+
+

चुँदीमाथि डुम्रेको फोहरः बजार बढ्यो, सौन्दर्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २ गते १०:३५


२ जेठ, तनहुँ । पर्यटकीय केन्द्र तनहुँ बन्दीपुरको काखमा बगेको चुँदीखोला माथि डुम्रेका स्थानीय र व्यापारीले बजार क्षेत्रको फोहर मिल्काउन थालेको वर्षौं भयो तर, यो अझै रोकिएको छैन । तनहुँको उत्तरी क्षेत्र, लमजुङ, मनाङ र गोरखाको पश्चिमी क्षेत्र जाने मुल सडकखण्डको मुखमा नै फोहर फाल्ने गरेको पाइन्छ ।

पुलबाट फोहर फाल्न सजिलो हुने भएकोले यहीबाट फोहर फाल्दा दुर्गन्धले हिँड्न सक्ने अवस्था छैन । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूमा समेत यसले नकारात्मक छाप पार्ने गरेको छ । फोहर फालेर मात्रै नपुगेका यहाँका स्थानीयले चुँदी अतिक्रमण गरेर घर पनि बनाएका छन् र घरको ढल पनि मिसाएका छन् । सोही कारण चुँदी खोला दिनप्रतिदिन प्रदुषित बन्दै गएको छ ।

वर्षातको समयमा खोला केही ठूलो हुने भएपनि हिउँदको समयमा भने पानी एकदमै कम हुने गर्दछ । बजार क्षेत्रमा थुप्रिने फोहरलाई समेत खोलामा फाल्ने गर्दा खोला र वरपरको सौन्दर्यमा समेत ह्रास आएको छ । त्यसको मार चुँदीमाथि परेको छ । नुहाउने, कपडा धुने जस्ता काम पनि खोलामा नै हुँदै आएको छ । जसका कारण पानी थप प्रदुषित बनेको छ ।

डुम्रे बजार क्षेत्र बढ्दै जाँदा चुँदीको सौन्दर्यता भने घट्दै गएको छ । डुम्रे बजारको मात्रै नभई भानु नगरपालिका वडा नम्बर १ को साजबोटेको फोहरसमेत चुँदीमाथि नै फाल्ने गरिएको छ ।

बजारको फोहर खोलामा नफालिएको दावी

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बजारको फोहर खोलामा नफालिएको दावी गरे ।

अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष थापाले बजारको फोहरलाई दैनिक दुईवटा ट्याक्टरमा राखेर अन्यत्रै फाल्ने गरिएको बताए ।

अब छिट्टै कुखुरे भन्ने स्थानमा बजार क्षेत्रको फोहर फाल्ने व्यवस्था मिलाउन लागिएको जानकारी अध्यक्ष थापाले दिए । उनले यसो दावी गरिरहेपनि बजारको फोहर खोलामा फाल्ने क्रम अझै रोकिएको छैन ।

खोला नै अतिक्रमणमा

तनहुँको डुम्रे बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीव्र बनेको छ । डुम्रे बजार नजिकबाट बगेको चुँदी खोलाको दुवैतर्फ अतिक्रमण गरी घर बनेका छन् । खोला किनाराबाट झण्डै १० वटा पक्की घर निर्माण गरेर होटल सञ्चालन गरिएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले अतिक्रमण गरी बनाइएका घर भत्काउन नसकिएको स्वीकार गरे । ‘राजनीतिक पार्टीको आड लिएर आउँछन्, अहिले पनि बन्दीपुर एफएमले सार्वजनिक जग्गामा नै भवन बनाइरहेको छ,’ अध्यक्ष थापाले भने, ‘म आफैं शेयर सदस्य रहेको एफएमले सार्वजनिक जग्गा नमिच्न गरेको पत्राचार मानेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?