+

फुटबलरमाथिको हेपाहा व्यवहार : सोच कि आक्रोश ?

२०७५ साउन  ८ गते १७:२१ २०७५ साउन ८ गते १७:२१
फुटबलरमाथिको हेपाहा व्यवहार : सोच कि आक्रोश ?


८ साउन काठमाडौं । ‘जब सबै कुराहरु ठीक हुन्छन्, तब लुकाकु बेल्जियन स्ट्राइकर हुन्छ, जब खेलमा केही बिग्रन थाल्छ, तब लुकाकु कंगोबाट आएको स्ट्राइकर हुन्छ’ – बेल्जियन स्ट्राइकर लोमेलु लुकाकु ।

‘खेलमा गोल गरेँ भने म फ्रेन्च हुन्छु । गोल गर्न सकिनँ भने अरेबियन हुन्छु’ – फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा ।

‘आफ्नै देश जर्मनीमा हुँदा पनि मलाई मानिसहरु कहाँबाट आएको तिमी ? कहिलेसम्म बस्छौ भनेर सोध्थे । म बाहिरिया हुँ भन्ने उनीहरुको व्यवहारले नै म साच्चै नाइजेरियन भएँ’ – नाइजेरियन डिफेन्डर लियोन बालोगुन ।

‘जब हामी जित्छौं, म जर्मन हुन्छु । जब हामी हार्छौं, म आप्रवासी हुन्छु’ – जर्मन मिडफिल्डर मेसुट ओजिल ।

विश्व फुटबलमा हुने अवहेलनाका सम्बन्धमा यी केही प्रतिनिधि बोलि मात्र हुन् । आप्रवासी भनेर होस् या अरु नै बहानामा खेलाडीमाथि हुने गरेका नराम्रा व्यवहार बेला बेला बाहिरिरहेका छन् ।

विश्वकपकै बेला स्वीडेनका खेलाडी जिमी डरमाजलाई आप्रवासी भनेर समर्थकबाट दुव्र्यवहार भएको थियो । स्वीडेन टिमका खेलाडीहरु नै उनीमाथि भएको व्यवहारको आलोचना गर्दै एकजुट भएका थिए ।

विश्वकपमा स्वीट्जरल्याण्डका ग्रेन्ट जाका र जेरदान साकिरीले सर्बियाविरुद्ध गोलको खुसी मनाउँदा पनि आप्रवासी खेलाडीका विषयमा बहस उठेको थियो ।

उनीहरुले गोलपछि खुसी मनाउँदै दुई हात उठाएर बाझजस्तो बनाएका थिए, जुन अल्बानियाको झण्डामा भएको प्रतीक चिन्ह हो । फिफाले उनीहरुको सेलिब्रेसन गलत भएको भन्दै छानबिन गरेर दुवैलाई ७ हजार ६ सय ३२ पाउण्ड जरिवानासमेत तिराएको थियो ।

जाका र साकिरीको सांकेतिक उत्साहले सर्बियामा रहेका बाल्कान्सहरुमा विवाद निम्त्याएको थियो । जसले कोसोभोको स्वतन्त्रता र जातीय अल्बानियनहरुको अस्तित्व स्वीकार गर्दैनन् । साकिरी कोसोभोमा जन्मिएका हुन् । जाकाका अभिभावक सर्बियाका अल्बानियन हुन् ।

विश्वकपकै बेला सेनेगल टिमको फोटो ट्वीट गर्दै बेलायती टेलिभिजन स्टार एलन सुगरले ‘समुन्द्री तटमा बेच्न राखिएका काला चस्मा जस्तै लाग्छ’ लेखेका थिए । निकै तल्लो स्तरमा झरेर खेलाडीको अपमान गरेको भन्ने आलोचना भएपछि उनले ट्वीटमार्फत नै माफी माग्नु पर्‍यो ।

तर, अझै पनि मानिसहरुमा रहेको हेपाइको प्रवृत्ति भने त्यसले देखायो ।

पछिल्लो पटक निशानामा परे जर्मन मिडफिल्डर ओजिल । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै उनले विश्वकपमा टिम हार्दा आप्रवासी भनेर आफूमाथि भएका दुर्व्यवहार र अपहेलना सहन नसक्ने बताए ।

मिडफिल्डर मेसुट ओजिलले लगाएको दुर्व्यवहारको आरोप जर्मन फुटबल एसोसियसन (डीएफबी) ले भने अस्वीकार गरेको छ ।

एसोसियसनले उनीमाथि भएको दुव्र्यवहारबाट जोगाउन भने केही गर्न सकिने देखिएको जनाएको छ । यसले उनीमाथि दुव्र्यवहार त भएकोतर्फ त्यसमा आफूहरु दोषी नरहेको डीएफबीको घुमाउरो भनाइ छ । डीएफबीले ओजिल राष्ट्रिय टिमबाट बाहिरिएको दुःख व्यक्त गर्दै भनेको छ, ‘डीएफबी नै उनीमाथि भएको दुव्र्यवहारमा जिम्मेवार रहेको भन्ने भनाइको हामी खण्डन गर्दछौं ।’

विश्वकपमा खराब प्रर्दशनसँगै धेरै जर्मन समर्थकले ओजिल टर्किस मुलको भएकाले जर्मनीको राष्ट्रिय टिमप्रति बफादार नभएको आरोप लगाएका थिए ।

उनले गएको मे महिनामा टर्कीका राष्ट्रपति रिसेप एर्दोगानसँग तस्वीर खिचाएको विषयलाई जोडेर जर्मनका एक नेता मार्टिन होम्यानले उनको आलोचना सुरु गरेका थिए ।

‘मरेको भ्यागुतासँग फोटो खिचाउने यो टर्कीको मान्छे हाम्रो राष्ट्रिय टिममा किन ? अब अर्को विश्वकपमा यस्ता भ्यागुताहरु मैदानमा देख्न नपरोस् । म सच्चा जर्मनहरु मैदानमा राष्ट्रिय भावनासहित खेलेको हेर्न चाहन्छु’ मार्टिनले सामाजिक सञ्जालमा यस्तो लेखेपछि ओजिलमाथि दुव्र्यवहार बढ्यो ।

लण्डनमा भएको एक कार्यक्रममा ओजिल र जर्मन टिमका अर्का खेलाडी इल्काए गुन्डोगानले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिचाएका थिए । ओजिल र गुन्डोगान दुवै टर्कीस मूलका जर्मन खेलाडी हुन् ।

खेलाडीहरु आफूमाथि भएको दुर्व्यवहारले सीमा नाघेपछि आवाज उठाउँछन् । विषय विश्व फुटबलसँगै राजनीतिक जगतमा पनि बहसमा सामेल हुन्छ । केही समयमै बहस सकिन्छ र अर्को घटना नहुँदासम्म ओझेल पर्छ ।

मानिसहरु हारको नकरात्मक प्रभाव र निराशामा विवादास्पद र हेपाहा अभिव्यक्ति दिने र पछि माफि माग्ने गरिरहे पनि उनीहरु भित्र गडेर रहेको विचार अझै परिवर्तन हुन नसकेको नै बारम्बार झल्किरहन्छ ।

विश्व विजेता फ्रान्स टोलीमा विश्वकप फाइनल खेलमा प्लेइङ ११ मा रहेका ६ खेलाडी फ्रान्सेली मूलका थिएनन् । सबै गरेर फ्रेन्च टिममा १५ खेलाडी अफ्रिकन मूलका थिए । ७ मुस्लिम खेलाडी थिए ।

त्यसले फ्रान्सको इस्लामिक डरमा रहेको राजनीति र सामाजिक सञ्जालमा जातिवादी विरोध गर्ने समूहलाई पनि कुनै असर गरेन । किनकी उनीहरु २० वर्षपछि विश्व विजेता बनेका थिए ।

८० को दशकमा फुटबलमा मैदानमै कसैमाथि हुने जातिवादी भनाइ सामान्य जस्तै थियो । त्यसपछि पनि मैदान, डे्रसिङ रुम र बाहिर पनि खेलाडीमाथि विभिन्न आधारमा हुने अपहेलना चलि नै रहृयो ।

अहिले सामाजिक सञ्जालमा झनै बढेको देखिन्छ । विश्वव्यापीकरणको युग र विश्व एक घरको अवधारणा बढीरहेका बेला विश्वभर छरिएर फुटबल खेलमा लाग्ने खेलाडी नै अपहेलनामा बारम्बार परिरहनु र त्यसले उनीहरुको खेल ओझेलमा पारेर फरक बहस सुरु हुनु राम्रो होइन ।

एक खेलाडी खेलमार्फत आफ्नो जिम्मेवारीमा रहन्छ, राजनीति भन्दा पर रहेर मानवीय संवेदना जितिरहेको हुन्छ ।
उनीहरु नै परिस्थिति अनुसार मानिसहरुको स्वीकार र अस्वीकारमा पर्दा समाज अझै भेदभावपूर्ण रहेको प्रष्ट हुन्छ ।

फुटबल विश्वभर समर्थकमार्फत नै जोडिएको हुन्छ । एक खेलाडीको रंग र स्थानका आधारमा नभइ खेलका आधारमा मानिसहरुले पछ्याइरहेका हुन्छन् । तर जातीवादी अपहेलनामा पनि खेलाडी र प्राविधिकभन्दा धेरै बढी समर्थकहरु नै संलग्न रहेको देखिन्छ ।

आफूले समर्थन गरेको टिमले खेल हारेमा हुने अनेक आलोचना केही समयका लागि हुने आक्रोसका रुपमा बुझिए पनि खेलाडीको विशेष परिस्थिति र अवस्थामा हुने व्यङ्ग्य र आलोचना सहज रुपमा लिनु हुँदैन ।

‘किक इट आउट’ फुटबलमा हुने विभेद अन्त्य गर्न चलेको यो वाक्यांश पनि केही विशेष परिस्थितिमा गरिने कार्यक्रममा मात्रै सीमित भइदिँदा बारम्बार खेलाडी अपहेलनामा परेका घटना आइरहेका हुन्छन् ।

यसमा कतिपय फुटबल पण्डित नै पनि सामेल देखिन्छन् । सोचेर वा अन्जानमा नै उनीहरु खेलाडीको प्रदर्शनमा शारीरिक र सामाजिक पारिवारिक अवस्था जोडेर प्रतिक्रिया दिइरहेका हुन्छन् ।

विश्वकपकै बेला सेनेगल र पोल्याण्डबीच भएको समूह चरणको खेलअघि सञ्चार माध्यमहरुमा सेनेगलको ‘फिजिकल गेम’ र पोल्याण्ड ‘मेन्टल गेम’ मा कसले जित्ला भनेर आएका प्रतिक्रियामा सेनेगलका खेलाडीहरुले चित्त दुखाएका थिए ।

आफूहरुमाथि भएको नराम्रो व्यवहारमा खेलाडीले कस्तो प्रतिक्रिया दिन्छन् र त्यसमा समर्थक कसरी जोडिन्छन् भन्ने विषय निकै गहन छ । समर्थकको नराम्रो व्यवहारपछि पनि त्यसलाई सोचका रुपमा लिएर सुधारतर्फ बढ्ने कि केही व्यक्तिको आक्रोसका रुपमा मात्रै बिर्सने फुटबलमा संलग्नहरुमा नै निर्भर छ ।

सन् २०१४ मा ब्राजिलियन डिफेन्डर ड्यानी अल्भासमाथि अपमानजनक व्यवहार भयो । त्यसबेला बार्सिलोनामा रहेका उनीमाथि सेभिल्लासँगको खेल चलिरहँदा एक समर्थकले केराले हाने ।

खेलाडीलाई उसको मूलका आधारमा बाँदरसँग तुलना गर्दै केराले हान्ने घटना नौलो नभए पनि अल्भासले देखाएको व्यवहार भने नौलो नै थियो । कर्नर हान्न लागेका बेला उनलाई एक समर्थकले केराले हाने । उनले त्यो केरा भुँइबाट टिपेर खाइदिए र केही नभएको जसरी खेलमा फर्किए ।

अल्भासले देखाएको रचनात्मक विरोधपछि उनको प्रसंसा पनि भयो । यदि बुझ्ने मान्छे हो भने अल्भासले जे गरे त्यसबाट उनलाई हेप्नेहरुले बुझ्नुपर्छ कि केरा खाने चिज हो या अरुलाई होच्याउने ?

अल्भासमाथि भएको घटनापछि लिजेण्ड फुटबलर पेलेले समर्थकले निकै असामान्य व्यवहार देखाएको भए पनि त्यो सामान्य भएको र विश्व फुटबलमा फुटबलबाहेक अरु कुराका लागि स्थान नभएको प्रतिक्रिया दिएका थिए ।

अहिले जर्मन फुटबलर ओजिलमाथि विश्वकप हारपछि जस्ता व्यवहार भए त्यसले फुटबलमा खेलभन्दा बाहिर पनि केही रहेको देखाएको छ ।

सन् २०१४ मा विश्वकप जित्दा सामाजिक सञ्जालमा उनको तस्वीर राख्दै खुसी मनाएका जर्मन समर्थक पनि यसपटकको हारमा किन उनलाई टर्कीतिर खेद्न चाहन्छन्, त्यसमा सोच हावी छ कि आक्रोश त ?

एजेन्सीको सहयोगमा

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय