+
+

कुरिलो खेतीले बदलियो विजयको जीवन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २० गते १४:५२

 २०

असार, विराटनगर । सामान्यतय कुरिलो खेती पहाडी क्षेत्रमा हुने बहुवर्षीय बाली हो । तर, विराटनगरका विजय शर्माले विराटनगरमा नै व्यवसायिक कुरिलो खेती गरी मनग्य आम्दानी लिइरहेका छन । उनी चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् ।

बिजयले १० कठ्ठा  लिजमा लिएको जमिनबाट वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । विराटनगर-५ का बिजयले कुरिलो खेती गर्न थालेपछि उनलाई हिजो जस्तै बिहान बेलुका के खाउ भन्ने समस्या पनि हटेको छ । कुरिलो खेतीको आम्दानीबाट उनले यही वर्ष तीन कोठा पक्की घरसमेत बनाएका छन् ।

चार वर्षअघि विराटनगर घर भइ अमेरिका बस्दै आएका गोबिन्द शर्माको जग्गा भाडामा लिएर उनले व्यवसायिक कुरिलो खेती शुरु गरेका थिए ।

पहिलाको दिन सम्झदा अहिलेपनि मेरो चैन हराउँछ, २७ वर्षीय शर्माले भने, ‘एउटा लुगा नच्यातेसम्म अर्को लुगा किन्ने हैसियत थिएन तर अहिले त बारीमा रहेको कुरिलो बिक्रीबाटै वार्षिक ८ लाख रुपैयाँ आम्दानी लिन सफल भएको छु ‘ सुखद अनुभूति सुनाउँदै उनले भने ।

उनले पैसा अभावका कारण नै आफूले आइकमसम्म अध्ययान पूरा गरी थप अध्ययान गर्न नसकेको बताए ।

पठाइ छाडैपछि केही समय उनले पायनिर कम्पनीमा मासिक १२ हजार तलबमा काम गरेका थिए ।

०७१ सालमा दाईहरुले स्थानीयको खेत भाडामा लिएर परम्परागत तरिकाले खेती सुरु गरेका थिए । त्यो सँगै उनीपनि कुरिलो खेतीतर्फ मोडिएका थिए ।

जिल्ला कृषि विकास कार्यालय मोरङको छेउमा नै रहेको एग्रोभेट पसलमा गएको बखत कृषि विकास कार्यालयका तत्कालीन बागबानी विकास अधिकृत काशीकुमार चौधरीको सल्लाहामा कुरिलोको खेतीको शुरुआत उनले गरेका थिए ।

जीवन विकास समाजबाट १ लाख ऋण लिएर ५२ हजारमा २५० ग्राम कुरिलोको बीउ काठमाडौंबाट खरिद गरे र बेर्ना उमारेर कुरिलो खेती उनले शुरु गरेको सुनाए ।

०७३ फागुनबाट उत्पादन दिन थालेको कुरिलो विराटनगरमा बिक्री नभएपछि उनी हतोसाहितसमेत भएको विगतस्मरण गर्दै शर्माले भने, ‘साइकलमा पछाडि राखेर विराटनगरभरी सित्तैमा पनि मानिसहरुलाई खान दिएर प्रचार गरेको थिए, अहिले बजारको कुनै समस्या छैन ।धरानका गोर्खाडिपार्टमेण्टका म्यानेजरले चितवनका ब्यापारीसँग सम्पर्क गराइदिनु भएपछि चैत महिनाबाट एक दिन छोडेर अर्को दिन २५ देखि ३५ किलोसम्म पठाउन सुरु गरेको शर्माले बताए ।

‘विराटनगरमा प्रति किलो २० रुपैयाँ भाडा तिरेर बसमा लोड गरेपछि चितवनमा ओराल्ने सर्तमाप्रति किलो ३ सयको दरले अहिले पनि कुरिलो पठाइरहेका छौं,’ उनले भने, ‘यस वर्ष विराटनगरमा नै भाटभटेनी सुपरमार्केट खुलेपछि अहिलेप्रति किलो २४० को दरमा एकदिन छोडेर अर्को दिन १५ किलो बिक्री सुरु गरेका छौं ।’

उनले यस वर्ष थप १० कठ्ठामा कुरिलो खेती बिस्तार गर्न योजनासहित बेर्ना तयार पारेका बताए । कुरिलो खेतीका लागि बुवा चन्देस्वरसहित माइला दाइ, भाउजुले सघाउँदै आएका छन ।

उनले परिवारको सहयोग लिदै मासिक ७ हजार ५ सय तलब दिएर स्थानीय दुईजना महिलालाई कुरिलो खेतीको स्याहार गर्न काममा लगाएका छन् ।

स्वदेशमा नै मेहनत गर्न सके विदेशको जान नपर्ने बताउँदै शर्माले कृषि कर्ममा रमाउन सके पैसा र आनन्द दुवै मिल्ने उनले सुझाव दिए ।

कुरिलो खेती गर्दै आएका शर्मा अविवाहित रहेकाले आफू नाम चलेको व्यवसायिक किसान भएपछि विवाह गर्ने योजना रहेको समेत सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?