+
+

सेयर बजारमा उछाल, अर्थमन्त्रीको भाषणको प्रभाव ?

रोयल आचार्य रोयल आचार्य
२०७६ भदौ ३१ गते १६:५०

३१ भदौ, काठमाडौं । केही दिन यता निरन्तर ओरालो लागेको बजारमा मंगलबार एकाएक उछाल आएको छ । अप्रत्याशितरुपमा नेप्से परिसूचक २६.९१ अंकले बढेपछि लगानीकर्ताले राहत अनुभव गरेका छन् ।

अघिल्लो साता ३१ अंकले घटेको नेप्से यस साताको आइतबार र सोमबार दुबै दिन दोहोरो अंकले खस्केको थियो । तर, मंगलबार अकस्मात बजारमा बहार आउनुलाई लगानीकर्ताले अर्थमन्त्रीले गरेको भाषणसँग जोडेर हेरेका छन् ।

मंगलबार बिहान मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आहृवान गरेका थिए । मुलुकको आर्थिक गतिविधिलाई तरंगित बनाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई उनले सचेत गराएका छन् ।

कर्मचारी संचय कोषको ५८ औं वार्षिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले सेयर बजारमा लगानी बढाउन अनुकुल समय रहेको बताए ।

‘राजनीतिक स्थायित्वका कारण मुलुकको आर्थिक गतिविधि बढेको र बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि वृद्धि भएकाले सेयर बजारमा लगानी बढाउने अति अनुकुल समय हो,’ अर्थमन्त्री डा. खतिवडाले भने ।

सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । पुँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

लगानीकर्ता भन्छन्- अर्थमन्त्रीको बोलीको प्रभाव

बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरु निराश बनेका थिए । उनीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले चाहे सुधार हुन सक्ने बताएका थिए । नभन्दै अर्थमन्त्रीको अभिव्यक्तिको असर बजारमा देखिएको छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अर्थमन्त्रीको भाषणले बजारमा राम्रो प्रभाव पारेको बताउँछिन् ।

‘लगानीकर्ताहरु तनाबमा थियौं,’ उनले भनिन्, ‘अर्थमन्त्रीज्यूको भाषणको हामी स्वागत गर्छौ, तर यतिले मात्रै भने पुग्दैन ।’

उनले बजारको सुधारका लागि थप कदमहरु सरकारले चाल्नुपर्ने बताइन् ।

सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर फोरमका कोषाध्यक्ष अञ्जिव तुलाधर पनि मंगलबार अर्थमन्त्रीको भाषणले बजारलाई सकारात्मक प्रभाव परेको बताउछन् । बजार घटबढ हुने विभिन्न कारणहरु हुने भन्दै उनले अर्थमन्त्रीको भाषण पनि एउटा कारक भएको उल्लेख गरे ।

अर्थमन्त्रीको सकारात्मक भाषणपछि रकम होल्ड गरेर बसेकाले पनि सेयरमा लगानी गरेको उनको भनाई छ । अर्थमन्त्रीको यो भाषणले मात्रै नुप्गने भन्दै उनले सरकारले सेयर बजारलाई लगानीको प्रमुख माध्यमको रुपमा लिनुपर्नेमा जोड दिए ।

स्वदेशका लगानीकर्ता खुसी बनाउन सके विदेशी लगानी पनि आउने भन्दै उनले सेयर बजारलाई सरकारले विशेष ध्यान दिनु पर्ने बताए । उनले भने, ‘बजार राम्रो भए विदेशी लगानीकर्ताहरु पनि आकषिर्त हुन्छन्, अब आशा गर्छौ सरकारले सेयर लगानीकर्ताको मनोबल बढाउने काम गर्छ ।’

फोरमकै सदस्य सिर्जना सुवेदीले बजारको सुधारका लागि प्रधानमन्त्रीसँग पनि आफूहरुले छलफल गर्न खोजिरहेको बताइन् । उनले भनिन्, ‘यस विषयमा छलफल गर्न हामीले प्रधानमन्त्रीको समय मागिरहेका छौं ।’

विज्ञ भन्छन्- सरकारी नीति सुधारिनु पर्छ

सेयर बजारका विज्ञ अनलराज भट्टराईले सरकारी नीतिका कारण बजारलाई प्रभाव पार्ने भन्दै अर्थमन्त्री सकारात्मक हुँदा बजारमा सुधार आएको बताए । बजारलाई बढाउन यतिले मात्रै नपुग्ने भन्दै उनले सरकारी नीति समेत सहज हुनु पर्नेमा जोड दिए ।

‘विदेशी लगानीकर्ता लगानीका लागि आउँदा लागि पुँजी बजारको अवस्थासमेत अध्ययन गर्ने गर्छन्,’ उनले भने, ‘यस विषयमा सरकार गम्भीर भए सेयर लगानीकर्तालाई नभएर मुलुकलाई नै फाइदा पुग्नेछ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?