कथा सुरु गर्नुअघि त्यहाँको माहौल बताऔं, जहाँ हामी उभिएका छौं ।
जसै सानो ढोकाबाट भित्र प्रवेश गरिन्छ, दायाँ-बायाँ केही थान टेबुल कुर्सी देखिन्छ । हरेक टेबुल कुर्सी तन्नेरीहरुले ‘रिजर्भ’ गरेका छन् । उनीहरुको अगाडि छोयला, कचिला, फ्राई आलु, भटमास, बदाम, चिउराले भरिएको थाली छ । छ्याङ (जाँड)को जग छ ।
विशेष चाहिँ, हरेकको भागमा पोलेको अन्डा छ । नुन, खुर्सानी र टिमुरको अचारसँग पोलेको अन्डा खानु कम अच्छा हुन्छ !
यस्तै तिख्खर स्वाद लिनेहरु टेबुल-कुर्सीमा मात्र अटाएका छैनन् । उनीहरु पछाडिको कान्लामा उक्लिएका छन् । गुन्द्री ओछ्याएर बस्नेहरुका कारण फराकिला दुई कान्ला ‘हाउसफुल’ भइसकेको छ । अब गुन्द्री बोकेर (सेल्फ सर्भिस) कान्लामा आफ्नो ठाउँ खोज्नेहरुले केही समय रमिते बन्नुपर्नेछ । वा, भर्खर पालुवा फेरेर सुस्त हावामा लहराइरहेका नागार्जुनका रुख-बुट्यानहरु हेर्दै समय कटाउनुपर्नेछ ।
बसन्ती हावाको स्पर्शमा आनन्दाभूत गर्नुको पनि आफ्नै स्वाद छ । तर, त्यहीँबाट आउने छोयला, भुटन, छ्याङको मिश्रति बास्नाले तपाईंलाई प्राकृतिक सौन्दर्यमा एकोहोरिन दिनेछैन ।
तल ओर्लौं, जहाँ भर्खरै लोकल रक्सी उतारिएको चुल्होमा भुङ्ग्रोको अवशेष बाँकी छ । त्यही रापिलो खरानीमा जतनसाथ अन्डा पोलिरहेका पाको हात देखिन्छ । यो त्यही खस्रो हात हो, जसले ‘पोलेको अन्डा’लाई ब्रान्डिङ गरे ।
हो त, पोलेको अन्डा ।
बालाजु बाइपासबाट नुवाकोट लाग्ने मूल बाटोलाई दायाँ पारेर ओह्रालो झरेपछि जो कोहीले भनिदिन सक्छ, पोलेको अन्डा कहाँ पाइन्छ भनेर सोध्यो भने ।
पोलेको अन्डाको फन्डा
अन्डा यसै मिठो, त्यसै मिठो । उसिनेर खाए भो । अमलेट बनाए भो ।
तर, नानी नगरकोटीले त्यसो गरिनन् । चुल्होमा बाँकी रहेको रापिलो खरानीमा राखिन् । अन्डा पाक्यो । कति स्वादिलो !
त्यसबेलासम्म नानी नगरकोटीले कहाँ सोच्न भ्याइन् र ? आफ्ना खस्रा हातले पोलेको अन्डा यति रुचिकर होला । किनभने उनले आफ्नै लालाबालाको पेट भर्न अन्डा पोलेर ख्वाइरहेकी थिइन् ।
एक कान, दुई कान ‘पोलेको अन्डा’को चर्चा भयो । अन्डा किनेर खान-आउनेहरु बढेको बढ्यै ।
अब साध्ये भो त !
अन्डा त्यही थियो । उनले उसिन्नुपर्ने ठाउँमा पोलिदिइन् । नयाँ स्वाद खोजिरहेका शहरियाहरुलाई के चाहियो ? बस् पोलेको अन्डा खान ओइरिन थाले ।
पोलेको अन्डाघर अर्थात पारिवारिक उद्यम
नानी नगरकोटीले पसल थाप्न असनको गल्ली वा न्युरोड छिर्नुपरेन । आफ्नै घर आँगनमा पसल थापिन् । बस्ने व्यवस्था गरिन् । भाँडाबर्तन जोहो गरिन् । अन्डा पोलेर बेच्न थालिन् ।
उनी एक जनाको हातले मात्र अन्डा पोलेर दिन कहाँ भ्याउनु ?
छोराहरुलाई काम लगाइन् । छोराहरुले बिहे गरे । बुहारीहरुलाई पनि त्यही काममा लगाइन् । छोरीहरु त यसैपनि उनको दाहिना हात थिए ।
त्यही बिन्दुबाट सुरु भएको उनको कर्मले अहिले ‘फेमेली बिजनेस’को आकार लिएको छ ।
चार छोरा, बुहारी, छोरी सबैलाई अहिले भ्याइ-नभ्याइ छ ।
पोलेको अन्डा गजब बिक्न थाल्यो । पोलेको अन्डासँगै भुटन, छोयला, कचिला, भटमास बिक्री गर्न थालिन् । उनको हातको खान्कीमा पल्किएका ग्राहकहरुलाई घरको कोठा साँघुरो भयो । सिकुवामा कुर्सी राखिदिए । त्यहाँ पनि ग्राहक भरिए । घरमाथिको जग्गा भाडामा लिए । खुला जग्गामा बस्नका लागि गुन्द्रीको व्यवस्था गरिदिए ।
यत्तिका ग्राहकको अर्डर पूरा गर्न सजिलो भएन । ग्राहक आफैले गुन्द्री बोक्ने, खानेकुरा लाने व्यवस्था (सेल्फ सर्भिस) गरियो ।
परिवारका सदस्य चाहिँ कोही बारा बनाउन खटिए । कोही छोयला-कचेला बनाउन खटिए । कोही जाँड पानीको व्यवस्थामा खटिए । कोही हिसाब-किताब राख्न खटिए । स्वतस्फूर्त गजबको व्यवापार-प्रणाली बन्यो । र, यसको मियो बनिन् नानी नगरकोटी ।
दिनभर जे जति कारोबार हुन्छ, त्यसको हिसाब-किताब नानी नगरकोटीको हातमा हुने । उनैले अह्राएर, खटाएर ‘पोलेको अन्डा’को कारोबार आकासिएको छ ।
र, आज नानीको जीवन सुकिलो-मुकिलो भएको छ ।
कथाभित्रको कथा
हिजोको दिन आजजस्तो थिएन ।
नानी नगरकोटीको जीवन निकै दुःखदायी थियो । कष्टकर थियो । नहोस् पनि किन ? एउटी विधवालाई त्यसैपनि बाँच्न गाह्रो । त्यो पनि पुरानो जुगमा । त्यो पनि साना लालाबालासँग ।
पतिको मृत्युपछि परिवारको पेट पाल्ने जिम्मा उनको थाप्लोमा आयो । जायजेथाको नाममा एउटा घरमात्र । खेतीपाती गर्ने जग्गाजमिन थिएन । उद्यम गर्नलाई लगानी थिएन । अरूको घर बनाउने ज्यामी काम गर्नुपर्ने वाध्यता थियो ।
उनी इँटा बोक्न थालिन् । गाह्रो लगाउने काममा खटिइन् । लोग्ने मान्छेजस्तै ।
काम नगरी माम जुट्दैनथ्यो । जस्तो पर्छ, त्यस्तै काम गर्नैपर्थ्यो । सजिलो थिएन जीवन । दिनभर पसिना चुहाउँथिन् । साँझ बिहान छोराछोरीको लागि खानपिनको जोहो गर्थिन् । खानेकुरा हुन्थ्यो, पोलेको आलु ।
भुङ्ग्रोमा आलु पोल्थिन् र छोराछोरीको भोक शान्त गर्थिन् ।
घर अघिल्तिरको पुरानो गुह्येश्वरी मन्दिरमा आउने रैथानेहरु पोलेको आलुमा पल्किए । उनीहरु भन्थे, ‘हामीलाई पनि दिनुहोस् ।’ सित्तैमा होइन, पैसामा । अब पोलेको आलु बेचेर थैलो भरिन थाल्यो । कमाइ त यसरी पनि हुँदो रहेछ !
बेलामौकामा आधा धार्नी आलु पोल्दै बेच्न थालिन् । एक जनाको भागमा ३ र ४ दाना पोलेर दिन्थे । त्यसको पाँच रुपैयाँ जति आउँथ्यो । आलुसँगै खाजापानी (लोकल रक्सी, जाँड) पनि बेच्न थालिन् ।
आलु पोल्दापोल्दै नानी नगरकोटीलाई अन्डा पोल्ने ‘आइडिया’ फुर्यो ।
घरमा कुखुरा पालेकी थिइन् । एकदिन परिवारका लागि भनेर आगोको भुंग्रोमा अन्डा पोलिन् । पोलेको अन्डा काइदा भयो ।
‘हामीले खाँदा मिठो भयो, अरुलाई पनि चखायौं,’ नानी नगरकोटीले बताइन्, ‘जो-जसले खाए, उनीहरुले अरुलाई सुनाएछन् ।’
अब नानी नगरकोटी पोलेको अन्डा बेच्न थालिन् । गोटाको तीन रुपैयाँ । जमाना सस्तो थियो । घरकै लोकल कुखुराले पारेको अन्डा पोलेर बेच्दा-बेच्दै उनलाई फुर्सद मिल्न छाड्यो । ज्यामी काम छाडिन् ।
न अरुको खप्की खेप्नुपर्ने, न इँटा-सिमेन्टको काम गर्नुपर्ने । सुविस्ता भो, अन्डा पोल्दै बेच्नु । उनले अरुतिर काम खोज्नुपरेन ।
पोलेको अन्डा खानेहरुको संख्या बढ्दै गएपछि घर साँघुरो भयो । काँचो इँटाको टेको बनाएर काठको फलेक बिच्छ्याएका थिए । भाँडाबर्तन पुग्दो थिएन । एकातिर चुल्हो थियो, अर्कातिर ग्राहक बस्थे । पछि, सिकुवामा छानो हालेर बस्ने ठाउँ बनाए । अहिले त्यो पनि साँघुरो भयो । घरमाथि चौर भाडामा लिइन् ।
त्यही चौरमा उँभिएर हामी बस्ने ठाउँ खोजिरहेका छौं । तर, आगन्तुकको भिडले त्यही चौर पनि साँघुरो हुँदैछ ।
प्रतिक्रिया 4