बागमती किनारमा ‘भष्मे डन’को पछि लागेर हिँड्ने । चिनियाँ स्टाइलको पातलो दाह्री र जुँगा पालेका । पुग-नपुग पाँच फिट उचाइका । झ्याप्ले कपाल, खबटे अनुहार ।
फिल्म ‘पशुपतिप्रसाद’का यी पात्रलाई कतिले चिने, कतिले चिनेनन् । तर, फिल्म ‘जात्रा’मा आइपुग्दा दर्शकको स्मृतिमा त्यही अनुहार दोहोरियो । उनीहरुको मुखबाट अनायसै फुत्कियो, ‘अरे, त्यो त भष्मेको साथी होइन ?’
ब्रुस कट कैलो कपाल भएका । गोलाकार कालो चस्मा पहिरिएका । ह्वीलचियरमा हिँड्ने । गुण्डाका बिचौलिया । अर्थात टोले गुन्डा । ‘जात्रा’मा उनको गेटअप यस्तो थियो ।
भिन्न-भिन्नै आवारणमा देखिएका त्यो अनुहार हो, सजन थापा मगर ।
अनलाइनखबरसँग उनी सहजै सम्पर्कमा आएनन् । कहिले सुटिङमा त, कहिले घरायसी काममा अलमलिए । अभिनेता विपिन कार्कीले भनेका थिए, ‘ती भाइ खासै बोल्दैनन् । बोल्न आउँदैन पनि । तर एकदमै माझिएको कलाकार हुन् । पेन्टिङ पनि राम्रो गर्छन् । मूर्ति पनि बनाउँछन् । अहिले फिल्मको सेट डिजाइन गर्ने जिम्मा उनैको त हो । त्यसैले भ्याइ-नभ्याइ छ ।’
यी ‘कमन म्यान’ अहिले सेलिब्रेटी भएका छन् । केही समयअघि घर पुग्दा पुराना यारहरु भेट्न आए । धाप मारे, ‘कलाकार भइस् यार’ भनेर मख्ख पारे ।
धरानबाट नाटक सिक्न काठमाडौं आएका सजन फिल्मी दुनियाँमा मिसिएका छन् । आवरण हेर्दा लाग्दैन, उनी कलाकार हुन् । करैले बोल्छन् । वाक्य नफुटेजस्तो । आफ्नो बारेमा बढाई-चढाई गर्दैनन् । फूर्ति लगाउँदैनन् । अति सामान्य, अति अन्र्तमुखी । कसरी छिरे, चमकधमकपूर्ण फिल्मी सेरोफेरोमा ?
सर्दु बगरमा क्यानभास रंगाउँदै
सजनका खस्रा हात क्यानभासमा यन्त्रवत् चल्छन् । उनी आफ्नो परिकल्पनालाई दुरुस्तै क्यानभासमा उतार्छन् । धरान, सर्दु खोलाको बगरमा उनले कुची र रंगहरु खेलाउन सिके । त्यसलाई निखार्न सिके ।
‘पशुपतिप्रसाद’मा भष्मे डनका साथी बनेका ती पात्र ‘जात्रा’मा आइपुग्दा गुण्डाका बिचौलिया बन्न पुगे । अर्थात टोले गुन्डा ।
चित्रकलाले उनको साथी-सर्कल बढाइदियो । चित्र कोर्नेहरुको संगतमा पुगे । त्यही हुलमुलमा उनी नाट्यकर्मीसँग मिसिए । नाटकको लम्बाई-चौडाई बुझेका थिएनन् । अभिनयको गहिरो ज्ञान थिएन । तैपनि उनीसँग वैंश काट्ने अरु बाहना थिएन । लागे, नाटकतिरै ।
धरानमा अनाम नाट्य समूह थियो । सडक नाटक देखाउँदै हिँड्ने । अरु त्यस्तै समूह थियो । सजन पनि सडक नाटकमा अभिनय गर्न थाले । मौका परे, आफै नाटक लेख्थे, खेल्थे । त्यो एउटा लहड थियो ।
काव्य वाटिकामा मूर्तिकला
साथीहरु लाखापाखा लागे । नाटक छुट्यो । उनी इटहरीको काव्य वाटिकामा पुगे, जहाँ उनले आफ्नो कलालाई थप निखार्ने मौका पाए ।
त्यो वास्तवमै साधना गर्ने थलो थियो । आफूमा भएको कलालाई माझ्ने थलो । उनका औंलाले रंग र कुची खेलाउनुका साथै विभिन्न आकृति बनाउन थाल्यो । मूर्तिकलामा उनका हातहरु अभ्यस्त भए । गुरु थिए, बिक्रम श्री । गुरु ध्यान/योग गर्थे । कला सिकाउँथे । सजनले उनीहरुकै सरसंगतमा दुई बर्ष बिताए ।
‘त्यहाँ रहँदा मैले मूर्तिहरु बनाउन सिकें, बनाएँ पनि’ सजन भन्छन्, ‘तर पछि त्यतातिर ध्यान गएन ।’
कस्तो बनाउनुहुन्छ मूर्ति ? कति कुशलतापूर्वक काम गर्न सक्नुहुन्छ ?
हाम्रो प्रश्न सुनेर सजन फिस्स हाँसे र, विस्तारै बोले, ‘सुरुमा त राम्रो लाग्थ्यो । तर अहिले त्यति सन्तुष्ट भइदैन ।’
हामी केही समयअघि अनामनगरको मण्डला नाटकघरमा पुग्दा माथिल्लो तलामा केही हस्त निर्मित आकृति यत्रतत्र देखिन्थे । निकै सिपालु हातहरुले बनाइका ती शिल्प कसले खिपेका होलान् भनेर सोधीखोजी गर्दा जवाफ आएको थियो, सजनले ।
नाटकमा सेट डिजाइन गर्न सजनकै खोजी हुँदोरहेछ । उनले यस्ता थुप्रै कलाकृति बनाएका रहेछन् । तर, खुलेर उनले त्यसको चर्चा गर्न चाहेनन् ।
५० रुपैयाँमा कार्टुन
काव्य वाटिकामा मूर्तिकला सिकेर धरान फर्किए । स्थानीय स्तरमा चलेको एक पत्रिकामा कार्टुन बनाइदिन आग्रह आयो, उनले बनाइदिए । कार्टुनको थिम आफै बनाउँथे । स्केच आफै कोर्थे । दिनदिनै सानो कुनामा कार्टुन बनाउँथे । त्यसबापत पचास रुपैयाँ प्राप्त हुन्थ्यो ।
कार्टुन बनाएर खाजा खर्च जुट्थ्यो । बाँकी समय नाटक खेल्थे । स्थानीय एनजिओले चेतनामूलक नाटक प्रदर्शन गथ्र्यो । त्यसैमा उनीहरु नाटक लेख्ने, निर्देशन गर्ने र खेल्ने गर्थे ।
‘मेरो साथीहरु मभन्दा राम्रो एक्टिङ गर्थे’ सजनले भने, ‘तर, उनीहरुमध्ये धेरैले नाटक छाडे । अरु नै काम गरिरहेका छन् ।’
त्यहीबेला गुरुकुलले विराटनगरमा अडिसन लियो, नाटकका लागि । उनले अडिसन दिए । खबर आयो, ‘तिमी अडिसनमा छनौट भयौं, अब काठमाडौं आउनू ।’
सजन काठमाडौं आए । गुरुकुलमा गास बासको व्यवस्था थियो । गुरुकुलकै होस्टलमा बसेर नाटक सिक्न थाले । गुरु थिए, उनै सुनिल पोखरेल । नाटकमा अभिनय नै भने सिकाइदैनथ्यो । विभिन्न खेलहरु खेलाइन्थ्यो । टेक्निकहरु सिकाइन्थ्यो । वास्तवमा त्यही नै अभिनयको कोर्स थियो ।
सुनिल पोखरेलको सामिप्यतामा रहेर उनले दुई बर्ष जति नाटक सिके । त्यसपछि गुरुकुलको भवन भत्काइयो । गुरुकुलको होस्टलमा आश्रय लिइरहेका सजनलगायतका सबै लाखापाखा लागे ।
सजन आफ्नै लयमा फर्किए । यसबीचमा उनले दुई पटक चित्रकला प्रदर्शनी गरिसकेका थिए । केही चित्र बिक्री पनि भइसकेको थियो । गुरुकुलबाट बाहिर आएपछि उनले चित्रहरु बेचेर खर्च जुटाए । यता मण्डला नाटकघर सुरु भएको थियो । त्यहाँ सेट डिजाइन गर्ने, नाटक खेल्ने काममा तल्लिन भए ।
कोठा थियो, बानेश्वर नजिक आलोकनगरमा । कोठा भाडा पाँच हजार । दुई जना बस्थे । एक थिए, विपिन कार्की ।
भष्मे, रुम पार्टनर
भष्मे डन अर्थात विपिन कार्कीको अहिले खास ‘नेम र फेम’ छ । ‘भष्मे डन’को चरित्रलाई टेकेर उनी हिरोमा रुपान्तरण भइसकेका छन् । फिल्मी उद्योगमा उनको क्रेज लोभलाग्दो छ । एउटै फिल्मबाट लाखौं पारिश्रमिक बुझ्छन् ।
उनै विपिनसँग रुम शेयर गरेर बसेका थिए, सजन । काठमाडौं, तीनकुनेमा । सामान्य कोठा थियो । दुई भाइ बस्थे । खाना आफै पकाउथे । लुगाफाटो आफै धुन्थे । कोठा सफाचट बनाउथे ।
काठमाडौंको डेरा जीवन सहज थिएन । यसै-त्यसै गुजारा चलाइरहेका थिए ।
‘पशुपतिप्रसाद’मा विपिन भष्मे डन बन्ने भए । भष्मेको सहयोगीमा सजनलाई पनि तानियो । करिब एक साता बागमती किनारमा फिल्म सुटिङ भयो । डाइलग खासै थिएन । केवल भष्मेको पछि लागेर हिँड्नुपर्ने ।
‘पशुपतिप्रसाद’मा भष्मे डनका साथी बनेका ती पात्र ‘जात्रा’मा आइपुग्दा गुण्डाका बिचौलिया बन्न पुगे । अर्थात टोले गुन्डा । मंगोल वर्णका खदिला पात्र वास्तवमै ‘फन्टुस गुन्डा’ देखिदो हो । तर, होइन रहेछ । अनलाइखबरको कार्यालयमा आउँदा उनी निकै सोझा र भलाद्मी देखिए । बोल्न पनि संकोच मान्ने । लजालु ।
फिल्म खेल्थे, नाटक खेल्थे, पेन्टिङ बेच्थे । त्यसैबाट काठमाडौंको डेरा जीवन चल्थ्यो । त्यसबाट पनि केही रकम बचाएर घर पठाउँथे, दाइका लागि । बुवाआमा दुबै वितेपछि उनी दाइकै आश्रयमा हुर्किएका थिए ।
सेट डिजाइनदेखि अभिनयसम्म
विपिनले भनेजस्तै ‘जे काम गर्न पनि सिपालु’ रहेछन्, सजन । उनीहरु एकसाथ बसे । एउटै भान्साको खाना खाए । त्यसरी रहँदा-बस्दा थाहा भयो, ‘सजनमा खास कला छ । शिल्प छ ।’ तर, उनी आफ्नो कला देखाउन नखोज्ने ।
विपिनले नै उनलाई डोर्याएर फिल्मको सेटहरुमा पुर्याए । सानोतिनो भूमिका दिए । भूमिका त सानोतिनो नै हुन्थ्यो, तर त्यस्तो भूमिकामा पनि उनको खास मिहिनत देखिन्थ्यो । त्यही कारण उनी एकपछि अर्को फिल्ममा तानिए । ‘पशुपतिप्रसाद’ हुँदै ‘जात्रा,’ ‘नाका’, ‘दोख’ -प्रदर्शन हुन बाँकी) सम्म उनी एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गएका छन् । र, यससँगै उनलाई व्यस्त बनाएको सेट डिजाइनले ।
केही समयअघि उनी एक फिल्मको सेट डिजाइनमा व्यस्त थिए । त्यसलगत्तै मगर भाषाको फिल्मको सेट डिजाइन गर्नुपर्ने हतारोमा थिए । यसअघि ‘नाका’, ‘लालपूर्जा’जस्ता फिल्ममा उनले सेट डिजाइन गरेका रहेछन् ।
फिल्म ‘लालपूर्जा’मा बनाइएको रक्सी भट्टी उनैले बनाएका रहेछन् । भन्दै थिए, ‘अहिले एक्टिङ गर्ने भन्दा धेरै सेट डिजाइन गर्ने काममा विजी छु ।’
आफ्नो एक्टिङ हेर्न लाज लाग्छ
हामीले सोध्यौं, ‘आफ्नो एक्टिङ हेर्दा कस्तो लाग्छ ?’
उनी हाँसे । र, यत्ति भने, ‘लाज लाग्छ नि ।’
पर्दामा आफैलाई देख्दा कुरीकुरी लाग्छ । रातोपिरो हुन्छन् । उनी लुसुक्कै हेर्छन् । लुसुक्कै बाहिरिन्छन् । यस्तो लजालु व्यक्तिले त्यतिका भीडमा उभिएर, क्यामेराको अगाडि उभिएर कसरी अभिनय गर्दा हुन् ?
‘एक्टिङ गर्न चाहि गाह्रो लाग्दैन’ उनले सुनाए, ‘बरु फोटो खिच्दा लाज लाग्छ ।’
साँच्चै, अनलाइनखबरकर्मी चन्द्र आलेले क्यामेराको लेन्स सोझ्याइरहँदा सजन भने अप्ठ्यारो मान्दै दोहोर्याइरहेका थिए, ‘अब त पुग्छ होला…पुग्दैन ?’
प्रतिक्रिया 4