२ माघ, काठमाडौं । निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिकमा प्रयोग गर्न नदिन यातायात व्यवसायीले माग गरेका छन् । टुटल, पठाओ लगायतका कम्पनीमाथि सरकारले कारवाही सुरु गरेपछि यातायात व्यवसायीले त्यसको स्वागत गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा व्यवसायीले उजुरी दिएपछि नै कारवाही अभियान सुरु गर्नुपरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रय महासंघका महासचिव सरोज सिटौला यस्ता व्यवसायले सरकार र कानुनमाथि चुनौती दिएको बताउँछन् । उनले यसलाई विकृति भन्दै यसलाई रोक्न राज्यका जिम्मेवार संयन्त्र लागिहाल्नुपर्ने बताए ।
‘प्रविधिको प्रयोग भनेर मात्रै हुँदैन, कानुनले नदिएको काम यहाँ गर्न पाइँदैन,’ सिटौला भन्छन्,’यस्तो व्यवसायलाई छुट दिइयो भने भोलि जसले जे पनि गर्न सक्छ । यसमा राज्यले आफ्नो भूमिका देखाउनुपर्छ ।’
निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुँदै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने उनको दावी छ । अन्तर्राष्ट्रिय प्रयोग भन्दै नेपाल भित्र्याइएका प्रविधिक नेपालका लागि उपयोगी छ छैन भनेर पनि हेर्नुपर्ने उनले बताए ।
‘जसलाई जे जिम्मेवारी छ, त्यही गर्ने हो, बैंकमा ढोकामा बस्ने सेक्युरेटी गार्डले बन्दुक बोक्दैन, त्यसो भयो भने प्रहरी के काम ?’ उनले भने,’ आफ्नो अधिकार क्षेत्र मिचेर काम गर्नेलाई उन्मुक्ति दिइनुहुँदैन ।’
उनले सार्वजनिक यातायात सेवमा कमी कमजोरी रहेको स्वीकार्दै समायानुकुल परिवर्तन गर्न आफूहरु तयार रहेको बताए ।
नेपाल मिटर ट्याक्सी ब्यवसायी संघका अध्यक्ष अर्जुन गौतम विदेशी लगानी ल्याएर माफियाहरुले टुटल र पठाओजस्ता व्यवसाय चलाइरहेको आरोप लगाउँछन् । उनले कानुनमै व्यवस्था नभएको सेवालाई ल्याएर यहाँ काम गरिरहेका स्वरोजगार मजदुर र व्यवसायीको घाँटी निचोर्ने काम गरिएको तर्क गरे ।
‘हामी यस्तो सेवाको सशक्त विरोध गर्छौं, यो सरासर गलत कदम हो,’ गौतम भन्छन्,’यस्तो सेवा तुरुन्तै सरकारले बन्द गर्नुपर्छ, गैरहकानुनी व्यवसायले हाम्रो व्यवसाय चौपट बनाउने अवस्था आउनु हुँदैन ।’
उनले आफूहरुले सरकारले बनाएका नियमहरुको पालना गरेर सरकारले तोकेको भाडामा गुड्ने गरेको दावी गरे । ‘हामी सरकारले सिलबन्दी गरेको मिटरमा हिँड्छौं, ४-४ महिनामा कर तिरेर रुट पर्मिट लिन्छौं, ६-६ महिनामा जाँचपास गर्छौं,’ उनले भने,’लाखौं खर्च गरेर किनेको ट्याक्सीको सेवालाई असर पर्ने गरी निजी सवारीले सशुल्क यात्रु बोक्न काम कुन कानुनले दिन्छ ?’
टुटल र पठाओ सेवा खासै भरपर्दो नभएको आरोप व्यवसायीको छ । बीमा र दुर्घटनाको जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसावले पनि यात्रुलाई यसले मर्का पर्ने दावी गरे ।
प्रतिक्रिया 4