+

पोखरा कप : ब्रिगेड ब्वाइजलाई टाइब्रेकरमा हराउँदै मनाङ सेमिफाइनलमा

२०७५ माघ  २३ गते २०:२३ २०७५ माघ २३ गते २०:२३
पोखरा कप : ब्रिगेड ब्वाइजलाई टाइब्रेकरमा हराउँदै मनाङ सेमिफाइनलमा

२३ माघ, पोखरा । लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गत वर्षको पोखरा कप विजेता मनाङले ब्रिगेड व्वाइज क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

योसँगै सेमीफाइनल समीकरण पूरा भएको छ । यसअघि जापानको रिस्सो युनिभर्सिटी, सशस्त्र प्रहरी वलको एपीएफ क्लब र क्यामरुनको डफिन्स टीम फेमेली सेमीफाइनलमा पुगिसकेका छन् ।

बुधबार भएको खेलमा निर्धारित ९० मिनेटमा १/१ को बराबरी र थपिएको ३० मिनेटमा दुबै टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा पदम भट्टराईको प्रहार बिपक्षी गोलकिपर विशाल श्रेष्ठले बचाउ गरेपछि ब्रिगेड ब्वाइज पराजित हुन पुगेको हो । पेनाल्टी सुटआउटको पहिलो प्रहार गर्न पुगेका भट्टराईको श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै मनाङलाई जित दिलाए ।

पेनाल्टी सुटआउटमा मनाङका कप्तान सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माले गोल गरे । ब्रिगेड ब्वाइजका तर्फबाट सुरज ठकुरी, रणदीप पौडेल, जय गुरुङ र मनोज राईले गोल गरे ।

यसअघि प्रतियोगिताको निर्धारित ९० मिनेटको समयमा दुबै टिमले १/१ गोल गरेका थिए । ब्रिगेड ब्वाइजले खेलको १६ औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । ब्रिगेड ब्वाइजका लागि ऋतिक खड्काले गोल गरेका थिए । उनले करिब १८ यार्ड नजिक विपक्षी डिफेन्स खेलाडी असिफ मोहमदसहित ३ जनालाई छक्याउँदै पोष्टमा गरेको कडा प्रहार गोलमा परिणत भएको हो ।

१६ मिनेटमै अग्रता लिएरपनि ब्रिगेड ब्वाइजले जित निकाल्न सकेन । खेलको ६८ औं मिनेटमा बराबरी गोल गर्दै कमब्याक गर्‍यो । मनाङका लागि बिमल रानाले बराबरी गोल गरे । अफिज ओलावालेको फ्लिक हेड पासमा रानाले फष्र्टबार च्यापेर प्रहार गरेको बलले जाली चुमेको हो ।

त्यसपछिको समयमा भने दुबै टीमले गोल गर्न सकेनन् । ए डिभिजन लिग विजेता मनाङले लिगको १२ औं स्थानमा रहेको ब्रिगेड व्वाईज क्लव १० खेलाडीमा सिमित भएको अवस्थामा पनि निर्धारित र थपिएको समयमा गोल गर्न असफल रह्यो ।

खेलको ८८ औं मिनेटमा विपक्षि खेलाडी ओलावालेले करिब २० यार्ड नजिकबाटै बल अघि बढाएको अबस्थामा ब्रिगेडका गोलरक्षक लक्की कार्कीले डि–वक्स बाहिर पुगेर बल समातेपछि उनलाई रेफ्री प्रकाशमान श्रेष्ठले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । त्यसपछिको समय मनाङले एकतर्फी दवाब सृजना गरेपनि गोल थप्न सकेन ।

बुधबारको खेलमा टाइब्रेकरमा गोल रोक्ने मनाङका बिशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

ब्रिगेड व्वाईजका प्रशिक्षक सुवित कार्कीले मनाङ जस्तो बलियो टिमलाई आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गरेर निर्धारित समयसम्म बराबरीमा रोक्नु जित्नु जत्तिकै उपलब्धी भएको बताए ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले आफ्ना खेलाडीहरुले विपक्षी टिमलाई कम आँक्दा जितका लागि टाइब्रेकरसम्म पुग्नुपरेको बताए । उनले ब्रिगेड ब्वाइजले बुधबार उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रशंसा गरे ।

प्रतियोगिता अन्तर्गत विहीबार पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लव र जापानको रिस्सो युनिभर्सिटी बिच प्रतिष्पर्धा हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय