+
+

गोरखा जिल्ला खाद्यान्नमा झन् झन् परनिर्भर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १४:४३
Photo Credit : फाइल तस्वीर

३ कात्तिक, गोरखा । जिल्लामा खाद्य संकटको जोखिम बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार भूकम्प पश्चात खाद्यान्न उत्पादनमा ह्रास आएको छ ।

‘भूकम्पपछि बसाइँसराइ गर्ने क्रम बढ्यो, खेती गर्नेहरु पनि कम भए,’ कार्यालय प्रमुख मनिता थापाले भनिन्, ‘अनि उत्पादनमा यसै कमी भइहाल्यो ।’ बिशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा खाद्य संकटको जोखिम बढेको उनले बताइन् ।

भूकम्पअघि जिल्लामा आवश्यक भन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको बताउदै उनले भनिन्, ‘गत आर्थिक बर्ष ४७ हजार ६०५ मेट्रिक टन खाद्यान्न उत्पादन भयो तर जिल्लालाई ५१ हजार ७७२ मेट्रिक टन आवश्यक पर्छ ।’ खाद्यान्नमा धान, गहुँ, कोदो र मकैलाई राखिएको छ ।

दालवालीमा पनि जिल्ला आत्मनिर्भर नरहेको कार्यालयले जनाएको छ । ५ हजार २ सय २१ मेट्रिक टन आवश्यक रहे पनि गत आर्थिक बर्ष २ हजार ९ सय ८४ मेट्रिक टन मात्र उत्पादन भएको कार्यालयको तथ्याङ्गकमा उल्लेख छ ।

तेलहन वालीमा पनि जिल्ला आत्मनिर्भर हुन सकेको छैन । प्रमुख थापाले भनिन्, ‘३ हजार ३२३ मेट्रिक टन आवश्यक रहेकोमा गत आर्थिक बर्ष ६ सय १८ मेट्रिक टन मात्र उत्पादन भयो ।’

तरकारी र आलुमा भने जिल्ला आत्मनिर्भर रहेको उनले बताइन् । ‘तरकारी र आलु भने आवश्यकता भन्दा बढी नै उत्पादन हुने गरेको छ, तर हामी चामल नै बढी खाने भएकाले खाद्य संकटको जोखिम बढेको हो,’ उनले भनिन् ।

एक नेपालीले बर्षमा १ सय २२ केजी चामल खाने गरेको कृषि विकास मन्त्रालयको तथ्याङ्कले जनाउछ । ‘युरोपतिर एक जनाले बर्षमा १४ केजीमात्र चामल खान्छन्, उनीहरु आफ्नै देशमा उत्पादन हुने फलफूल, आलुलाई बढी जोड दिन्छन्, तर हामी आलु, मकै, कोदो उत्पादन गरे पनि चामल नै खाने भएर संकटको जोखिम बढेको हो,’ उनले भनिन् ।

जिल्लाको कुल जनसंख्यामध्ये ६७ प्रतिशतले कृषि पेशा अंगाल्दै आए पनि निर्वाहमुखी कृषि पेशाका कारण उत्पादन वृद्धि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?