
२२ असार, काठमाडौं । भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाउने भएको छ । यो त्यही कम्पनी हो, जसलाई सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको छ ।
८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै १ अर्ब ८४ करोड -भ्याटसहित) रकम घटेर ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको टेन्डर हालेको थियो । रमणले चीनको ग्वाङ्डोन-युनाटियनसँग मिलेर जेभीमा यो परियोजनाका लागि टेन्डर हालेको थियो ।
आयोजनाले त्यसलाई नै सदर गर्दै सम्झौताका लागि बोलाएको छ ।
रमण कन्सट्रक्सन बलराम महतोको कम्पनी हो ।
यो कम्पनीले पछिल्लो समय ठूला ठेक्काहरु पारेपनि कतिपय आयोजनामा विवादित मात्र छैन, सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर समेत गरेको कम्पनी हो ।
हुलाकी राजमार्ग अन्तरगत नारायणी नदीमाथि बनाउनु पर्ने पुल समयमै नबनाएका कारण सडक विभागले रमण कन्सट्रक्सनलाई कारबाही गर्ने तयारी भइरहेको थियो । तर कालो सूची राखेको सूचना निकाल्ने तयारी भइरहेका बेला रमण कन्सट्रक्सन सडक विभागलाई नै विपक्षी बनाएर अदालत गएको छ ।
यो मुद्दा अदालतमा विचाराधीन भएको भन्दै सडक विभागका अधिकारीहरु कालोसूचीबारे बोल्न मान्दैनन् ।
हुलाकी राजमार्ग निर्देशनालय स्रोतका अनुसार रमण-पप्पु जेभीले २०६९ मा ठेक्का लिएको पुल सम्झौताअनुसार २०७३ मा निर्माण सक्नुपर्ने हो । तर, काम नै सुरु नभएपछि यही १६ असारमा सम्झौता खारेज गर्ने निर्णय भएको थियो ।
धरहरा पुर्ननिर्माणमा पनि रमण कन्सट्रक्सनको काम सन्तोषजनक देखिएको छैन । त्यही कम्पनीलाई भेरी बबई डाइभर्सन आयोजनाका हेडबक्स लगायतका संरचना निर्माणको ठेक्का दिनु जोखिमपूर्ण हुनसक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।
भेरी बबई डाइभर्सन आयोजनाको सुरुङको गत चैतमा नै ‘ब्रेक थ्रु’ भएको थियो । अब दोस्रो प्याकेजमा बाँध, विद्यृत गृह, सर्ज ट्रयाक निर्माण गर्न लागिएको छ । यो प्याकेजको ठेक्का पाउने कम्पनीले भेरी नदीमा पुलसहित बाँध बनाउनुपर्छ ।
यो बाँध निर्माण गर्न ५ वर्ष समय लाग्ने अनुमान छ । भेरी बबई आयोजना डाइभर्सन आयोजनाबाट हात्तीखालमा ४६.८ मेगावाट विजुली पनि उत्पादन गर्ने योजना छ ।
भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण हुनेछ । मुख्य रुपमा सिँचाईका लागि बनाइएको यो आयोजनाबाट वाषिर्क करीब चार अर्ब ३ करोड बराबरको विजुली उत्पादन हुनेछ ।
यो पुरै आयोजना सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९र८० सम्म सक्ने दावी गरिएको छ ।
प्रतिक्रिया 4