
१९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफ्नो पार्टीले अब संसद अवरुद्ध नगर्ने बताएका छन् ।
संसदको बैठकमा माघ २१ गते बस्दैछ । कांग्रेसले लगातार संसद अवरुद्ध पर्दै आएको थियो । पछिल्लो पटक उसले डा. गोविन्द केसीको जीवन रक्षाको माग राखेर संसद अवरुद्ध गरेको थियो ।
तर, डा. केसीले शुक्रबार एकतर्फी रुपमा अनसन तोडेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता महतले भने, ‘एक/दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन। उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’
माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । उनले भने, ‘के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन ।
नेता महतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको भन्दै असन्तुष्टि जनाए । सरकारले निकालेको वक्तव्य पनि त्यस्तै आएको उनले बताए ।
नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको महतले सुनाए । उनले भने, अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होइन् । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित होइन ।’
प्रतिक्रिया 4