+
+

श्वेताको पहलमा ठडियो माझी वस्ती

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते २०:३०

२८ चैत, काठमाडौं । अनेकन् रोगले थिलथिलो बनाएको ज्यानलाई पारिलो घाममा सेकाएर टहरोछेउ टुक्रुक्क बसेका छन् पदमबहादुर माझी । बिनाशकारी भूकम्पपछि आश्रय लिएको यही सानो टहरोमा कुँजिएर उनले चार हिउँद काटिसके ।

यो छाप्रोले न चिसो सिरेटो थेग्न सक्छ, न दर्के झरी । कहिले रुझ्दै, कहिले कठ्याङ्ग्रिँदै प्राण जो धान्नुपरेको छ । ‘यो जुनी यसै बित्यो,’ बुढ्यौली यात्रामा हिँडिरहेका पदमबहादुरलाई लाग्न थालेको छ, ‘अरु जे भए पनि सुविस्ताले मर्न पाए हुन्थ्यो ।’

इन्द्रावतीको छालसँग खेल्दै हुर्किएका पदमबहादुरको जीवन एकनास रहेन । उनका रहरहरु कहिले छालमा तैरिए, कहिले भुँमरीमा फसे । त्यो एकलासे खोली–किनारमा न उनको सपना अंकुराउन सक्यो, न जीवनको अवयव तंग्रिन सक्यो । तातो बालुवामा घोटिएरै ६८ बर्ष निख्रियो । नियति नै उस्तो हो कि, आफ्नो कर्म ? खुट्याउन समर्थ भएनन् ।

ठीक सामुन्नेको दृष्यले भने उनलाई आशावादी बनाइरहेको छ । त्यहाँ रहरलाग्दा घरहरु ठडिएका छन् । एउटै रुपरंगका । उस्तै साजसज्जाका । झट्ट हेर्दा कुनै सुन्दर चित्राकृति जस्तो ।

पदमबहादुरले सायदै सोचेका थिए, यो बगरमा यति लोभलाग्दो वस्ती बन्नेछ । नसोचेको भइदियो, जब अभिनेत्री श्वेता खड्का फिल्मी शैलीमा त्यो एकलासे ठाउँमा पाइला टेक्न पुगिन् ।

****

कहिलेकाहीँ अनपेक्षित सपना छाँद हाल्न आइपुग्छन् । त्यस्तै भयो, भूकम्पपीडित माझीहरुलाई । दुःखजिलो गरेर बनाएको घर भूकम्पले ध्वस्त बनाइदिएपछि उनीहरु रित्तिएका थिए । ओत लाग्ने छानो थिएन ।

यस्तैबेला वस्तीमा केही सुकिला अनुहार देखापरे । कतै देखेजस्तो, कतै चिनेजस्तो । उनीहरुले सुने, उनीहरुमध्ये एक जना फिल्मकी ‘हिरोनी’ हुन् । उनै हिरोनीले भनिन्, ‘तपाईंहरुका लागि सिंगो वस्ती बनाउन सहयोग गर्नेछु ।’

एउटा घर होइन, सिंगो वस्ती । सुनेर माझीहरु गद्गद् भए । हिरोनी श्वेता खड्कालाई फूलमाला लगाइदिए ।

गलाभरी पहि¥याइदिएका फूलमालाले हिरोनीको अनुहार ढाक्यो । र, गहभरी टिलपिल आँशु छचल्कियो । उनले दिवंगत श्रीमान् श्रीकृष्ण श्रेष्ठको तस्वीरलाई छोएर भावविह्ल हुँदै भनिन्, ‘उहाँको समाजसेवा गर्ने अधुरो चाहना बोकेर यहाँ आएकी छु ।’

दुःख, अभाव र कष्टसँग गुज्रिएका माझीहरुमा उमंग प्रकट भयो । उनीहरु नयाँ घर पाउने खुसीले नाचे । इन्द्रावतीको सम्मुख ४ सय ५६ वर्गफिट क्षेत्रफलमा एकीकृत वस्ती बन्ने भयो ।

****

विवाहलगत्तै पतिवियोग खेपेकी श्वेता भर्खर सम्हालिन थालेकी थिइन् । फिल्ममा फर्किने चाँजो मिलाउँदै थिइन् ।

एक दिन उनका दाइ रवीन्द्र खड्का (कलाकार) ले एक व्यक्तिसित उनको भेट गराए, जो थिए सिन्धुपाल्चोकका सामाजिक कार्यकर्ता यज्ञराज कार्की । कार्कीले श्वेतालाई भूकम्प प्रभावित माझी वस्तीको कथा–व्यथा सुनाए ।

०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको साविक ठूलो सिरुवारी–९ (हाल चौतारा साँगाचोकगडी नगरपलिका–१४) मा ५६ माझी परिवार रहेको वस्ती ध्वस्त बनाएको थियो । भाग्यवाश मानवीय क्षति भने भएन । भूकम्पपछि गाउँलेहरु टहरो बनाएर बस्न थाले ।

सरकारले भूकम्पमा घर भत्केका परिवारलाई पहिलो किस्तामा ५० हजार रुपैयाँ दियो । तर, यति रकमले घर बनाउने अवस्था थिएन । त्यसैले गाउँलेहरुले सल्लाह गरेर यो पैसा खर्च नगरी संयुक्त खाता बनाएर बैंकमा राखे । उनीहरु कसैले आएर घर बनाउला सघाइदेला भनेर आशैआशमा दिन बिताउन थाले ।

तर कोही आएन । काठमाडौंबाट जम्मा ७० किलोमिटर टाढाको माझी वस्तीमा सरकारको आँखै परेन । कार्कीले यो गाउँको दुर्दशा देखेपछि वस्ती पुनर्निमाणका लागि धन र मन भएकाहरुको खोजीमा जुटेका थिए । उनी धेरै ठाउँ धाए । केही सेलिब्रिटीहरु कहाँ पनि पुगे तर, कसैबाट आश्वासन पाएनन् ।

उनले दुःखी माझीहरुको कथा सुनाएपछि श्वेताको मन पग्लियो । समाजका लागि केही गरौं भन्ने पहिलेदेखि उनको मनमा थियो । दिवंगत श्रीमान श्रीकृष्णको गृहजिल्ला भएकाले उनी यसमा अघि बढ्न प्रेरित बनिन् । २०७३ सालको माघमा श्वेता केही सहयोगीहरुसहित माझी वस्तीको स्थलगत भ्रमणमा पुगिन् ।

गाउँलेहरुले उनको न्यानो स्वागत गरे । आफ्नै छोरी/बुहारीको रुपमा आत्मियता प्रकट गरे । गाउँलेहरुको त्यो व्यवहार र आफूमाथि गरिएको अपेक्षाले श्वेतालाई गम्भिर बनायो । माझीहरुको दयनीय जीवन आफ्नै आँखाले देखिन उनले । सामान्य पानी र हावा पनि थेग्न नसक्ने टहराभित्र जीवन अति कष्टकर थियो । श्वेताले तत्काल निर्णय लिइन् यो वस्तीलाई उठाउन लागिपर्ने ।

त्यसपछि उनले गाउँलेहरुबीच घोषणा गरेकी थिइन्, ‘तपाईंहरुको वस्ती पुनर्निर्माणमा म सहयोग गर्नेछु ।’

श्वेता भन्छिन्, ‘मैले धन भएर होइन, मन भएर यो निर्णय लिएकी थिएँ । तर, बोलेको कुरा जसरी पनि पुरा गर्ने अठोट थियो ।’

****

वस्ती त बनाउने तर, आर्थिक स्रोत कसरी जुटाउने भन्ने प्रश्न खडा भयो । सरकारले प्रत्येक भूकम्पपिडित परिवारलाई आवास निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान दिने भनेको थियो । अनुदानको सम्पूर्ण रकम एकीकृत वस्तीमा प्रयोग गर्न गाउँलेहरु खुशीसाथ सहमत भए । तर, ३ लाखले मात्रै घर बन्नेबाला थिएन ।

त्यसपछि प्रत्येक परिवारले ४ लाख रुपैयाँ बैंकबाट सहुलियत ऋण लिने समझदारी बन्यो । नयाँ घरमा बस्ने सपना देखेका भूकम्पपीडित ४ लाखको ऋणको बोझ बोक्न तयार भए । यसरी प्रत्येक परिवारका लागि ७ लाखमा मोटामोटी घर बन्ने आँकलन गरियो ।

यसबाहेक वस्तीमा चाहिने अन्य पूर्वाधारका लागि लाग्ने खर्च आफूले जुटाउन श्वेता तयार भइन् ।

काठमाडौं फर्किएर श्वेताले श्वेताश्री फाउन्डेसन स्थापना गरिन् । भूकम्प पुनर्निमाण प्राधिकरणसँग छलफल गरिन् । पब्लिक प्राइभेट पार्टनरसीप ( पीपीपी) मोडलमा वस्ती निर्माण गर्ने विषयमा प्राधिकरणसँग फाउन्डेसनको समझदारी भयो । २०७३ जेठ १५ गते महिनामा वस्ती शिलान्यास भयो । प्राधिकरणका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) गोविन्द पोखरेल आफैं शिलान्यास कार्यक्रममा पुगेका थिए ।

शिलान्यास भए पनि काम तत्काल सुरु हुन सकेन । जग्गाको बाँडफाँट र सट्टापट्टामा समय लाग्यो । कतिपय स्थानीयवासीको ४ पुस्तादेखि नै जग्गा नामसारी नभएको अवस्था थियो । सबै मिलाउँदा काम सुरु गर्न केही ढिलाई भयो ।

सुरुमा १६ वटा घर बनाएर दशैं अगाडि हस्तान्तरण गर्ने भनिएको थियो तर, न सरकारबाट समयमा अनुदान आयो न बैंकबाट ऋण । वर्षात सुरु भएपछि बाटो बिग्रियो । त्यसैले जेठमा शिलान्यास गरिएको वस्तीको निर्माण असोजमा मात्रै सुरु भयो ।

वस्ती निर्माणका लागि प्रति घर सात लाख रुपैयाँमा सिन्धु क्रियटिभलाई जिम्मा दिइएको थियो तर, समयमा पैसा नपाएको भनेर ठेकेदार कम्पनीले बीचमै काम छोड्यो ।

स्थानीय उपभोक्ता समिति बनाएर निर्माण अघि बढ्यो । गाउँवासीहरुलाई नै ज्याला दिएर श्रमिकका रुपमा प्रयोग गरियो । एक घरबाट एक श्रमिक अनिवार्य गरिएको थियो । आफैं बस्ने घर बनाउनका लागि गाउँवासी दिलोज्यानले जुटे ।

लक्ष्मी बैंकले समयमा ऋण उपलब्ध नगराएपछि पैसाको संकट प¥यो । काम सुचारु हुन सकेन । श्वेता अन्यत्रबाट महंगोमा ऋण लिन वाध्य भइन् । यही क्रममा उनले आफ्नो गोदावरीमा रहेको घर पनि सहकारी संस्थामा बन्धकी राखेर ४५ लाख ऋण लिइन् । यो घर अहिले पनि फुकुवा भएको छैन ।

यो उनले विवाहअघि नै आफ्नै कमाईले बनाएको घर हो ।

वस्ती निर्माणमा श्वेताले बाहिरबाट आर्थिक सहयोगको अपेक्षा गरेकी थिइन् । तर, सहयोग जुटाउन अभियान भने चलाइनन् । उनलाई कतिपय व्यक्ति र संस्थाले स्वेच्छिकरुपमा सहयोग गरे । त्यसले केही भरथेग ग¥यो । सरकारबाट थप अनुदान रकम प्राप्त भयो र, वस्ती निर्माणले गति लियो ।

तर, लक्ष्मी बैंकले भने अझै ७० प्रतिशत परिवारलाई ऋण दिन बाँकी छ । त्यसैले श्वेता व्यक्तिगत ऋणको बोझले थिचिएकी छिन् । व्यक्तिगत ऋण कति छ भन्ने चाहिँ खुलाउन चाहन्नन् ।

‘यो मैले मनले गरेको काम हो, त्यसैले ऋणको हिसाब गरेर बसेकी छैन,’ उनी भन्छिन्, ‘बस्ति निर्माण पूरा गरेर हस्तान्तरण गर्न पाए मेरो ठूलो बोझ हलुका हुनेछ ।’

वस्तीको काम अहिले अन्तिम चरणमा छ । सबै घरहरुको रंगरोगन सकिएको छ । फिनिसिङका कामहरु बाँकी रहेको श्वेताले बताइन् ।

माझी वस्तीमा ५३ वटा भूकम्प प्रतिरोधस् घर छन् । जस्ताले छाएका एकतल्ले पक्की घरभित्र ३ कोठा र एक शौचालय छन् । अगाडि बरण्डा र पछाडि करेसाबारी छ ।

सरकारले एकीकृत वस्ती निर्माण गर्दा विभिन्न पूर्वाधारहरुका लागि ४ लाख रुपैयाँ दिने व्यवस्था गरेको छ । यो रकम निकासाका लागि अहिले श्वेताले पहल गरिरहेकी छन् ।

सरकारबाट रकम प्राप्त भएपछि वस्तीको बाटो, ढल, साझा शौचालय, पार्क, उद्यान, नाला, मन्दिर, सामुदायिक भवन लगायत बनाउने योजना छ । यसका लागि अहिले डीपीआर र सर्भे भइरहेको छ । वस्ती निर्माण सम्पन्न हुँदा ८ करोड रुपैयाँ लागत पुग्ने अनुमान छ । ‘हामीले दिर्घकालीन हिसाबले सबै कुरा सोचेर वस्तीको डिजाइन गरेका छौं । कुनै पनि कुरामा कम्प्रोमाइज गरिएको छैन,’ श्वेताले भनिन् ।

****

ऋण तथा अनुदान समयमा प्राप्त नहुनु र अन्य अवरोधले वस्ती निर्माणमा ढिलाई भयो । त्यसैले श्वेताले समयमा काम गर्न सकिनन् भनेर आलोचनाका स्वर पनि सुनिए । कतिपयले अनियमितताको आरोप पनि लगाए ।

यसबाट उनी कत्तिको विचलित भइन् ? ‘अहँ पटक्कै भइनँ,’ श्वेता भन्छिन्, ‘आलोचनाले मलाई कमजोर होइन, झन् बलियो बनाउँथ्यो । आफ्नो उद्देश्यप्रतिको अठोट प्रगाढ हुन्थ्यो ।’

आलोचनाबाट विचलित नभई श्वेता आफ्नो कर्ममा लागिरहिन् । उनले धेरै हण्डरहरु पनि खानुपर्‍यो । सरकारी निकायहरुमा धाउँदाधाउँदा खुट्टा गले । सहयोगका आश्वासन दिएका थुप्रैले मुन्टो बटारे । कतिले उनको उपहास पनि गरे ।

‘मैले जेजस्तो सहयोगको अपेक्षा गरेको थिएँ, त्यो प्राप्त भएन । त्यसैले धेरै दायित्व आफ्नो टाउकोमा आयो,’ श्वेता भन्छिन्, ‘यो वस्ती निर्माण गर्दा धेरै पाठ सिकेँ । तितामिठा अनुभव भए । वस्ती हस्तान्तरणको क्षण मेरो जीवनकै अविष्मरणीय हुनेछ । मेरो श्रीमानलाई साँचो श्रद्धान्जली पनि त्यही हुनेछ ।’

अझै केही काम बाँकी छन् । सरकारबाट आउने रकम प्राप्त भएपछि काम पूरा हुने उनी बताउँछिन् । दशैं अगाडि जसरी पनि वस्ती हस्तान्तरण गर्ने योजना छ उनको ।

श्वेता अगाडि भन्छिन्, ‘यो मैले मात्रै बनाएको वस्ती होइन । मैले समन्वय गरेकी मात्र हुँ । सरकारसँग मिलेर काम गरेकी छु । सहयोगी हातहरु छन् । उहाँहरु सबैप्रति ऋणी छु ।’

धेरै समस्याहरु आएपछि कुनै समय बेकार थालेछु भन्ने कहिल्यै लागेन ? भन्ने प्रश्नमा श्वेता भन्छिन्, ‘अहँ, म कुनै काम सुरु गरेपछि त्यसलाई टुंगोमा नपुर्‍याई थकाई मार्दिन । जसरी पनि वस्ती निर्माण गरेरै छोड्छु भन्ने आत्मबल थियो ।’

अहिलेसम्म आफ्नो कम्पनीमार्फत थुप्रै कन्स्ट्रक्सनका काम गरेपनि माझी वस्ती निर्माण सम्पन्न हुँदै गर्दा बेग्लै आत्मसन्तुष्टिको मिलेको श्वेताले सुनाइन् । ‘अन्य निर्माण कार्यहरु गर्दा पैसा कमाएँ होला, माझी वस्ती बनाएर चाहिँ माया कमाएकी छु,’ उनले भनिन् ।

****

हरेक दिन उनी झुपडीबाट उसैगरी बाहिरिन्छन् पदमबहादुर । सामुन्नेको बस्तीमा नजर डुलाउँछन् र, मुसुक्क हाँस्छन् ।

शरीर दिनदिनै गल्दै गएको छ, थाक्दै गएको छ । ‘के–के हो, के–के औषधी खानुपर्छ’ उनी सुनाउँछन्, ‘कतिथरी रोग लागेको छ ।’

उनलाई गल्दै गएको आफ्नो शरीरको जति चिन्ता छ, उत्ति नै चिन्ता छ अघिल्तिर बनिरहेको वस्तीको । ‘पहिले सोत्तर काटेर छाप्रो हालिन्थ्यो, त्यसमै गुजारा चल्यो,’ उनी भन्छन्, ‘अब नयाँ घरमा बस्न पाइने भएपछि मनमा बेग्लै खुशी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?