+
+

चुनावमा चन्दा लिएकाले सिमेन्टको मूल्य बढ्दा बोल्न सकेनौं : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १९:१५

२४ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको स्वीकार गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताए । ‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं,’  उनले भने, ‘ व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो जनताबाटै डाँढेर दिने रहेछन् । अबदेखि चन्दा सामाजिक उत्तरदायित्वको कोषबाट दिनुस् ।’

आपूर्तिमन्त्री यादवले उद्योगको विकल्प अरू हुन नसक्ने भन्दै सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । व्यावसायीहरू पनि इमान्दार हुनुपर्ने भन्दै उनले भने, ‘कानुन सबैका लागि बराबर छ । सिस्टम बसाल्न खोज्दा झन्जट नमान्नुस् ।’

कार्यक्रममा नेपाली सिमेन्ट उत्पादकहरूले भने सिमेन्ट उद्योगका लागि थप विदेशी लगानी नभित्र्याउन माग गरे । पछिल्लो समय नेपालमा सिमेन्ट उत्पादन वृद्धि भएको तर सोही अनुसारको बजार नबढेकाले आन्तरिक बजारमा खपतको अवस्था नरहेको उनीहरुको तर्क छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उद्योग खोल्न र सञ्चालन गर्न सरकारी प्रक्रिया निकै झन्झटिलो भएको बताए । उद्योगलाई वातावरण संरक्षणका नाममा दुःख दिइएको गुनासो पनि गरे ।

स्वदेशी कच्चापदार्थबाटै चलेको डेढ खर्बको व्यवसायलाई सरकारले हेर्ने नजर बदल्नु पर्ने बताए । ‘सिमेन्ट र पर्यटन व्यवसाय नेपालको मेरुदण्ड हो, यसलाई विभिन्न बाहानामा हतोत्साही नबनाऔं,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले भने, ‘सडक बिजुली जस्ता पूर्वाधार सरकारले सहजीकरण गरोस् ।’

उद्योगीले सडक पिच नगर्ने नीति लिन सरकारलाई सुझाव पनि दिए । नेपाली उत्पादनको सिमेन्टमार्फत कंक्रिट सडक बनाउनुपर्ने अध्यक्ष थापाले बताए ।

जवाफमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले उचित समयमा कंक्रिट सडकबारे कुरा उठेको बताए । ‘सरकार सकारात्मक छ ठीक समय आएपछि निर्णय हुन्छ,’ उनले भने, ’ठूला द्रुत मार्ग सरकारको प्राथमिकता भएको र यस्ता ठाउँमा ढलान सडक अनिवार्य हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?