
भाषा, साहित्य, संस्कृतिक एवं प्राकृतिक हिसाबले निकै धनी भएर पनी गरीबीको उपमा पाएको कर्णाली प्रदेश पर्यटकीय हिसाबले निकै आशलाग्दो ठाउँ हो ।
कर्णाली प्रदेश सरकारको पहिलो कार्यकम नै कर्णाली–रारा पर्यटन बर्ष ०७५ मनाउने रहेको छ । यसको उदघाटन प्रधानमन्त्री केपी शर्माली ओलीले रारा तालबाट गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन पनि त्यहीँबाट गर्ने कार्यक्रम छ ।
पर्यटकीय हिसाबले खानीको रुपमा छ कर्णली प्रदेश । तर यसको उचित सदुपयोग हुन नसक्दा जति लाभ प्रदेश सरकार, राज्य र स्थानीयले लिनुपर्ने हो, त्यति लाभ लिन सकिरहेको अवस्था छैन ।
नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो सिँजा, रमणीय ताल रारा, फोकसुण्डो ताल, उच्चस्थानमा फल्ने मार्सी धानका साथै विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती द्यो पनि यही प्रदेशमा पर्छन् ।

नेपालको सबैभन्दा उच्चस्थानमा रहेको सदरमुकाम हुम्लाको सिमकोट लगायतको विविध संगमस्थल हो कर्णाली प्रदेश ।
यस प्रदेशमा पर्ने दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो । अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ । दैलेखमा श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्च तीर्थस्थल पनि दैलेखमै छन् । श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको अर्को जीवन्त परिचय हो ।

त्यसैगरी सुर्खेत कणार्ली प्रदेशको सदरमुकाम हो । सुर्खेतको काँक्रेबिहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । सुर्खेतमा गढी, देउती बज्यै, बुलबुले ताल र घण्टाघर लगायतका पर्यटकीय स्थल छन् ।
त्यस्तै जाजरकोट पनि प्राकृतिक स्रोत–साधनले धनी जिल्ला हो । प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट । ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ ।
भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यावसायिक रुप लिन अझै लामो समय लिनेछ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइ परेको राराताल मुगु जिल्लामा पर्छ । ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १ सय ६७ मिटर गहिराई रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ । हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ ।
समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिनछिनमा पानीको रङ परिवर्तन हुनु हो । यहाँ नेपालमा कतै नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ ।

हिन्दूहरुको तीर्थस्थलका रुपमा प्रख्यात मानसरोबर जाने प्रमुख स्थान हो हुम्ला । सबैभन्दा उच्च स्थानमा रहेको सदरमुकामका रुपले प्रख्यात सिमीकोटको उचाइ २ हजार ९ सय मिटरमा उचाइमा रहेको छ । लिमी भ्यालीमा रहेको हल्जी गुम्बा निकै महत्व रहेको छ ।
त्यसैगरी संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला हो, जुम्ला । यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो । जुम्लामा रहेको चन्दनान मन्दिर पश्चिम नेपालकै प्रख्यात मन्दिर हो ।

त्यस्तै देशको सबैभन्दा गहिरो डोल्पाको फोक्सुण्डो ताल यहीँ पर्छ । विश्वको सबैभन्दा उच्च स्थानमा रहको मावनवस्तीका रुपले प्रख्यात द्यो पनी डोल्पा जिल्लाममै पर्दछ भने फोक्सुण्डो तालबाट खसेको झरना नै नेपालको सबैभन्दा ठूलो झरना हो ।

कालीकोट जिल्लाको मुग्राहा गाविसको कालीकागाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु) बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो । यहाँका देवल तथा मष्टका थानहरूका धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण छन् ।
त्यसैगरी रुकुमको स्यार्पुताल, कमल ताल पर्यटकीय हिसाबले निकै प्रख्यात रहेका छन् । त्यस्तै साईकुमारी भगवती र कालिका मन्दिर, बराह मन्दिर रुकुमका चर्चित धार्मिकस्थलहरू हुन् । रुकुमको सिस्ने हिमाल पनि एक प्रमुख आकर्षण हो ।
रुकुम मगर बाहुल्यको जिल्ला हो । त्यसैले मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ । रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानिय पर्यटकीयस्थल हुन् । यहाँ बहुमूल्य जडिबुटी यार्चागुम्बा पाइन्छ । सिस्ने हिमाल, ढोरपाटन आरक्षण क्षेत्रको ६० प्रतिशत भाग रुकुममा पर्छ ।
त्यसैगरी सल्यान नेपालकै उत्कृष्ट खुकुरी निमार्णका रुपले प्रख्यात रहेको छ । कुपुण्डेदह यहाँको धार्मिकस्थलको रुपले प्रसिद्ध रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् ।
पर्यटकीय हिसाबले हामी पछाडि नै छौं
धनबहादुर बूढा, पर्यटन राज्यमन्त्री
कर्णाली प्रदेश प्राकृतिक तथा सांस्कृतिक रुपले निकै धनी प्रदेश हो । धनी भएर पनि यो क्षेत्रबाट राज्य तथा स्थानीयले फाइदा लिन सकेका छैनन् । यो प्रदेशमा देशकै तथा विश्वकै नमूना स्थानहरु छन् ।
यो क्षेत्रको प्रमुख आय श्रोत भनेको पर्यटन र जडीबुटी नै हो । यही कारणले अहिले कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन बर्ष ०७५ घोषणा गरेको छ ।
कर्णाली प्रदेशको अहिलेसम्म पनि समग्र पर्यटकीय योजना बन्न सकेको छैन । यो बाट नै के थाहा हुन्छ भने हामी पर्यटकीय हिसाबले पछाडि छौं ।
कर्णाली प्रदेशको समग्र पर्यटनको अवस्था र भविष्यको योजना बनाउन जरुरी रहेको छ । त्यो क्षेत्रको जनप्रतिनिधि तथा राज्यको राज्यमन्त्रीको हैसियले मैले केही अनौपचारिक रुपमा छलफल अगाडि बढाएको छु । सायद चाँडै नै यसको केही नतिजा आउला । मैले देखेको कर्णाली प्रदेशमा बाह्य पर्यटकहरुले पदयात्रामा रुचि देखाएको तथा जाने गरेको हुम्ला र डोल्पा हो । यी दुबै जिल्लामा सडक सञ्जालले छुन सकेको छैन ।
यहाँ पुग्नका लागि एकमात्र विकल्प भनेको हवाइ हो । अहिले निजी हवाइ कम्पनीले नियमितरुपमा हवाइ सेवा दिइरहेका छन् । अझ यो सेवालाई थप विस्तार गर्न सकियो भने पर्यटकले मात्र नभएर स्थानीयले पनि निकै राहत मिल्ने छ ।
यसका लागि पनि मैले हवाइ कम्पनी तथा स्थानीय सरोकार राख्ने निकायसँग कसरी छलफल गरिरहेको छु ।
प्रतिक्रिया 4