
६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ‘सि विचारधारा’ वा ‘सिपथ’ को नक्कल गर्न खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुकै सामुन्नेमा भने, ‘जतिसुकै सुन्दर भए पनि नक्कल नक्कलै हो… जुत्ताको नापमा खुट्टा काट्ने होइन, परिस्थितिको ठोस विश्लेषण गर्दै आ-आफ्नो धरातलीय यथार्थका आधारमा सिर्जनात्मक हिसाबले मार्क्सवादको प्रयोग हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले चीन र नेपालका विशेषताहरु फरक भएको बताउँदै चीनको भन्दा नेपालले केही फरक ढंगबाट मार्क्सवादको अभ्यास गरिरहेको बताए ।
‘चीनको तुलनामा हाम्रा आफ्ना केही भिन्न विशेषताहरु छन् । हामीले मार्क्सवादलाई आफ्नै विशेषता र चुनौतीहरुको सामना गर्न स्थानीयकरण गरेका छौं’ प्रधानमन्त्रीले भने, ‘संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवअधिकार, शक्ति पृथक्कीकरण, शक्ति सन्तुलन र स्वतन्त्र न्यायपालिका समाविष्ट भएको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली हामीले अंगीकार गरेका छौं ।’
सोमबार राजधानीमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाका नेताहरुवीचको छलफल कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली स्पष्ट पार्दै भने, ‘प्रतिस्पर्धामा आधारित बहुदलीय व्यवस्था हाम्रो शासन प्रणालीको आधार हो । हामी बहुलताको सम्मान गर्छौं । देशको विकास प्रतिस्पर्धात्मक प्रणालीबाट नै गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले अरुको अनुकरण गरेर अगाडि बढ्न नसकिने भन्दै मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिनुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिँदैन । मार्क्सवादलाई हरेक देशले आफ्नो मौलिक ढंगबाट प्रयोग गर्नुपर्छ ।’
दुई दिनसम्म चल्ने स्कुल विभागको कार्यक्रम दुई देशका कम्युनिष्ट पार्टीवीच अनुभव आदान-प्रदान गर्नका लागि भएको नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
चीन र नेपालको शासन प्रणालीको आ-आफ्नै मोडेल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘चीनले आफ्नै मोडल बनाएको छ, नेपालले पनि अन्तरराष्ट्रिय परिवेशअनुसार आफ्नै मोडल बनाएको छ ।’
ठूला देशहरुले शक्तिशाली बन्दै गएपछि तिनले साना देशलाई हेप्ने गरेको प्रधानमन्त्री ओलीले सुनाए । तर, चीन बलियो भए पनि उसले अरु देशलाई थिचमोमिचो नगर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘चीनको प्रगतिबाट नेपाली जनता खुशी छन् । नेपाल चीनसँग विकास साझेदारी गर्न चाहन्छ । ‘
आगामी हप्ता चीनले मनाउन लागेको राष्ट्रिय दिवसका लागि प्रधानमन्त्री ओलीले शुभकामनासमेत व्यक्त गरे ।
नेपाल-चीन सम्बन्ध स्वार्थहरुको लेनदेनभन्दा माथि छ
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध आपसी शान, सम्मान र सहयोगमा आधारित रहेको बताए । प्रधामन्त्री ओलीले दुई देशको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताए । ‘हाम्रो मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्छौं,’ उनले भने, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ ।’
दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र समय क्रममा आउने समस्या पनि आपसी संवादबाट हल गर्ने उनले बताए ।
प्रधानमन्त्रीले नेपाल ‘एक चीन नीति’ प्रति स्पष्ट र दृढ रहेको बताए ।
प्रतिक्रिया 4