आइतबार मध्यान्न १२ बजे खुलामञ्च पुग्दा त्यहाँ आँधिपछिको सन्नाटा जस्तो माहोल थियो । एक दिन अगाडिको डोजरले भत्काएका टहराहरु लठिभद्र अवस्थामा थिए ।
वीर अस्पताल पूर्वबाट खुल्लामञ्च छिरेर भत्काइएका टहरा नियाल्दै अगाडि बढ्दा भेटिए नेत्रबहादुर खत्री ।
पहेँले रङ्गको केही पुरानो जस्तो देखिने टिसर्ट र खुट्टामा चप्पल लगाएका उनी पसिनाले निथ्रुक भिजेका थिए । उनी आफ्नो पसलको भग्नावशेषबाट टिनका पाता तान्दै थिए । सुरुमा उनले कुराकानीमा अरुची प्रकट गरे । ‘पत्रकारसँग बोलेर पार लाग्दैन’ भन्दै पन्छिन खोजे ।
तर, निकै फकाएपछि आफ्नो कथाको पोको खोल्न थाले । कुराकानीका क्रममा निकै भावुक पनि भए ।
उत्तरी दोलखाको खावा, हाल जिरी नगरपालिका ५ मा जन्मेका हुन् नेत्रबहादुर । उनको परिवारको आलु, कोदो र मकै मात्रै उब्जाउ हुने ५ रोपनी पाखोबारी थियो । मरिहत्ते गरेर खेती गर्दा ३ महिना मात्रै घर चल्थ्यो । घुँडाको सदाबहार बिरामी बाबु र घरको नाजुक अवस्थाले ८ बर्षकै उमेरमा नेत्रबहादुरले दोलखा छोडे ।
उमेरले ५५ टेक्दै गरेका नेत्रबहादुरले भन्छन्, ‘फुटपाथमा नाङ्लो थापेर धेरै हिउँद काटियो । अब बुढेसकालमा एउटा सटर रुँघेर पेट पाल्ने आशा थियो । तर किनेको १३ दिनमै सरकारले ध्वस्त पारिदियो ।’
सुनकोशी र तामाकोशी किनारमा बालुवा बोके । यहीँ भेटिएका आफन्तको पछि लागेर काठमाडौं आए । यहाँ पनि खोला छेउमा केही बर्ष बालुवा बोकेरै जिबिका चलाए । यही बीचमा बिहे गरे । विवाहपछि दायित्व थपियो । घर बसेर गुजारा चल्ने अवस्था थिएन । श्रीमती छोडेर काठमाडौं आए, अनि सुरु गरे फुटपाथमा ब्यापार ।
फुटपाथको संघर्ष
काठमाडौंमा मानिसको बाक्लो आवातजावत हुने ठाउँ वीर अस्पताल र पुरानो बसपार्क क्षेत्र । डुल्दै गर्दा उनले यहाँ केही मानिसहरुले फुटपाथमा पसल चलाइरहेको देखे । यसैबाट जिविका चलाउने सोचे तर, साथमा पैसा थिएन । केही दिनसम्म बसपार्क ओहोरदोहोर गरेर पसल चलाउने सबै तरिका बुझे ।
यही क्रममा एक दिन एक ब्यापारीको पछि लाग्दै कालिमाटी गए । त्यहाँ सबै हेरिसकेपछि थाहा पाए, बिग्रेका र टुटफुट भएका फलफूल निकै सस्तोमा पाइँदो रहेछ । ‘पहिलो दिन एक सय रुपैयाँ तिरेर भाँचिएका केरा पोको पारेर ल्याएँ । ३ टुक्रा केरालाई दुई रुपैयाँका दरले बिक्री गर्दा लगानीको आधा जति नाफा निस्कियो,’ उनी सुनाउँछन् ।
केराका टुक्रा त बिक्ने रहेछ भन्ने मैले राम्रो सामान ल्याउँदा झन् राम्रो नाफा हुने अनुमान गरे उनले ।यसबाट हौसिए नेत्रबहादुर । उनलाई लाग्यो, अब फुटपाथमा ब्यापार गरेर मज्जाले जिविकोपार्जन गर्न सकिन्छ ।
अनि सद्दे केरा ल्याउन थाले । ल्याएको केही बेरमै सकिन्थ्यो । दिनमा चार पटकसम्म कालिमाटी पुग्नुपर्ने भयो । केरापछि अंगुरतिर पनि लागे । केरा र अंगुरको डालामा हालेर वीर अस्पतालको छेउछाउदेखि पुरानो बसपार्कसम्म पुगेर बेच्न थाले । यो ब्यापारले परिवारको आर्थिक जोहो टार्न उनलाई सजिलो भयो ।
ब्यापारले घर चल्दै थियो तर, श्रीमतीबाट बच्चा नहुँदा उनी तनावमा थिए । त्यसपछि पारिवारिक सहमतिमा नै दोस्रो बिहे गरेको उनी बताउँछन् ।
दोस्रो श्रीमतीबाट भटाभट बच्चाहरु जन्मिन थाले । एकपछि अर्को गर्दै ६ वटा बच्चा परिवारमा थपिए । दुई श्रीमती र ६ बच्चा सहित परिवार संख्या नौ पुग्यो । श्रीमतीहरुलाई पनि यही पेशामा लगाए । कुनै दिन राम्रै ब्यापार हुन्थ्यो, कहिले ठिकठिकै तर परिवार चलेकै थियो ।
नाङ्लो र डालोमा बिहानैदेखि राति अबेरसम्म केरा र अंगुर बेच्दा मनमा असन्तुष्टि थिएन ।
तर, नगर प्रहरीले दुःख दिन थाल्यो । टुँडीखेल-खुल्लामञ्च क्षेत्रमा फुटपाथ ब्यापार गर्नेलाई भृकुटीमण्डपमा सरियो । त्यतिबेला पैसा नभएकाले त्यहाँ ठाउँ ओगट्न नसकेको नेत्रबहादुर बताउँछन् । पुरानो बसपार्कमा एक जना ठेकदारले छाप्रोमा ठाउँ मिलाई दिए । करीब २२ वर्ष सोही छाप्रोबाट उनले फलफूल बेचे ।
बिस्तारै अलिकती पैसा जम्मा गर्न सक्ने अवस्थामा पुगे उनी । सरकारी स्कुलमा पढ्ने छोराछोरीलाई एक बर्ष बोर्डिङ स्कुलमा भर्ना गरे । तर खर्च धान्न नसकेपछि फेरि निकाले ।
सपरिवार एकै ठाउँमा बस्थे । केटाकेटी हुर्किँदै थिए । उनीहरु पनि पसल हेर्न सक्ने भइसकेका थिए । त्यसैले नेत्रबहादुरले आफ्नो व्यापार विस्तार गर्ने सोचे । छाप्रोमा कपडा व्यापार गर्ने योजना बनाए । अर्को पसलको मालिकलाई पछ्याएर होलसेलसम्म पुगे ।
केही समयपछि पुरानो बसपार्कमा कपडाको पसल सुरु गरे । त्यही रहँदारहँदै ४ जना छोराछोरीले सरकारी स्कुलबाटै १२ कक्षासम्मको पढाई पुरा गरे । कान्छी छोरी अहिले १२ कक्षाको परिक्षा दिँदैछिन् । एउटा छोरो स्कुल पढ्दैछन् ।
विपत्तिको श्रृंखला
२२ वर्ष बसपार्कमा बिताएका नेत्रबहादुर त्यहाँबाट पनि लखेटिनुपर्यो । र, त्यही समयमा उनलाई अर्को विपत्ति थपियो । जेठी श्रीमतीलाई फोक्सोको क्यान्सर देखियो ।
राम्रै ब्यापार भइराखेको ठाउँबाट लखेटिनु र श्रीमतीलाई गम्भिर रोग लाग्नुले पारिवारिक अवस्था डामाडोल बन्यो। झोलामा फलफूल किलो-किलो बनाएर बेच्दै श्रीमतीको उपचार गरे ।
‘तर, श्रीमती पनि रहिन । सम्पत्ति पनि सकियो । थुप्रो ऋण लाग्यो,’ मलिन अनुहारमा नेत्रबहादुरले भने ।
पुरानो बसपार्कबाट उनी खुल्लामञ्चभित्र गए । तर, पहिलेजस्तो सजिलो ब्यापार यता भएन । भित्र ठेकदारले नदिने बाहिर फुटपाथमा महानगर प्रहरीले ।
दिनको ५/६ सय कमाउन पछिल्लो ३ बर्षदेखि उनी दैनिक ठेकदार र महानगर प्रहरीसँग पौठेजोरी खेलिरहेका थिए । उमेर बढ्दो थियो, जानेको काम यही थियो ।
त्यही बेला बसपार्कका ठेकदारमध्येका एक राजु श्रेष्ठले त्यहाँ सटर बनाउने कुरासुनाए । महानगरसँग सहमति भइसकेको भनेर सटर किन्ने भए १६ लाख रुपैयाँ जम्मा गर्न भने । उनलाई पनि लाग्यो, सँधै यसरी भागदौड गरेर चल्दैन । ऋणधन गरेर भएपनि सटरमा बस्ने सोचे । परिवारको सल्लाह पनि पसल किन्ने नै भयो ।
‘ठेकदार राजुले पहिले एक लाख रुपैयाँ अगि्रम भुक्तानी लिए, पछि १० लाख लिए । रकम दिँदा केही कागज गरौं न भन्दा सबै रकम भुक्तानीपछि मात्रै रसिद दिने बताए,’ नेत्रबहादुरले भने ।
थप्छन्, ‘मलाई मात्रै होइन, यहाँ सटर किन्ने कसैलाई पनि पैसा लिएको कुनै रसिद राजुले दिएका छैनन् । यहाँको स्थानीय मान्छे, सँधै देखे-चिनेको भएकाले विश्वास पनि गरियो । यहाँ सबैको पैसा बुझ्ने र सटर डील गर्ने मान्छे राजु श्रेष्ठ नै हुन् ।’
ठेकेदारले अवैध तरिकाले सटर बनाएर आफूहरुलाई बेचेको नेत्रबहादुरले मेसो पाएनन् ।
११ दिन अगाडि पसल सुरु गरे उनले । तर, शनिबार एकाएक डोजेर पसेपछि नेत्रबहादुरको हंशले ठाउँ छोड्यो । हतार-हतार केही सामान निकाले । उनको आँखै अगाडि ‘सपनाको सानो संसार’ खण्डहर भयो । उनले बलिन्द्र धारा आँशु झरे ।
यतिबेला नेत्रबहादुर घरको न घाटको भएका छन् । पसलका कपडा र फलफूल बागबजारमा रहेको साँघुरो कोठामा लगेर थुपारेका छन् । यहाँबाट कहाँ जाने केही सोच्न सकिरहेका छैनन् । ‘आफन्त र साथीभाइसँग बिन्तीभाउ गरेर ऋण लिएको थिएँ । अब यत्रो पैसा कसरी तिर्ने ? उनी प्रश्नमाथि प्रश्न गर्छन्, पैसा दिएको कुनै प्रमाण छैन । पैसा फिर्ता नपाए के गर्ने ? घर कसरी चलाउने ?”
‘हामी परिवन्दमा पर्यौं हजुर । सटर बन्दै गर्दा सरकारले रोकेको भए सायद हाम्रो यो विचल्ली हुने थिए,’ नेत्रबहादुरले पसिना र आँशु एकैसाथ पुछे ।
प्रतिक्रिया 4