठमाडौंबाट नजिकै रहेको घटनास्थलमा उद्धार टोली समयमै पुग्न पनि सकेन ।

त्यसो त, काठमाडौं उपत्यका भित्रै ललितपुरको नख्खु खोलाको उर्लिंदो भेलको बीचमा फसेको एउटा परिवारले तीन–चार घण्टासम्म उद्धारको गुहार माग्दा पनि उद्धारकर्ता पुग्न सकेनन् । उद्धार हुने आशमा जस्ताको टहरोको छानोमाथि चढेका उनीहरूलाई अन्तत बाढीले बगायो । उद्यपि उनीहरूको सोही ठाउँमा बस्ने चणिकलाल तामाङले उद्धार गरे ।

यस्तो भयावह अवस्था आउन सक्छ भन्ने पूर्वसूचना नेपालका मौसमविदले पहिल्यै दिएका थिए । तर विपद् प्रतिकार्यको तयारी समयमै नहुँदा मानवीय क्षति बढी भयो ।

गत असार २३ र २४ गते कञ्चनपुरमा क्लाउड बर्स्ट (आरिघोप्टे) वर्षा हुनुअघि पनि मौसमविदले त्यहाँ भिषण वर्षा हुने सम्भावना औंल्याएका थिए । तर त्यहाँ पूर्वसूचना र पूर्वसतर्कताले ठूलो मानवीय क्षति हुन पाएको थिएन ।

जल तथा मौसम विज्ञान विभाग र गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले अत्यधिक वर्षा हुने पूर्वानुमानको सूचना २१ गते नै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पठाएको थियो । त्यो सूचनाको आधारमा जोखिम क्षेत्रबाट १ हजार ४६० परिवारका ५ हजार १ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

असार २३ गते बिहान ८:४५ बजेदेखि २४ गते बिहान ८ः४५ बजेसम्मको २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर कूल वर्षा रेकर्ड भएको थियो । यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ (सन् १९४७) देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा हालसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो । त्यो वर्षा र बाढीले सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रसहित जिल्लाका अधिकांश बस्ती जलमग्न भएका थिए ।

कसरी गरिन्छ सटिक पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय बबरमहलको नौ तले भवनमा छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कन्ट्रोल टावर भवनमा उपलब्ध गराइदिएका दुईवटा कोठामा सञ्चालित छ ।

त्यहाँ साना–ठूला करिब एक दर्जन कम्प्युटरहरू राखिएको छ । ती कम्प्युटरमा चीन, भारत र जापानका स्याटेलाइट इमेज, वेबसाइटमा निःशुल्क हेर्न मिल्ने मौसम पूर्वानुमानका मोडेल तथा देशका विभिन्न स्थानमा राखिएका वर्षा तथा तापक्रम मापन केन्द्रका विवरण हेर्ने गरिन्छ ।

मौसमविदहरूले सर्फेस म्याप एनालाइसिसका डाटा निःशुल्क डाइनलोड गरेर मौसमी अवस्थाबारे पनि विश्लेषण गर्दछन् । यसबाट भारत, पाकिस्तान, बंगलादेश र त्यस आसपासको मौसमी गतिविधि ट्र्याक गरेर त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे जानकारी लिन सकिन्छ ।

साथै मौसम पूर्वानुमानका लागि न्यूमेरिकल वेदर प्रेडिक्सन (एनडब्ल्यूपी) पनि प्रयोग गर्छन्

नेपालका पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्म मौसम र वर्षा मापन केन्द्रहरू छन् । ती केही स्वचालित र केही मानव सन्चालित छन् । अटोमेटिक वेदर स्टेसन (एडब्ल्यूएस) अर्थात् स्वचालित मौसम केन्द्रहरू १७२ वटा छन् । ती केन्द्रहरूमा जडान भएका सेन्सरहरूमार्फत् तापक्रम, सापेक्षित आद्रता, वायुमण्डलीय चाप, हावा र पानीको मात्रा स्वचालित ढंगले मापन हुन्छ जसको व्यवस्थित तथ्याङ्क कम्प्युटरमा हेरिन्छ ।

यसैगरी टिपिङ बकेट स्टेसन (टिपीबी) अर्थात् स्वचालित वर्षा मापन केन्द्रहरू १६८ वटा छन् । ती केन्द्रहरूमा वर्षाको मात्र मापन हुन्छ ।

सिनोप्टिक ८ र एरोसिनोप्टिक १४ गरी जम्मा २२ वटा थप स्टेसन छन् । तीमध्ये १७ वटाका तथ्यांकहरू जीपीएसको माध्यमबाट विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) सहित विश्वभर पुग्छ । अन्य स्टेसनका तथ्यांकहरू भने नेपालभित्र सीमित छन् ।

स्वचालित स्टेसनबाट तथ्यांकहरू कम्प्युटराइज्ड सिस्टममा हेर्न सकिन्छ, तर म्यानुअल तथ्यांकहरू मान्छेले नै मापन गरेर हेर्नुपर्छ । स्वचालित केन्द्रबाट वर्षा र तापक्रमको विवरण सिधा काठमाडौंस्थित कार्यालयका कम्प्युटरमा हेर्न सकिन्छ भने मानव सन्चालित केन्द्रका विवरण त्यहाँ खटाइएका कर्मचारीले टिपाउने गर्दछन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यका अनुसार म्यानुअल वेदर स्टेसनहरूलाई स्वचालितमा स्तरोन्नती गर्ने काम भइरहेको छ ।

मौसम विज्ञान विभागले मौसमी गतिविधिबारे जानकारी लिन अत्याधुनिक राडार समेत जडान गरेको छ । ती राडार करिब दुई सय किलोमिटर वरिपरिको हावाको आद्रता, वेग, पानीको मात्रा, हिउँको मात्रा लगायतका सूचना सर्भरमा पठाउने क्षमता राख्छन् ।

डा. जगदिश्वर कर्माचार्य, महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग

पूरै नेपालभर कभर गर्ने उद्देश्यले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनीको पाल्पा र कोशीको उदयपुरमा जडान गरिएका ती राडार बिग्रिएको लामो समयसम्म पनि विभागले मर्मत गर्न सकेको छैन ।

यसका अलावा मौसमविदहरूले सर्फेस म्याप एनालाइसिसका डाटा डाइनलोड गरेर मौसमी अवस्थाबारे पनि विश्लेषण गर्दछन् । यसबाट भारत, पाकिस्तान, बंगलादेश र त्यस आसपासको मौसमी गतिविधि ट्र्याक गरेर त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे जानकारी लिन सकिन्छ ।

साथै मौसम पूर्वानुमानमा न्यूमेरिकल वेदर प्रेडिक्सन (एनडब्ल्यूपी) र मोडेल फरकास्ट पनि प्रयोग गरिन्छ ।

साथै विश्वव्यापी र क्षेत्रीय स्तरमा जलवायु आकलन गर्ने प्रणालीहरू, नेपालको जलवायुमा प्रभाव पार्ने क्लाइमेट राइभर्स (टेलिकनेक्सन) र नेपालको विगत ३० वर्षको तथ्याङ्कसँग वर्तमानको सम्बन्धलाई तुलना गरेर पनि मौसम प्रक्षेपण हुने गरेको छ ।

सबै तथ्यांक, मोडेल र स्याटेलाइट इमेजको अध्ययनका आधारमा महाशाखाका मौसमविदले दिनमा दुई पटक (बिहान ६ बजे र बेलुका ६ बजे) तीन दिनसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्छन् ।

महाशाखाका केही कर्मचारीहरू चौबिसै घण्टा काममा खटिएका हुन्छन् । उनीहरूले कुनै विशेष मौसमी घटना हुने संकेत पाएमा आवश्यक प्रक्रिया पूरा गरी जुनसुकै समयमा विशेष बुलेटिन जारी गर्छन् । साथै जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन अनुरोध गर्छन् ।

नेपालको वायुमण्डलमा हुने छिनछिनको फेरबदलको अवस्था हेर्न, तथ्यांक संकलन गर्न र सूचना प्रवाह गर्न महाशाखामा करिब १२ जना जनशक्ति छन् ।

उनीहरूले मौसमी अवस्थाको जानकारी लिन चाहने जोसुकैलाई पनि मौखिक जानकारी दिन्छन् । त्यसका लागि मनसुन सुरु भएदेखि वर्षा र बाढीको सूचना दिन पैसा नलाग्ने (टोल फ्रि) टेलिफोन नम्बर समेत उपलब्ध गराइएको छ ।

विदेशी सहयोग

नेपाल २०२३ सालमा विश्व मौसम संगठनको सदस्य बने पनि मौसम पूर्वानुमान भने १ पुस २०२५ देखि शुरू भएको थियो । त्यतिबेला हालका जस्ता अत्याधुनिक प्रविधि थिएनन् । प्रविधि अभावमा आँखाले देखिने मौसमी अवस्थाको अवलोकन गरेर सीमित ज्ञानका आधारमा पूर्वानुमान गरिन्थ्यो ।

भारतले नेपालमा हवाई सेवा सुरु गर्न मौसम केन्द्र आवश्यकता महसुस गरी नेपालका विभिन्न ठाउँमा जल तथा मौसम केन्द्रहरू स्थापना गरेको थियो । ती केन्द्र मार्फत सूचना लिएर आफूले हवाई उडान गर्ने र नेपाललाई पनि हवाई उडानका लागि मौसमी सूचना उपलब्ध गराउँथ्यो ।

२०४४ सालमा जल तथा मौसम विज्ञान विभागको स्थापना भएपछि मौसमी विवरण लिन विश्व मौसम संगठनको सहयोगमा भूउपग्रह राखिएको थियो । त्यसले हरेक १२ घण्टामा वायुमण्डलमा रहेको मौसमी गतिविधिको चित्र पठाउँथ्यो । सुरुसुरुमा ती चित्र श्यामश्वेत र अस्पष्ट हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने गरेको वरिष्ठ मौसमविद मणिरत्न शाक्यको अनुभव छ ।

तर सन् २०१० मा फिनल्याण्डले शक्तिशाली कम्प्युटरको प्रयोग गरी गणितीय आधारमा मौसम पूर्वानुमानको सिस्टम जडान गरेर सहयोग गरेपछि नेपालका मौसमविदहरूलाई केही सहज भएको थियो ।

महाशाखालाई आधुनिक प्रविधियुक्त बनाउन चीन र जापानले पनि सहयोग गरेका छन् । ती देशहरूले स्याटेलाइट रिसिभर सिस्टम उपलब्ध गराएका छन् । जापानको ‘हिमावारी–८’ भूउपग्रहले बादल, त्यसको दिशा, तापक्रम, आद्रता र हावाको गतिसहितका तस्वीर १०–१० मिनेटमा उपलब्ध गराउँछ ।

त्यसैगरी चीनको सीएमए कास्ट स्याटेलाइट सिस्टमको फेनग्वीन भूउपग्रहले मौसमी अवस्था उपलब्ध गराउँछ ।

यसैगरी छिमेकी मुलुक भारतको स्याटेलाइट पनि हेर्ने गरिन्छ । भारतको ‘कल्पना स्याटेलाइट’ पहिले नेपालमा प्रयोग गर्ने गरिएकोमा हाल भारतको ‘इन स्याट’ स्याटेलाइटका तस्वीरमा नेपाललाई पहुँच दिइएको छ ।

नेपालका लागि भारतको स्याटेलाइट झनै राम्रो मानिएको छ । किनभने त्यसले दक्षिण एशियाको वेदर क्लाउडको फोटो सिधा माथिबाट खिच्छ । जापानले खिच्दा नेपाल छेउमा पर्छ । त्यसैले तुलनात्मक रूपमा भारतको स्याटेलाइट इमेजबाट प्राप्त जानकारी विश्वसनीय हुन्छ ।’

साथै ऋतुगत मौसमी अवस्थाको प्रक्षेपण गर्न दक्षिण एशियाली जलवायु फोरम (सास्कोफ) को समेत सहयोग हुने गरेको छ । यस्तै जल तथा मौसम विज्ञान विभागका कर्मचारीहरूको दक्षता अभिवृद्धिका तालिम लगायतमा छिमेकी र अन्य सहयोगी देशहरूले पनि सहयोग गर्दै आएका छन् ।

थप जिम्मेवारी

हिजोआज मौसममा चासो राख्नेहरू बढेका छन् । यही असोज ११ र १२ गते अत्यधिक वर्षाको बेला मौसम पूर्वानुमान महाशाखामा फोन गरेर जानकारी लिनेहरूको संख्या ह्वात्तै बढेको थियो । ‘त्यतिबेला एकै दिनमा ६०० बढी कल रिसिभ गर्नुपरेको थियो,’ महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले भनिन् ।

मौसमविद प्रतिभा मानन्धर

मौसम पूर्वानुमानको बहुआयामिक उपयोग पनि छ । त्यसैले हाल तीन दिनमात्र हुँदै आएको पूर्वानुमानलाई बढाउने तयारी जल तथा मौसम विज्ञान विभागले गरेको छ । सरकारको १५ औं र १६ औं योजनामा पनि ५ र ७ दिनसम्मको पूर्वानुमान गर्न मिल्ने बनाउने उल्लेख छ तर कार्यान्वयनमा भने आएको छैन ।

यद्यपि मौसम सम्बन्धी सेवालाई थप विश्वसनीय बनाउन र क्षेत्रगत रूपमा पूर्वानुमान सार्वजनिक गर्न प्रयास गरिरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्य बताउँछन् । त्यसका लागि जनशक्ति र प्रविधिमा लगानी आवश्यक रहेको बताउँदै कर्माचार्यले भने, ‘थप २०–२५ प्रतिशत लगानी बढाउने हो भने हामी अहिलेको भन्दा धेरै राम्रो सेवा दिन सक्छौं ।’

आधुनिक प्रविधिको उपयोगसँगै नेपालमा मौसम पूर्वानुमान ८० देखि ८५ प्रतिशतसम्म मिल्ने गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झा बताउँछन् । ‘नेपालको विशिष्ट भौगोलिक विशेषताका कारण नेपालमा वर्षा र मौसम पूर्वानुमान गर्न गाह्रो छ । हामीसँग अध्ययन, मोडेल पर्याप्त छैन । त्यसका बाबजुद यत्तिको पूर्वानुमान मिल्नु राम्रो हो,’ झा भन्छन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?