मान्छेको दौड प्रतियोगिता त सामान्य भयो । दुनियाँमा हात्ती, घोडा, उँट, साँढेलगायतकाे दौड प्रतियोगिता पनि हुने गर्दछन् । तर यी सबैभन्दा निकै अलग दौड प्रतियोगिता बेलायतमा हुने गर्दछ ।
बेलायतमा यस्तो अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ जहाँ शंखेकिराले भाग लिन्छन् । अनि विजेतालाई पुरस्कार पनि प्रदान गरिन्छ ।
सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।
रोयटर्सका अनुसार, यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गत शनिबार आयोजना गरिएको छ । प्रतियोगितामा डेढ सयभन्दा धेरै शंखेकिराले भाग लिए ।
विजेता शंखेकिराले निकै अनौठो पुरस्कार पाए । पुरस्कार स्वरुप शंखेकिरालाई निकै मन पर्ने सलादका पातले भरिएको चाँदीको भाँडो टक्राइएको थियो ।
शंखेकिरा दौड प्रतियोगितामा योपटक लेरी नामको शंखेकिरा पहिलो भयो । यसले ३३ सेमी दूरी २ मिनेटमा पार गर्यो ।
लेरीको जितबाट उसकी मालिक्नी तारा बिसले निकै खुसी छिन् । खुसीयालीमा उनले लेरीलाई तीनवटा अंगुर इनाम दिइन् ।
यद्यपि, लेरीले पहिलो स्थान हासिल गरेपछि प्रतियोगितामा कीर्तिमान कायम गर्न भने सकेन । प्रतियोगितामा सबैभन्दा छोटो समयमा दौड पूरा गर्ने शंखेकिराको कीर्तिमान आर्ची नामक शंखेकिराको नाममा छ । आर्चीले सन् १९६६ मा २ मिनेट भन्दा कम समयमे दौड पूरा गरेको थियो ।
लेरीलाई राम्रोसँग प्रशिक्षण दिन पाएको भए उसले प्रतियोगिताको कीर्तिमान भंग गर्नसक्ने दाबी ताराको छ ।
एजेन्सी
प्रतिक्रिया 4