+
+

छानविन समितिको निश्कर्ष : निर्मला हत्याको अनुसन्धानमा प्रहरीको लापरवाही देखियो

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २३ गते ४:००

२२ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही देखिएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए । ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो’ उनले भने ।

प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिको निश्कर्ष छ । कञ्चनपुरमा बिना कारण आन्दोलन नभएको भन्दै उनले भने, ‘हिजोको त्यो अवस्था त्यसै आएको होइन । त्यसमा प्रहरीको त्रुटी देखिएको छ ।’

अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई दिएको उनले सुनाए ।

उनका अनुसार तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले निलम्बन गरिएको हो । ‘सबै घटनाको सुक्ष्म अध्ययन गर्दा प्रहरीको कमजोरी देखिएकाले तत्काल प्रहरी प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेका हौं’ छानविन समितिका संयोजक मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरीहरुसँग सोधपुछ हुन्छ ।’

अनुसन्धानमा खटिएका अन्य प्रहरीको पनि त्रुटी भेटिए कारबाहीका लागि सिफारिस गर्ने उनले बताए । हत्याको विरोधमा भएको आन्दोलनमा समेत बढी बल प्रयोग भएको छानविन समितिको निष्कर्ष छ ।

छानविन टोली आजै काठमाडौं फर्किँदैछ । समितिको म्याद आजै सकिने भए पनि ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाउने संयोजक मैनालीले बनाए । ‘पन्ध्र दिनको म्याद आज सकिँदै गरेको भए पनि आवश्यकताअनुसार म्याद थप हुन्छ’ उनले भने ।

१३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट विहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । तर, प्रहरीको प्रभावकारी अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्कियो । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएपछि सरकारले छानविन समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?