Comments Add Comment

अरुण तेस्रोमाथि प्रश्न : स्वदेशी पुँजीलाई ‘विदेशी लगानी’ भन्ने ?

यस्तो सम्झौताले बैंकिङ क्षेत्रमा तरलताको समस्या गहिरिने विज्ञको चिन्ता

१७ चैत, काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने उद्देश्य राखेर करोडौं खर्चेर शनिबार लगानी सम्मेलन सक्यो । यसै पनि नेपालमा कम आउने प्रत्यक्ष वैदेशिक लगानीलाई ‘नाम मात्रको’ बनाउन यो सम्मेलनले वैधता दियो ।

प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी भारतले निर्माण गर्ने अरुण तेस्रो जलविद्युत आयोजनामा स्वदेशी बैंकको पुँजी लगाउने गरी सम्मेलनको मञ्चमा सरकारकै संयोजनमा बैंकहरु र आयोजना प्रवद्र्धकबीच सहमतिपत्रमा हस्ताक्षर भयो ।

भारतीय लगानी भनिएको अरुण तेस्रो परियोजनामा दुई बैंकले १२ अर्ब ७० करोड १९ लाख रुपैयाँ लगानी गर्ने निश्चित भएको छ ।

भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी गर्ने सहमतिपत्रमा नेपालका नबिल बैंक र एभरेष्ट बैंकले शनिबार सम्झौता गरे ।

विदेशी लगानी भित्र्याउने मुख्य उद्देश्यसहित सरकारले आयोजना गरेको लगानी सम्मेलनको समापन समारोहमा विदेशी लगानीकै परियोजनामा एभरेष्ट बैंकले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ ऋण दिने गरी सम्झौता भयो ।

भारतीय लगानी भनिएको अरुण तेस्रो परियोजनामा दुई बैंकले १२ अर्ब ७० करोड १९ लाख रुपैयाँ लगानी गर्ने निश्चित भएको छ ।

अब यो परिपाटी बढ्दै गए नेपालको बैंकिङ क्षेत्रमा तरलताको समस्या झन गहिरिँदै जाने र स्वदेशी लगानीकर्ताले भविष्यमा पुँजी नै नपाउने अवस्था आउने चिन्ता निजी क्षेत्रलाई छ ।

लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै अरुण तेस्रोको परियोजना विकास सम्झौता भएको थियो । सम्झौताका आधारमा कम्पनीले संखुुवासभामा आयोजना निर्माण गरिरहेको छ ।

विज्ञहरु के भन्छन् ?

नेपालमा हाल वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीसँगै तरलताको अभाव छ । स्वदेशी लगानीकर्ताले नै बैंकबाट ऋण लिन पाएका छैनन् । बैंकहरुले ऋण प्रवाह गर्ने रकम नभएको माग अनुसारको लगानी गर्न सकिरहेका छैनन् । यस्तो बेला थोरै भएको तरलता पनि संकुचित हुने गरी विदेशी लगानीका लागि स्वीकृत परियोजनाहरुमा स्वदेशी बैंकबाट ऋण लगानी हुन थालेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सिद्धान्ततः विदेशी लगानीकर्ताले विदेशबाटै डलरमा पुँजी ल्याउनुपर्छ र परियोजनामा लगाउनुपर्छ । स्वदेशी बैंकलाई लगानी गर्न लगाउने हो भने त्यसलाई वैदेशिक लगानी भनेर दाबी गर्न नमिल्नेसमेत विज्ञहरु बताउँछन् ।

पूर्वअर्थमन्त्री डा. रामशरण महत विदेशीले जिम्मा लिएका परियोजनाहरुमा स्वदेशी बैंकहरुले कर्जा लगानी गर्न कानूनतः कुनै बाधा नपर्ने बताउँछन् । तर, विदेशी लगानी आउन सक्ने परियोजनामा यसरी स्वदेशी लगानी जुटाउँदा कालान्तरमा अर्थतन्त्रमा नकारात्मक प्रभाव भने पर्न सक्ने डा. महतको विश्लेषण छ ।

नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको समस्या भएका बेला यसरी लगानी हुँदा स्वदेशी उद्योगी व्यवसायीहरु समस्यामा पर्ने उनी बताउँछन् ।

‘भोलि विदेशी परियोजनाहरुले असफल भएर बीचमै छाडेर हिँडे भने समस्या हुन सक्छ,’ पूर्वअर्थमन्त्री महत भन्छन्,‘सकेसम्म विदेशी लगानीको परियोजनामा विदेशबाटै पुँजी ल्याउनुपर्छ ।’

अर्थराजनीतिक विश्लेषक तथा जलविद्युत प्रवद्र्धक व्यवसायी अरुण सुवेदीलाई पनि विदेशी लगानी भनेर डंका पिटिएका आयोजनामा स्वदेशी पुँजी लगाउने प्रचलन चित्त बुझेको छैन ।

उनले सतलज जलविद्युत निगमलाई विदेशी पुँजी नै भित्र्याउन लगाउनुपर्ने आशयको एउटा टिप्पणी गरेका छन् ।

‘तरलता र लगानीयोग्य रकमको अभावका बेला सतलज जलविद्युत निगमले स्थानीय बैंकहरुबाट कर्जा उठायो, यसमा स्थानीय विकासकर्ताहरुको अप्रत्यक्ष सहमति हो भने निर्णय फिर्ता लिनुहोस् र अरुणलाई विदेशी पुँजी ल्याउन बाध्य बनाउनुहोस् ।’

सुवेदीले भनेजस्तै विदेशी लगानी भित्र्याउनका लागि आयोजना गरिएको सम्मेलनमा स्वदेशी बैंकहरुले नै लगानी गर्ने गरी सरकारकै सहमतिमा किन सम्झौता गरियो भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी भनेको नै विदेशी पुँजी भित्र्याउने भएता पनि विदेशी लगानी भन्दै झ्याली पिट्ने तर, पुँजी भने स्वदेशी बैंकबाट उठाउने काम गलत भएको विज्ञहरुले बताउँछन् ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री स्वीकृत वैदेशिक लगानीको परियोजनामा विदेशी पुँजी नै आउनुपर्ने बताउँछन् । ‘विदेशी पुँजी नआएकालाई कसरी वैदेशिक लगानी भन्ने ?’ उनको प्रश्न छ ।

थोरै रकम विदेशीले लगानी गर्ने र धेरै रकम स्वदेशबाटै उठाउने प्रचलन उचित नभएको स्वदेशी लगानीकर्ताको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज क्षेष्ठ भन्छन्, ‘एफडीआई हामीलाई चाहिएको हो, त्यसमा पुँजी आउनुपर्‍यो, स्वदेशी बैंकले नै लगानी गर्ने हो भने त त्यसलाई एफडीआई नै भन्न मिल्दैन ।’

होङ्सीमा पनि स्वदेशी पुँजी

विदेशी लगानीको परियोजनामा नेपाली पुँजी लगाइएको यो पहिलोपटक भने होइन । वैदेशिक लगानी भित्रिएको भनिएको चिनियाँ कम्पनी होङ्सी शिवम् सिमेन्टमा पनि ठूलो राशिको रकम नेपाली बैंकहरुले नै लगानी गरेका छन् ।

होङसीले पनि ठूलो राशीमा नेपाली बैंकबाटै लगानी उठाएको छ । होङसी शिवम सिमेन्टमा नेपाली बैंकहरुले १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । एनएमबी बैंकको अगुवाइमा विभिन्न ५ बैंकले होङ्सी शिवम्मा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

होङसीलाई एनएमबीको अनुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गरिएको छ । एनएमबीले ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंक अफ चाइना र चाईनाकै मिङसेङ बैंकको जमानीमा विदेशी लगानीको परियोजनालाई नेपाली बैंकले स्वदेशी पुँजी कर्जा स्वरुप दिएका हुन् ।

विदेशी लगानी कसरी भन्नु !

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ नेपालकै बैंकहरुले लगानी गर्दा ‘विदेशी लगानी’ भन्न नमिल्ने बताउँछन् । कुल लगानीको अधिकांश रकम नेपाली बैंकले नै लगानी गरेका परियोजनाहरुले वैदेशिक लगानी भित्र्याएको भन्न नमिल्ने उनको भनाइ छ ।

अर्कोतर्फ नेपालको बैंकिङ क्षेत्रमा अहिले पनि लगानीयोग्य रकमको अभाव रहेकाले यस किसिमको लगानी वित्तीय तवरबाट उपयुक्त नभएको डेपुटी गभर्नर सिवाकोटीको भनाइ छ ।

यतिबेला बैंकिङमा ३० अर्ब रुपैयाँको हाराहारीमा तरलता रहेको जानकारी दिँदै उनले यो पर्याप्त तरलता भने नभएको बताए । उनले निक्षेपभन्दा कर्जा लगानी धेरै बढी रहेका कारण अहिले पनि लगानीयोग्य रकमको अभाव पुरै नहटिसकेको बताए ।

गत चैत १२ गतेसम्म ३१ अर्ब २ करोड निक्षेप संकलन भएको छ तर कर्जा २७ अर्ब ८० करोड लगानी भएको छ । गत असार मसान्तमा निक्षेप २८ अर्ब ३२ करोड थियो भने कर्जा २४ अर्ब १७ करोड थियो ।

यो अवधिमा निक्षेप ९.५ प्रतिशतले बढ्दा कर्जा १५ प्रतिशतले बढेको छ । ‘अवस्था हेर्दा विदेशी लगानीको परियोजनामा ठूलो पुँजी एकसाथ लगाउँदा भोलि पनि समस्या नदेखिएला भन्न सकिन्न,’ उनले भने ।

सरकारको ढुकुटीमा रहेको खर्च राम्रो भए थप तरलता भने आउन सक्ने डेपुटी गभर्नर श्रेष्ठ बताउँछन् । हाल खर्च हुन नसकेर सरकारी ढुकुटीमा १ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी थन्किएको छ ।

व्यवसायी भन्छन्– बेलैमा सोचौं

विदेशी लगानी भित्र्याउने भनेर स्वदेशबाटै पुँजी उठाउने कार्यप्रति स्वदेशी लगानीकर्ता सन्तुष्ट छैनन् । तरलता अभाव व्यापक भएको भन्दै बैंकहरुले नेपाली उद्योगीलाई कर्जा दिन नसक्ने तर विदेशी ठूला परियोजनामा लगानी गर्नेप्रति उनीहरुको असन्तुष्टि छ ।

उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका सदस्य अञ्जन श्रेष्ठ बैंक ग्यारेन्टीका भरमा स्वदेशी बैंकहरुले विदेशी लगानी भित्र्याउने भनेको प्रोजेक्टमा लगानी गर्नु नै गलत भएको बताउँछन् । हरेक वर्ष दशैंतिहारलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभाव भएर समस्या झेलिरहेका बेला यस किसिमको लगानीले झन समस्यामा पार्न सक्ने श्रेष्ठको भनाइ छ । उनले प्रश्न छ, ‘यसरी लगानी गर्न हाम्रो वित्तीय प्रणालीमा पर्याप्त पुँजी खै ?’

नेपालीले कस्तो किसिमको वैदेशिक लगानी चाहेको हो भन्ने विषयमा सरकारले सोच्नु पर्ने उनले बताए । प्रधानमन्त्रीले दोहोरो अंकको आर्थिक वृद्धि गरेरै छाड्ने बताउँदै आएको भन्दै उनले यसका लागि स्वदेशी लगानीकर्ताले पर्याप्त पुँजी प्राप्त गर्ने वातावरण बन्नुपर्ने उनको तर्क छ ।

‘प्रधानमन्त्रीले दोहोरो अंकको आर्थिक वृद्धि भन्नुहुन्छ । लगानीका लागि पुँजी खै ? पुँजी त हुनुपर्‍यो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीलाई पुँजीको समस्या छ, होङ्सीमा आएजस्तो ग्यारेन्टीमा आउने लगानी नेपालले चाहेको हो कि होइन, त्यो सोच्नुपर्‍यो, के त्यस्तै वैदेशिक लगानी हामीलाई चाहिएको हो र ?’

यस विषयमा आफूले विभिन्न मञ्चमा समेत विषय उठान गर्ने गरेको भन्दै श्रेष्ठले भोलि अरु विदेशी लगानीकर्ता पनि यसरी नै आए भने नेपाली बैंकहरुले लगानी नै गर्न नसक्ने उनले बताए । यस विषयमा बेलैमा सोच्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment