
४ चैत, काठमाडौं । सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने बताएपनि व्यवहारमा भने उल्टो देखिएको छ । विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्था नहुँदा निजी क्षेत्रले बनाएको चार्जिङ स्टेशन र विद्युतीय बस अलपत्र परेका हुन् ।
विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।
तर, नीतिगत व्यवस्था नहुँदा लाखौं खर्च गरेर बनाइएको चार्जिङ स्टेशन दुई महिनादेखि अलपत्र परेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले अनलाइनखबरसँग बताए ।
‘सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने भनेपछि हामीले पनि अग्रसरता देखायौं तर, सम्बन्धित मन्त्रालयलाई यसमा पटक्कै चासो भएन’, उनले गुनासो गरे ।
थापाका अनुसार सुकेधारा र सितापाइलामा डेढ रोपनी क्षेत्रफलमा ७ वटा चार्जिङ स्टेशन निर्माण गरिएको छ । ३०, ६० र १२० केभिए क्षमताका चार्जिङ मेसिन ती स्टेशनमा राखिएको छ । ३० केभीए क्षमताको दुई वटा, ६० र १२० केभीएका तीन/तीन वटा चार्जिङ मेसिन छन् ।
३० केभीएको मेसिनले एकैपटकमा ४ वटा गाडी चार्ज गर्न मिल्छ भने ६० र १२० केभीएका मेसिन चार/चार वटा गाडी चार्ज गर्ने क्षमताका छन् ।
यी सबै चार्जिङ मेसिनबाट एसी र डिसी आउटपुटको सुविधा छ । गाडी धनिले चार्जिङ मेसिनबाट ब्याट्री बिगि्रने चिन्ता लिनु नपर्ने कम्पनीका अध्यक्ष थापाको दाबी छ । ‘नेपालमा चलिरहेका १६ वटा कम्पनीका गाडीका ब्याट्रीलाई उपयुक्त छ हाम्रो चार्जिङ मेसिन’, उनले भने ।
डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नु छ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा पनि छ । ‘पेट्रोल पम्पमा गएर २०० को तेल हाल्छ भन्छौं नि यहाँ पनि त्यसरी नै बटम दबाएर निश्चित युनिट चार्ज गर्न मिल्छ’, उनले भने ।
चार्ज फूल भएपछि मेसिन ‘अटोअफ’ हुने भएकाले ब्याट्रीमा कुनै समस्या नआउने उनको दाबी छ । चीनबाट भित्र्याएको यी चार्जिङ मेसिन एउटाको १३ लाख परेको थापा बताउँछन् । स्वीकृति पाए १५ दिनभित्रै चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।
बस पनि थन्किए
सुन्दर यातायातले भित्र्याएका दुई वटा विद्युतीय बस समेत थन्किएका छन् । ‘दुई वटा परीक्षणका लागि ल्याएका छौं, हाम्रो अर्डर अनुसार चिनियाँ कम्पनीले थप ११ वटा बस निर्माण गरेर लिन आउन पत्राचार गरिसकेको छ तर, ल्याइसकेका बस थन्किएकाले हामीले होल्ड गरेका छौं’, उनले भने । एउटा बस एक करोड ८७ लाख परेको उनले बताए ।
सरकारले भन्सार छुट पनि नदिएको उनको भनाइ छ । ‘विद्युतीय सवारीलाई बढावा दिने भाषण सुन्छौं तर, हामीले एक रुपैयाँ पनि छुट पाएनौं, उनले गुनासो गरे ।
सरकारले विद्युतीय सवारी आयातमा विशेष छुट र गतवर्षबाट बैंकहरुलाई पनि ८० प्रतिशतसम्म अटो ऋण प्रवाह गर्ने अधिकार दिएको छ । तर, त्यो व्यवहारमा नदेखिएको व्यवसायीको गुनसो छ ।
सुन्दर यातायातले भित्र्याएका विद्युतीय बस ४० सिट क्षमताका छन् । जसमा थप ३० जना उभिए यात्रा गर्न मिल्छ । ‘चाइनिज बीएके ब्याट्री इन्क’को जोइन्ट भेन्चर हो- सुन्दर यातायात । बीएके ब्याट्री इन्क सन् २०११ को ग्लोबल र्यान्किङमा नम्बर ७ मा परेको उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ ।
सन् २००१ मा स्थापित बीएकेले विश्वस्तरीय भक्सवागन, बीएमडब्लू जस्ता कम्पनीलाई लिथियम ब्याट्री सप्लाइ गर्नुका साथै सन् २०१४ यता विद्युतीय कार, बस निर्माण गर्दै आएको छ ।
यसै कम्पनीले निर्माण गरेका विद्युतीय बस सुन्दर यातायात प्रालिले नेपाल भित्र्याएको हो । यी बसमा इ-पेमेन्टको सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।
झण्डै १३ करोड खर्चेर चार्जिङ स्टेशन र विद्युतीय बस भित्र्याएपनि सरकारले सञ्चालनका लागि बाटो बन्द राखेको सुन्दर यातायातका अध्यक्ष थापाको गुनासो छ ।
‘यातायात मन्त्रीले चासो दिएनन्’
आइतबार मात्र सुन्दर यातायातले उर्जा मन्त्री वषर्ामान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार्जिङ स्टेशन देखाएका छन् ।
उर्जा मन्त्री पुन र प्राधिकारीका कार्यकारी निर्देशक घिसिङ जतिसक्दो छिटो चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक देखिएपछि यातायात मन्त्री रघुवीर महासेठले वेवास्ता गरेको थापाको भनाइ छ ।
नीतिगत व्यवस्था गरिदिन मन्त्री महासेठलाई पटक पटक आग्रह गरेपनि आश्वासन दिएर टार्ने गरेको व्यवसायीको गुनासो छ ।
कम्पनीले ल्याएका बसमा जीपीएस, एसीको पनि सुविधा छ । सार्वजनिक सञ्चालनमा ल्याउन सके विद्यमान भाडादर भन्दा ३० प्रतिशत सस्तो हुने कम्पनीको भनाइ छ ।
हाल काठमाडौं उपत्कामा ४ किलोमिटरसम्म यात्रा गर्दा गाडी भाडा न्युनतम् १४ रुपैयाँ तोकिएको छ । त्यसमाथि ५ किमीसम्म १६ रुपैयाँ, ६ किमीसम्म १७ रुपैयाँ, ७ किमीसम्म १८ रुपैयाँ, १० किमीसम्म २१ रुपैयाँ र १६ किमीसम्मको भाडा २५ रूपैयाँ छ ।
तर, सुन्दर यातायातले १० किमीसम्म न्युनतम् १४ र त्यो भन्दामाथि अधिकतम् १८ रुपैयाँ भाडादर प्रस्ताव गरेको छ । जुन फाइल यातायात मन्त्रालयमा महिनौंदेखि थन्किएको व्यवसायीको गुनासो छ ।
भाडादर सरकारले नै तोक्ने भएपनि विद्यमान भन्दा धेरै सस्तो पर्ने भएकाले आफूहरुले प्रस्ताव पेश गरेको सुन्दर यातायातका अध्यक्ष कम्पनीको भनाइ छ । ‘पेट्रोल र डिजेल गाडी विस्थापित हुने डरले हो कि के हो मन्त्रीज्यु मौन हुनुहुन्छ’, थापा भन्छन् ।
नीतिगत व्यवस्था अत्यावश्यक
सरकारले तत्कालै विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्ने देखिएको छ ।
अहिले विद्युतीय सवारी चलाउनेहरुका लागि चार्जिङ स्टेशनको ठूलो समस्या छ । विद्युतीय सवारीको ब्याट्री सीमित दूरी पार गरेपछि फेरि चार्ज गर्नुपर्ने हुन्छ ।
नेपालमा ब्याट्री साटेर चलाउने व्यवस्था पनि आइसकेको छैन । त्यसैले अहिले चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारीधनीहरु हैरान छन् भने यसको प्रयोगका लागि उत्सुक रहेकाहरु पनि प्रोत्साहित हुन सकेका छैनन् । उर्जा मन्त्री पुनले चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक व्यवस्था गर्ने बचन दिएको छन् ।
तर, नीतिगत व्यवस्था यातायात मन्त्रालयसँग जोडिएकाले उर्जा र प्राधिकरणको सक्रियताले मात्रै हुने अवस्था छैन । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विद्युतीय चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रले अग्रसरता देखाउनु सकारात्मक भएको बताउँछन् ।
पेट्रोल पम्पजस्तै गरी विद्युतीय सवारीको चार्जिङ स्टेशन खोल्न दिन छुट्टै नीति नियम र निर्देशिका खाँचो परेको उनले बताए ।
शहर र राजमार्गहरुमा पेट्रोल पम्प जस्तै विद्युतीय चार्जिङ स्टेशन खोल्ने बाटो कानुनतः खुलिकसकेको छैन ।
त्यसैले अब एउटा स्पष्ट कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्नेबारे ऊर्जा मन्त्रालयमा प्राधिकरणले छलफल अघि बढाएको छ ।
‘सबैतिर प्राधिकरणले चार्जिङ स्टेशन खोल्न सक्दैन, निजी क्षेत्रको लगानी आउनुपर्छ,’ उनले भने’, विद्युतीय सवारीका लागि चार्ज गर्दा लाग्ने सुलभ रेट भने हामीले तोक्नुपर्छ । सवारी प्रयोगकर्तालाई प्रोत्साहन गर्ने गरी चार्जिङ स्टेशनको विजुलीको रेट तोकिनुपर्छ ।’
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले पनि विद्युतीय टेम्पोको चार्जिङलाई लक्षित गरेर यातायात वर्गको छुट्टै विद्युत महशुल रेट छ ।
उनी त्यसमा अझ सुधार गरेर विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् । पछिल्लो सयममा कार उत्पादक कम्पनीले पनि नेपालमा लक्षित गर्दै विद्युतीय कारहरु भित्र्याएका छन् । महिन्द्रा किया, हुण्डाई, टाटा लगायतका ब्राण्डले आˆना विद्युतीय कार नेपालमा ल्याइसकेका छन् ।
प्रतिक्रिया 4