९ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि एउटै विद्यालयमा कार्यरत आठ जना प्रधानाध्यापक (हेडसर) को सरुवा गरेपछि महानगरका विद्यालयमा पठन पाठन प्रभावित भएको छ ।
महानगरले गैरकानुनी हिसाबले सरुवा गरेको भन्दै शिक्षक संगठन हड्तालमा उत्रिएका छन् भने केही विद्यालयका विद्यार्थीहरु सडकमा समेत ओर्लिएका छन् ।
प्रधानाध्यापकहरुको सरुवाको विरोधमा सोमबार र मंगलबार शैक्षिक हडताल अह्वान समेत गरिएको छ । हड्ताल आह्वाका कारण सामुदायिक विद्यालयको पठन पाठन प्रभावित भएको छ । कतिपय निजी विद्यालयले समेत पठन पाठन रोकेका छन् । गत बिहीबार महानगरको शिक्षा महाशाखाले ८ विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गर्दै हुलाक मार्फत पत्र पठाएको थियो ।
विद्यार्थीद्वारा प्रदर्शन र चक्काजाम
प्रधानाध्यापक सरुवाको विरोधमा माईस्थान विद्यापीठ माविका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नगर प्रमुख, प्रशासन विरुद्ध नाराबाजी गर्नुको साथै घण्टाघरमा सवारी साधन आवागमनमा अवरोध समेत गरे ।
कतिपय प्रधानाध्यापकले नै विद्यार्थीलाई उक्साएर जुलुस प्रदर्शन र चक्काजाम विरोध कार्यक्रम गराएका छन् । आइतबार माइस्थान विद्यापीठ र त्रिजुद्ध माविका विद्यार्थीहरुले प्रधानाध्यापकलाई सरुवा नगर्न माग राख्दै घण्टाघरमा विरोध प्रदर्शन गरे ।
माइस्थान विद्यापीठका विद्यार्थीहरुले पठानपाठन अवरुद्ध पार्दै कुर्सी टेबल तोडफोडसमेत गरेका थिए । उनीहरुलाई सरुवा भएका प्रधानाध्यापकहरुले नै उचालेर आन्दोलनमा उतारेको अभिभावकहरुकै आरोप छ ।
सोमबार माइस्थान विद्यापिठ माविका विद्यार्थीले घण्टाघरमा टायर बालेर प्रदर्शन गर्नुको साथै चक्का जाम समेत गरे । महानगर प्रमुख विरुद्ध नाराबाजी गरेका उनीहरुले बिहान सात बजे देखि ११ बजेसम्म प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कसको कहाँ सरुवा ?
महानगरपालिकाले रेल्वे माविका देवशरण यादवलाई सोलखपुर माविमा, सुखचैना माविका दिनेश चौरयिालाई रेल्वे माविमा, नृसिंह माविबाट हरेन्द्र कुर्मीलाई त्रिजुद्ध माविमा, कोन्हिया माविका मोहम्मद मुर्तुर्जा अन्सारीलाई माइस्थान विद्यापीठ माविमा, वीरगञ्ज रात्री माविबाट पुरुषोत्तम मिश्रलाई कोन्हिया माविमा, सुरजी देवी माविबाट अनिलकुमार वर्णवाललाई नृसिंह माविमा, त्रिजुद्ध माविबाट नविनकुमार मिश्रलाई सुरजी देवीमा र माइस्थान माविका विनोदकुमार मेहतालाई सुखचैना माविमा सरुवा गरिएको जनाएको छ ।
महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरपालिकाको शैक्षिक गुणस्तर विकास गर्नका लागि नै प्रधानाध्यापकहरुको सरुवा गरिएको बताए । उनले अन्यलाई पनि सरुवा गर्न आन्तरिक तयारी भइरहेको जानकारी दिए । ‘कतै विद्यार्थी छैनन्, शिक्षक फालाफाल छन्, कतै शिक्षक छैनन् विद्यार्थी टन्न छन्, त्यसलाई नै सुधार गर्नका लागि प्रयासरत छौं । सोही क्रममा पहिलो चरणमा ८ जनाको सरुवा गरिएको हो । क्रमशः अन्यको पनि सरुवा हुन्छ’ उनले भने ।
के भन्छन् सरुवा भएका प्रधानाध्यापक ?
सरुवा भएका प्रधानाध्यापकमध्ये केहीले सरुवा भएको ठाउँमा गएर हाजिरसमेत गरेका छन् । केही भने जान चाहेका छैनन् । विशेष गरी माइस्थान विद्यापीठ मावि र त्रिजुद्ध माविका प्रधानाध्यापकले महानगरको निर्णयलाई अटेर गरेका छन् ।
त्रिजुद्धमा माविमा सरुवा भएर गएका प्रधानाध्यापक हरेन्द्र कुर्मीले आइतबार नयाँ रजिष्ट्रर किनेर हाजिर गरेका थिए । महानगरले दिएको जिम्मेवारी सम्हाल्न पुगेका उनलाई त्रिजुद्धका प्रधानाध्यापक नविन मिश्राले कार्यकक्षबाट बाहिर निकालेर प्रधानाध्यापकको कोठा, लेखा शाखा, मुख्य गेटमा समेत ताला लगाइदिएका थिए ।
विद्यालयको कक्षा कोठामा ताला लगाइएका कारण विद्यालयमा पठन पाठन हुन नसकेको प्रधानाध्यापक कुर्मीले बताए । ‘पूर्व प्रअ नविनजीले हिजै मुख्य गेटमा ताल्चा लगाएर जानुभएको थियो । बिहान आउँदा ताल्चा खुलेको थिएन’ उनले भने ‘वडा अध्यक्ष जगत साह कानु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सदस्यहरुको रोहबरमा मुख्य गेटको तोडिएको थियो । शिक्षक र विद्यार्थीहरु आए पनि सबै कक्षा कोठामा ताल्चा लगाइएका कारण पठन पाठन हुन पाएन । ’
माइस्थान माविबाट सुखचैना माविमा सरुवा भई हालसम्म हाजिर नभएका प्रधानाध्यापक विनोदकुमार मेहता विद्यार्थीहरुलाई उक्साएर आन्दोलन गरेको आरोप गलत भएको बताउँछन् । ‘सरुवादेखि तर्सेको होइन, मैले नजाने भनेको पनि छैन । पहिलो कुरा त सरुवाको चिठ्ठी आजसम्म मेरो हातमा परेको छैन’ उनले भने ‘विद्यार्थीहरुको आन्दोलन मैले उक्साएर भएको होइन, विद्यार्थी, शिक्षक र अभिभावकले मायाले नजान भनेका हुन् ।’
उनले नगर प्रमुखले दादागिरी देखाउन खोजेको भन्दै त्यसको विरोधमा जहाँ गए पनि लाग्ने बताए । ‘नगर प्रमुखले बोर्डिङलाई बढवा दिन खोजेका छन्, माइस्थान विद्यापीठलाई तहस नहस पार्न खोजेका छन्, खोजी खोजी आफ्नो मान्छे पठाएका छन्’ उनले भने ‘यसकोविरुद्ध म जहाँ गएपनि लाग्छु ।’
विद्यालयको आम्दानी बढाउन मद्दत पुर्याएकोले विद्यालय व्यवस्थापन समितिले गएको साउनदेखि थप प्रोत्साहन रकम र मोटरसाइकल समेत किनेर दिएको उनको भनाइ छ ।
नेपाल शिक्षक संघका तर्फबाट मेहताले महानगरपालिका अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा समेत गरेका छन् ।
पेशागत संगठनद्वारा आन्दोलनको चेतावनी
शिक्षकहरुको विभिन्न राजनीतिक दल निकट पेशागत संगठनहरुले महानगरले गरेको सरुवा गैरकानुनी भएको दावी गरेका छन् । उनीहरुले निर्णय फिर्ता लिनुपर्ने माग राखेका छन् ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, लोकतान्त्रिक शिक्षक मञ्च लगायत ५ वटा शिक्षक संघ संगठनले निर्णयको विरोध गरेका छन् ।
नेपाल शिक्षक संघ पर्सा अध्यक्ष तिर्थराज यादवले महानगरपालिकाले अधिकार क्षेत्र बाहिर गएर सरुवा गरेकोले आफूहरुले नमान्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत ०७४ चैत २१ मा जारी गरिएको चलानी नबर ११३ को पत्रमा संघीय शिक्षा ऐन बनेपछि प्रादेशिक शिक्षा ऐन बन्ने र त्यसपछि मात्रै स्थानीय तहले शिक्षा ऐन बनाउनुपर्ने उल्लेख रहेको र त्यही पत्रमा सरुवा, बढुवा र नियुक्तीको अधिकार स्थानीय तहलाई छैन भनी उल्लेख गरिएको दावी यादवको छ ।
त्यस्तै स्थानीय निकाय सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नियम ११ को उप नियम ज को विपरित सरुवा भएको दावी उनले गरे ।
आउँदो १४ गते पर्सामा नेपाल शिक्षक महासंघको निर्वाचन हुँदै छ । त्यसको मुखमा सरुवा गरेर अन्य संगठनका शिक्षकमा त्रास सृजना गर्ने र संघीय शिक्षक फोरमलाई अगाडि ल्याउने प्रपञ्चमा मेयर रहेको आरोप उनले लगाए । भोलि बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने तयारी शिक्षक संगठनको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साका अध्यक्ष शिवनाथ थारुले शिक्षा ऐन २०२८ लाई मिचेर गरिएको निर्णय स्वीकार गर्ने आधार नभएको बताए ।
‘संघीय र प्रदेश शिक्षा ऐन नबनिसकेको अवस्थामा महानगरले ल्याएको शिक्षा ऐन स्वीकार्य गर्ने कुरा हुँदैन । स्थानीय सरकार भयो भन्दैमा जे पनि गर्न पाइदैन’ उनले भने ‘अहिले ९ र १० गते विद्यालय बन्द गराएर सांकेतिक विरोध गरेका हौं । पुस १४ गतेसम्म चुनावीे दौडमा भएका कारण थप आन्दोलन गर्दैनौं, महानगरपालिकाले निर्णय फिर्ता लिँदैन भने १५ गतेबाट कडा आन्दोलनमा जान्छौं ।’
अटेर गरे कारबाही हुन्छ : मेयर सरावगी
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भने सरुवा कानुन अनुसार नै भएको र अटेर गर्ने प्रधानाध्यापकलाई कारबाही गरिने बताएका छन् । उनले स्थानीय तहलाई दिएको २२ वटा अधिकारमध्ये शिक्षा क्षेत्रको सुधार गर्ने अधिकार पनि स्थानीय तहमा निहित रहेकोले सोही अनुसार अघि बढेको बताए ।
‘महानगरपालिकाको शिक्षामा माफियाकरण छ, त्यसको अन्त्यका लागि महानगरपलिका लागि परेको छ । पहिलो चरणमा त्यसको सुरुवात ८ जना प्रधानाध्यापकहरुको सरुवा गरेर गरेका छौं’ उनले भने ‘अटेर गर्ने प्रअहरुलाई पहिला स्पष्टिकरण सोधिन्छ, चित्त बुझ्दो जवाफ नआए सम्बन्धित निकायहरुसँग समन्वय गरेर कारबाही पक्रिया अगाडि बढाइन्छ ।’
महानगरपालिकामा ४२ जना बोर्ड सदस्य रहेकोमा ४१ जनाले सरुवालाई कडाइका साथ लागु गर्न सहमत भएको उनको भनाइ छ ।
‘एउटै प्रअ जीवनभरी एउटै विद्यालयमा बस्नुपर्छ भन्ने छैन नि, स्थानान्तरण गरिएको ठाउँमा गएर क्षमता प्रदर्शन गर्दा हुन्छ’ उनले भने ‘कानुन विपरीत भएको जस्तो लाग्छ भने अदालतको ढोका ढकढकाउँदा हुन्छ, अबोध बालबालिकालाई उचालेर अराजकता प्रदर्शन गर्नु हुँदैन ।’
सरुवा गरिएका ८ जनामध्ये ४ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सबैभन्दा बढी छानबिनमा परेका कारण प्रमाण नष्ट गर्न सक्ने भएकोले सरुवा गरेको नगर प्रमुख सरावगीले बताए । नगर प्रमुख सरावगीले आइतबार साँझ पत्रकार सम्मेलन गरी सरुवाको निर्णय कार्यान्वयन गराउन महानगर कडाइका साथ लाग्ने चेतावनी समेत दिएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले वीरगञ्ज महानगरको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् । उनले महानगर प्रमुख, शिक्षा महाशाखा प्रमुख, सरुवा भएका शिक्षक र पेशागत संगठनहरुबीच समन्वयको काम भइरहेको बताए ।
प्रतिक्रिया 4