हिन्दूहरूले मन्दिर गएर होस् वा अन्य पूजाआजा तथा पर्वमा होस्, निधारमा टीका लगाउने गर्छन् । चन्दन, केसरी, अवीर आदिको टीका लगाउनुका पछाडि थुप्रै कारण दिने गरिए पनि मुख्य कुरा यो परम्पराको निर्वाह हो ।
सनातन धर्मको पूजा पद्धतिमा टीकाको विशेष महत्व छ । टीका नलगाई कुनै पूजा सफल भएको मानिँदैन पनि । विशेष गरी ब्राह्मणहरूले टीका लगाउनु अनिवार्य मानिन्छ । टीका नलगाएको ब्राह्मणको मुख देख्नु पनि अशुभ मानिएको छ ।
शास्त्रमा टीका लगाउने नियम तथा मन्त्र बताइएको छ । टीका त लगाइन्छ तर कुन औंलाले टीका लगाउनुपर्छ भन्ने कुरा टीका लगाउने जति सबैलाई थाहा नहुन सक्छ ।
टीका दाहिने हातको औंलाले मात्र लगाइन्छ । कान्छी औंलाले टीका लगाइँदैन ।
बूढी औंलाः बूढी औंलालाई संस्कृतमा अंगुष्ठा भनिन्छ । बूढी औंलाले अतिथिलाई टीका लगाइन्छ । आफूबाहेक अरू मानिसलाई टीका लगाउन पनि यही औंलाको प्रयोग गरिन्छ ।
चोरी औंलाः चोरी औंलालाई संस्कृतमा तर्जनी भनिन्छ । यो औंलाले पितृगण अर्थात् पिण्डपूजा गरिन्छ ।
माझी औंलाः माझी औंलालाई संस्कृतमा मध्यमा भनिन्छ । यो औंलाले स्वयंलाई टीका लगाइन्छ ।
साहिँली औंलाः साहिँली औंलालाई संस्कृतमा अनामिका भनिन्छ । भगवान् तथा देवतालाई टीका लगाउन वा पूजा गर्न यो औंलाको प्रयोग गरिन्छ ।
प्रतिक्रिया 4