१९ पुस, काठमाडौं । नागरिक लगानी कोषको पुँजी बढ्ने भएको छ । नागरिक लगानी कोष ऐन, २०४७ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।
यो विधयेक पारित हुने वित्तिकै कोषको पुँजी बढाउनुपर्नेछ । बिहीबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विधयेक पेश गर्न स्वीकृति प्रदान गरिएको र विधेयक पारित भए कोषको पुँजी वृद्धि हुने बताए ।
मन्त्री बास्कोटाका अनुसार कोषको अधिकृत पुँजी ८ अर्ब पुग्नेछ । पुँजीलाई १ सय रुपैयाँका दरले सेयरमा विभाजन गरिने उनले बताए । यसका साथै कोषको जारी पुँजी ८ अर्ब रुपैयाँ र चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनेछ ।
कोषमा अब सरकारको २३.३४ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत, स्टक एक्सचेन्जको १० प्रतिशत, विभिन्न बैंक वित्तीय संस्थाको १५.११ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुने समेत मन्त्री बास्कोटाले जानकारी दिए ।
प्रतिक्रिया 4