+
+

घले समाज भन्छ– राज्य र जनजाति महासंघ दुवैबाट पीडित भयौं

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २७ गते ७:५७

२७ पुस, काठमाडौं । आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय र धार्मिक संघ संस्थाको आन्दोलनपछि सरकारले ०७६ सालमा दिइने सार्वजनिक विदा पुनरावलोकन गर्दा पनि घलेको पहिचान स्वीकार नगरिएको भन्दै आदिवासी घले समुदायले आपत्ति जनाएका छन् । उनीहरुले आन्दोलनकै रुपमा यस वर्षको लिःल (घले) ल्होसर मनाउने भएका छन् ।

घले जातिले प्रत्येक वर्ष माघ १ गते लिःल ल्होसर अर्थात घलेहरुको नयाँ वर्ष मनाउने गर्छन् । तामाङ,गुरुङ र शेर्पाहरुको ल्होसरमा सरकारले सार्वजनिक विदा सिफारिस गरे पनि घले ल्होसरको अस्थित्व स्वीकार नगरिएकोमा घले समाज लिःल फङले आपत्ति जनाएको छ ।

नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करीव २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन ।

घलेहरुको पर्व लिःल ल्होसरलाई राष्ट्रिय पर्वको मान्यता दिन आफूहरुले माग गरेको लिःल फङका अध्यक्ष दिनेश घलेले बताए । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।

नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ

घले समुदायमाथि राज्यमात्र होइन पहिचानवादी हौं भन्ने आदिवासी जनजाति महासंघबाट समेत बिभेद भएकाले त्यसको बिरोध गर्दै यस वर्षको लिःल ल्होसर घलेहरुको आदिभूमी धादिङको धादिङबेसीमा सामुहिक रुपमा मनाउन लागिएको लिःल फङकी केन्द्रीय सदस्य शारदा घलेले बताइन् ।

देशभरका घलेहरुको उपस्थिति रहने सो कार्यक्रमको प्रमुख अतिथी सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड हुनेछन् । घलेहरुको पहिचान स्थापित गर्नका लागि सरकारलाई दबाब दिन सत्तारुढ दलका अध्यक्षलाई बोलाइएको उनले बताइन् ।

सबैभन्दा धेरै घले जाति बस्ने जिल्ला धादिङ हो । २०७५ सालको लिःल ल्होस खिल्हो (कुकुर वर्ग)लाई विदाइ गर्दै फाल्हो (मृग वर्ग)लाई सवगत गरेर मनाइने लिःल फङले जनाएको छ ।

माघ १ गते नेपालका धेरै जाति समूदायले आ आफ्ना पर्व मनाउछन् । हिन्दू आर्य, मगर, थारु,कुमाल, छन्त्याल र किरातहरुले जस्तै घलेले पनि यो दिन आफ्नो राष्ट्रिय पर्व मनाउछन् । तर उनीहरुको पर्वले मान्यता पाएको छैन ।

माघे सक्रान्तिकै दिनै नेपालका घले समुदायले ल्हो सर मनाउने गर्छन् तर उनीहरुको पर्वलाई अहिलेसम्म न त राज्यले स्वीकार गरेको छ न त आदिवासी जनजाति सम्बन्धित संस्थाहरुलेनै पहिचान दिन मानेका छन् ।

‘पहिचानको लडाइ लड्छौं भन्नेहरुलेनै हाम्रो पहिचान खोसेका छन्’ लिःल फङ अध्यक्ष दिनेश घलेले भने ‘नेपालकै सबैभन्दा पूरानो आदिवासी घलेको पहिचान मेटाउन खोजिएको छ ।’

पुराना शासक घले हुन्

घलेहरुका पूर्खाले शाह राजा विरुद्ध १ सय ८५ वर्ष युद्ध लडे । लिगलिगको दौडमा पराजित भएपछि घलेहरुलाई नरभूपाल शाहलेनै ताम्रपत्र गरेर दिएका अभिलेख अहिलेपनि लिःल फङमा सुरक्षित छन् । अन्तिम घले राजालाई षडयन्त्रपूर्वक मारिएको गोरखाको निमेल खोलाको पानी अझै पनि घलेहरुले पिउँदैनन् ।

नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरु सूचिकृत हुने क्रममा घलेहरुलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ ।

‘हामीलाई कतै तामाङकरण गरियो, कतै मगरकरण गरियो, कतै गुरुङकरण गरियो’ लिःल फङका अध्यक्ष घलेले भने ‘हाम्रो पहिचान मेटाउन पहिचानवादी भनिएकाहरु नै एकजुट भए ।’

घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरु गुरुङ नभएको शारदा घलेले बताइन् । घलेहरुको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ ।

नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?