
नेपाल भौगोलिक विविधताले धनी देश हो । यहाँ थुप्रै जातजातिका मानिसहरु बसोबास गर्छन् । ती जातिहरुको आ–आफ्नो धर्म संस्कृति र रीतिरिवाज रही आएका छन् । यसअन्तर्गत हिन्दुधर्म एक हो । यसमा धेरै चाडपर्वहरु छन् । विभिन्न चाडपर्वहरुको आ–आफ्नो महत्व छ । सबैले आफ्नै ढङ्गले रीतिरिवाज मनाउने गरिन्छ ।
हिन्दु धर्मालम्बीहरुका लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्री पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस बर्षमा देशभरका शिव मन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्छ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहीआएको छ ।
शिवरात्रीमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि व्रत बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतिको बिहे भएकाले पनि यस दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ ।
हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरै नै छन् । शिवका विभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतीकका रुपमा शिवलाई मानिँदै आएको छ । शिवको पूजा, उपासाना विशेष गरी तीज, श्रावण महिना, माघे संक्रान्ति र महाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा, अर्चना गरी ब्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन ।
यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था बिस्वास र महत्वका साथ मनाउने गरिन्छ ।
शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा जोडिएको छ ।
भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको कथा उल्लेख हुन आउँछ ।
शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्छ जुन सबै शिव लिंगमा चढाइन्छ । त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् ।
सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
मिसिएको विकृति पनि
पर्व मनाउने बाहानामा बिभिन्न नकरात्मक क्रियाकलापहरु वढ्दै गएका छन् । चाडपर्वलाई संस्कृति भन्दा पनि वढि मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा विकशित गरिँदै आएको देखिन्छ । भगवान् शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो घोट्टा आदिको खुलम खुल्ला सेवन गर्ने चलन छ । यो खाएपछि शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन् यसले पछिसम्मका लागि नकारात्मक असर पारेको छ ।
हाम्रो समाजमा धेरै युवायुतिहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थविना बाँच्न नसक्ने अवस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिव भगवानको प्रसादको रुपमा प्रयोग हुने विभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिँढी कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ ।
शिवरात्रीको प्रसादको रुपमा प्रयोग हुने नसालु पदार्थले स्कुल तथा क्याम्पसमा पढ्ने धेरै बिद्यार्थी लागु औषध दूव्र्यसनीमा फस्ने गरेका छन् । हाम्रो समाजमा शिवरात्रीसँगै प्रयोग हुने नसालु पदार्थको प्रयोगबाट युवापिँढीमा पर्ने असर र समाज पार्ने नकारात्मक घटनाहरु तथा विभिन्न कानुनी अवस्था बारेमा जानकारी हुनु जरुरी छ । यस विषयमा घरपरिवार अथवा अभिभावकले पनि ध्यान दिनैपर्ने देखिन्छ ।
मनोरञ्जनको सानो एक दिनको रमाइलोले दीर्घकालीन असर, जटिलता निमत्याउन पनि सक्छ । त्यसैले शिवरात्रीको खास महिमालाई शिवरात्रीको खास महत्वलाई हामीले अनुसरण गर्नु पर्दछ । भगवान खुसी हुन्छन्, मनोकामना प्राप्त हुन्छ या यो पहिलेदेखि चलेको चलन भनेर हामीले शिवरात्रीमा खाइने नशालु पदार्थलाई सिको गर्नु सेवन गर्नु पक्कै पनि राम्रो पक्ष हुँदै होइन । शिवरात्री पर्वको ठूलो महत्व छँदैछ, त्यसैले पनि यसको नराम्रो पक्षलाई निरुसाहित गर्नैपर्छ । प्रसादको रुपमा प्रयोग हुने नशालु पदार्थ खादा ख्याल गर्नैपर्छ एक दिनको रमाइलोले जिवनभर पछुताउनुपर्ने हुन सक्छ ।
पर्वका आफ्नै महत्व आफ्नै रमाइलो पक्षहरु रहेका हुन्छन् । भगवान खुसी हामीले नशालु पदार्थ खाएर हुन्छन् भन्ने मान्यता त्यागौं । पर्वलाई रमाइलो बनाउनु बाहनामा प्रयोग गरिने त्यस्ता विकृतिजन्य संस्कारलाई मात्रै अनुशरण नगरौं । पर्वका महत्व, यसको महिमा, संस्कृतिलाई, राम्रो पक्षलाई अनुशरण गरौं । कसैले यसो गरे भनेर त्यही गर्नुपर्छ भन्ने मान्यतालाई हटाउँ । अरुको सिको होइन, पर्वको महत्व महिमालाई सिको गरौं । यसले पर्वको विकृतितर्फ जान पक्कै पनि दिने छैन । पर्वको खासपक्षलाई महत्वलाई सबैले ध्यान दिए पछिल्लो समयमा हाम्रो माझ देखिएका, भित्रिएका बिकृतिहरु कम हुँदै जाने छन् । पर्वको विकृतिलाई हटाउन, घटाउन अहिलेका युवापिँढीले यसको अगुवाई गर्न जरुरी देखिन्छ ।
हामीले शिबरात्री पर्वको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई जोगाइराख्नु जरुरी छ । शिवरात्रीको अवसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता विकृतिजन्य क्रियाकलाप नगरौं । सही राम्रो पक्षलाई सबैले आत्मासाथ गरेर पर्व मनाऔं । शिवरात्री पर्व समाजमा चेतना फैलाउने संस्कृतिको जगेर्ना र संरक्षण गर्ने किसिमको बनोस् । महाशिवरात्रीको शुभकामना ।
प्रतिक्रिया 4