२८ वैशाख, काठमाडौं । ग्राहकका घरमा जडान गर्ने इनर्जी मिटरको अभाव भएको छ । मिटर अभाव हुँदा अहिले ग्राहकलाई आवश्यक परेको समयमा वितरण गर्न नसकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भारतबाट ल्याउन लागेको मिटर आइनपुगेका कारण यसको अभाव हुन गएको प्राधिकरणको भनाइ छ ।
मूलतः प्राधिकरणले समयमै मिटर आयात नगरेका कारण पनि यसको अभाव हुन गएको हो ।
प्राधिकरणले आफ्नो साखाहरूमा रहेको मौज्दातबाट ग्राहकलाई मिटर उपलब्ध गराएको छ । तर, सबै साखाहरूमा यस्तो मौज्दात छैन । तर, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख हरराज न्यौपाने भने सबै साखामा मिटर अभाव नभएको न्यौपाने दावी गर्छन् ।
आगामी साता/१० दिनमै भारतबाट मिटर आइपुग्ने न्यौपानले बताए ।
‘भारतबाट मिटर बोकेको गाडी हिंडिसकेको छ, यो अभाव अब ८ देखि १० दिनका लागि मात्रै हो,’ न्यौपानेले भने ।
प्राधिकरणले भारतीय कम्पनी एवनबाट मिटर खरिद गर्न लागेको छ । सुरुमा ३० हजार थान मिटर काठमाडौं आउनेछ ।
प्राधिकरण स्रोतका अनुसार इनर्जी मिटर अभाव भएपछि प्राधिकरणकै कर्मचारीहरू अहिले कमाउ धन्दामा लागेका छन् । सहजै मिटर उपलब्ध नगराउने र ग्राहकसँग बार्गेनिङ गरेर मिटर उपलब्ध गराउने गरेका दावी स्रोतको छ । आफ्ना नजिकका मानिसहरू र पैसा उपलब्ध गराउनेलाई मात्रै मिटर उपलब्ध गराउने गरिएको स्रोत बताउँछ ।
प्रतिक्रिया 4