+
+

‘इमोसनल ब्ल्याकमेल’ गर्ने ट्याक्सीहरुमाथि कारवाही गर्न निर्देशन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७५ चैत १३ गते १०:४९

१३ चैत, काठमाडौं । आजभोलि ट्याक्सीमा पछाडि भागमा कागजमा लेखेर टाँसिएको हुन्छ,’२०६९ सालको भाडादरमा ट्याक्सी चलाएर कसरी जीविका चलाउँ सरकार ?’ ट्याक्सी चालकले यही कागज टाँसेका भरमा यात्रुसँग झन चर्को भाडा असुल्न थालेको पत्तो पाएपछि सरकारले हटाउन निर्देशन दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्र लेख्दै यातायात व्यवस्था विभागले यस्तो टाँसिएका कागज उप्काउएर फाल्न र झठो प्रचार गर्ने ट्याक्सीमाथि कारवाही गर्न निर्देशन दिएको छ ।

सरकारले २०६९पछि तीनपटक ट्याक्सीको भाडादर समायोजवन गरेको छ । तर, ट्याक्सी चालक र व्यवसायीले यात्रुबाट थप असुली गर्ने नियतमा साथ यस्ता कागज टाँसेको निश्कर्षमा सरकार पुगेको छ ।

‘यसले भ्रम फैलायो, २०६९ पछि २०७१, २०७२ र २०७५मा गरेर पटक-पटक भाडादर बढाइएको छ,’ विभागमा निर्देशक गोकर्ण उपाध्यायले भने,’त्यस्तो झुटो लिखित कागज टाासेर यात्रुलाई भ्रमित पार्दै भाडा असुल्न पाइँदैन ।’

उनले यात्रुबाटै लिखित गुनासो आएपछि विभागले त्यसलाई हटाउन निर्देशन दिएको बताए । यस्तो किसिमबाट उपभोक्तालाई ‘इमोसनल ब्ल्यकामेलिङ’ गर्न नपाइने विभागको निश्कर्ष छ ।

ट्याक्सी चालक तथा व्यवसायीले पेट्रोलको मूल्य मात्रै हिसाव गरेर भाडा समायोजन गर्दा घाटाको अवस्था आएको बताएका छन् । उनीहरुले वैज्ञानिक तवरबाट ट्याक्सीको बढेको मूल्य, पार्टस् तथा लुबि्रकेन्टमा भएको मूल्यवृद्धि लगायतलाई ध्यानमा राखेर भाडा समायोजन गर्न माग गरेका छन् ।

सरकारले यसका लागि समिति बनाएपनि काम नभएको आरोप ट्याक्सी व्यवसायीको छ । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम हालको भाडादर निकै कम भएकाले ट्याक्सी चालकलाई मर्का नपर्ने गरी वैत्रानिक समायोजन गर्न माग गरेको बताउँछन् ।


‘हामीले भद्ररुपमा ट्याक्सीमा आफ्नो पीरमर्का लेखेर टाँसेका हौं,’ उनले भने,’सरकारले वैत्रानिक तवरले ट्याक्सी भाडा समायोजन गरोस्, घट्छ भने घटाइयो, बढ्छ भने न्यायोचित तवरले बढाइयोस् ।’

ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिए पनि त्यसको प्रयोग नगन्य मात्रै भइरहेको छ । ठगी नियन्त्रणका लागि सुरु गरिएको मिटर पि्रन्टर सिस्टम प्रयोग गर्न ट्याक्सीहरु अझै तयार भएका छैनन् ।

अहिले दैनिक ७० भन्दा बढी ठगी गर्ने ट्याक्सीलाई कारवाही गरिँदै आएको छ ।  कारवाहीको डरले ट्याक्सीमा जोडिएका मिटर र मिटर बिलिङ सिस्टम प्रयोगमा ल्याउन ट्याक्सी चालक र व्यवसायीले अटेरी गरिरहेका छन् । कतिपय ट्याक्सीले त अझै बिलिङ सिस्टम जोडेका छैनन् ।

धेरैले जोडिएको मेसिनसमेत प्रयोगमा ल्याएका छैनन् । बिग्रएको बाहाना बनाएर उनीहरुले यात्रुलाई ठग्ने प्रचलनमा थोरै पनि कमी नआएको निश्कर्ष ट्राफिक प्रहरीको पनि छ ।

बिल पि्रन्टर जोडेकाहरुले पनि त्यसलाई नचलाएको पाइए पनि सरकारी तवरबाट कारवाहीका लागि प्रभावकारी कदम चालिएको छैन । मौसमी रुपमा १ देखि ३ हजार जरिवाना तिरेर छाड्दा ट्याक्सी चालकहरुको मनोबल झनै बढेको छ । ट्याक्सीले पनि सकेसम्म मिटरमा जानै नमान्ने र मिटरमा गुडे पनि यात्रुलाई बिल नै नदिने गुनासो बढेको बढ्यै छ ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महंगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि बिलिङ प्रणाली जडान गर्न सुरु गरिएको थियो । तर, ब्यवसायीले यो सिस्टम एक पटक फेल भइसकेको भन्दै जडान गरे पनि प्रभावकारी नहुने दावी गरेका थिए ।

यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने सरकारको विश्वास थियो । तर, जति गर्दा पनि ट्याक्सीहरु सु”निै नसकेको ट्राफिक प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?