४ साउन, काठमाडौं । पछल्लिो समय नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेपछि नेपाली रुपैयाँ कमजोर बन्न पुगेको हो ।
राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ ।
यसअघि बिहीबार अमेरिकी एक डलरको खरिददर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरिएको थियो भने बिक्रीदर १ सय १० रुपैयाँ १० पैसा रहेको थियो ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् ।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ । तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्ने विज्ञहरु बताउँछन् ।
तर डलरको भाउ बढ्दा केही फाइदा पनि हुने गर्दछ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानीमा वृद्धि हुन्छ ।
अर्कोतर्फ वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ ।
प्रतिक्रिया 4