संविधान निर्माणलाई लिएर दलहरूबीच निकै मतभिन्नता थियो । देशका विभिन्न ठाउँमा प्रदर्शन र झडप भइरहेका थिए । कतिपय ठाउँमा भइरहेका शान्तिपूर्ण आन्दोलनमाथि सुरक्षाकर्मीले गर्ने व्यवहार राम्रो थिएन ।
बिना माइकिङ, एक्कासी अश्रुग्यास प्रहार र गोली हान्ने घटनाले आन्दोलनकारीको व्यवहार हिंस्रक हुन थालेको थियो ।
संयमित भिडमा भन्दा घरमा खेलिरहेका नाबालक, आन्दोलनको हिस्सा नभएका व्यक्तिहरूको हत्याले आन्दोलनकारीलाई मसला दिइरहेको थियो । अर्कोतिर, शीर्षस्थ नेतृत्व, विशेष गरेर पूर्वप्रधानमन्त्री भइसकेका र लामो समय पार्टीको नेतृत्व सम्हालेका व्यक्तिहरूको बोली निकै असंयमित थियो ।
यिनै वक्तव्यबाजीले आन्दोलनकारीहरूले मौका पाए र ती वक्तव्यबाजीमा आएका शब्दहरूलाई झन् तिलको पहाड बनाएर समाजमा प्रस्तुत गर्न थाले । जसले गर्दा आन्दोलनमा नागरिक सहभागिता बढ्न थाल्यो ।
प्रदेश संरचनामा ६ वटा प्रदेश राख्ने भन्ने दलहरू बीचको सहमतिले कर्णालीमा आन्दोलन चर्कियो । कर्णालीमा समुदायलाई उद्वेलित बनाउन दुईवटा कुरा भनियो ।
पहिलो, सुर्खेत र कर्णालीका सबै नागरिकहरूलाई कर बुझाउन डडेल्धुरा जानुपर्छ । दोस्रो, सिंगो कर्णाली अब सुदूरपश्चिमको नामले चिनिनेछ । कर्णाली विश्व मानचित्रबाट मेटिने छ । यस्ता कुराहरूले दलहरूको अस्तित्वमा नै चुनौती थप्यो र प्रतिष्ठाको लडाइँ सुरु भयो ।
सरकारमा नहुने दलले समुदायमा नकारात्मक कुरा पुर्याइहाल्ने र जनतालाई आन्दोलनमा ल्याउन यिनै नकारात्मक कुराहरूले मलजल गर्यो । सुर्खेतमा गोली चल्यो र दुईजनाको ज्यान गयो । तत्कालीन गृहमन्त्रीको घरमा आगजनीको प्रयास भयो । नेपाल प्रहरीलाई तत्कालीन गृहमन्त्रीको घरको समेत सुरक्षा गर्न नसकेको आरोप लाग्यो ।
यहीबीच म सुर्खेत पुगें र त्यहाँ सर्वदलीय संवाद गरे । यसले केही वातावरण बन्यो । जे भए पनि तत्कालीन अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगको उपस्थितिले ठूलो अर्थ राख्थ्यो । नागरिकको जीवनरक्षा र आन्दोलनकारी र सरकारबीच वार्ताको पहल हुने गर्दथ्यो । हामी पुगेको ठाउँमा प्रहरीले पनि केही राहत महसुस गर्दथ्यो ।
यही बीचमा कर्णाली सातौं प्रदेशको रूपमा घोषणा भयो । यसरी निकै छोटो समयको आन्दोलनले कर्णालीले आफ्नो पहिचान पायो ।
यो विषय मधेश आन्दोलनमा भएका दलहरूको लागि आत्मसम्मानको सवाल भयो । कारण थियो– मधेशवादी दलहरू लामो समयदेखि आन्दोलनमा थिए । राज्यले तिनका विषयको सम्बोधन गरेको थिएन ।
उल्टै आन्दोलनमा भएका मानव हताहतलाई ‘रुखबाट एक दुई आँप खस्दैमा केही हुँदैन’, ‘मधेशी सब मोदीका छौडा’ भनियो । यी प्रहरीले फायर खोल्दा बोलेका शब्द हुन् । जसले स्थानीय जनताको भावनामा चोट पुगेको थियो ।
दलहरूले मधेशवादी दलसँग वार्ता हुँदैन, अब वार्ता इण्डियासँग हुन्छ भन्न थालेका थिए । नागरिक महिनौंदेखि आन्दोलनमा थिए । कयौं सर्वसाधारण र आन्दोलनकारीले ज्यान गुमाइसकेका थिए । तर दलहरू हामीसँग वार्ता नगर्ने इण्डियासँग वार्ता गर्ने भन्दै छन् । के हामी यो देशका नागरिक होइनौं ? हामीसँग दलहरूले किन दोगला व्यवहार गर्दैछन् ? यी कुराले आन्दोलनरत पक्षलाई पीडा दिइरहेको थियो ।
आन्दोलनरत पक्षहरू धेरैसँग हार गुहार माग्न ठाउँ ठाउँ पुग्न थालेका थिए । राष्ट्रय मानव अधिकार आयोगमा पनि कयौं बैठकहरू भए जुन निष्कर्षविहीन थिए । २०७२ सालको भूकम्प जाँदा देशले धेरै धनजनको क्षति बेहोर्यो । मधेशवादी दलहरूले आफ्नो बलबुताले भ्याएसम्म मूठिदान सहित भूकम्प पीडितलाई सहयोगी हात बढाएका थिए र देशमा विपत्ति भएका बखत सबै एकजुट हुनुपर्छ भन्ने सन्देश दिएका थिए ।
लामो समयको आन्दोलनबाट मधेश केन्द्रत दल केही हतास देखिन्थे र आन्दोलनलाई फरक ढंगले लाने भन्न थाले र आन्दोलन सीमा केन्द्रित बनाए त्यसको एउटा सन्देश थियो ‘काठमाडौं को दाना पानी बन्द गर्ने ।’
सीमाबन्द गर्ने यो सन्देशले पनि केन्द्रको नेतृत्व गर्ने दललाई खासै फरक परेन । यसको कारण थियो भारतसँगको सम्बन्धप्रति सत्तारुढ दलहरू विश्वस्त थिए कि छिमेकीले यस्तो विपद र त्रासको अवस्थामा सिमानाका बन्द गर्दैन । एकातिर आन्दोलरत पक्षसंग भारतले दूरी बनाएको नै थियो । किनभने आन्दोलनरत पक्षसंग नजिकिएर सत्तापक्षसंग टाढिने वा चिढ्याउने भारतको चाहना थिएन ।
यस्तो द्वैध भूमिका भारतको छ भन्ने कुरा आन्दोलनरत पक्षले थाहा पाएर पनि थाहा नपाए जस्तो गर्दै थिए । भारतले गरेको नाकाबन्दीलाई आन्दोलनरत पक्षले हामीले गरेका हौं भनेर फुक्न थाले केही ट्रकहरूमा आगजनी भयो जसले गर्दा भारतीय ट्रक ड्राइभरहरू भयभीत भए ।
जसको परिणाम देशभर ग्यास र औषधी लगायत उपभोग्य वस्तुको अभाव र ठूलो हाहाकार नै भयो । यसले विश्व सामु भारतको छवि नराम्रो भयो । मधेशवादी दलहरूलाई झन् गाह्रो भयो, कारण जुन नैतिक साथ र समर्थन खोज्दै थिए त्यो मधेशवादी दलहरूले पाएनन् ।
म सुर्खेतबाट टीकापुरको अनुगमन सकेर धनगढी बास बसेको थिएँ । बिहान थारु नेताहरू राजनीतिक दलहरू र सुरक्षा निकायसँग धनगढी सीडीओ कार्यालयमा हाम्रो भेटघाट कार्यक्रम थियो ।
धनगढीको मिटिङ सकेर टीकापुरबाट नेपालगञ्ज लागियो । नेपालगञ्जको आन्दोलन अनुगमन गरेर हिँडिसकेको थिएँ । म लमहीको बाटोमा थिए, लमहीमा थारु अगुवाहरू संग भेट्ने कार्यक्रम थियो ।
त्यस बखत थारु समुदायको आन्दोलनको अगुवाइ गर्ने प्राय नेताहरू डरले आफ्नो ठाउँहरू बारे भन्दैनथे । ठाउँबारे भनेमा सुरक्षा निकायलाई खबर हुन्छ भन्ने डरले फरक फरक ठाउँमा बोलाउथे ।
लमही पुग्दै थिएँ त्यही बेला आयोगका अध्यक्षको फोन आयो तपाईं छिटो वीरगञ्ज जानुस् । ‘मलाई अच्चम लाग्यो’ मलाई नै किन अरु सदस्यहरू गए पनि हुने थियो । तर मलाई नै किन उहाँको भनाइ थियो तपाईं बाटो मै हुनुहुन्छ त्यतै बाट गए हुन्छ ।
अच्चमको कुरा के भने म छु लमहीमा र यो कुरा सबैलाई थाहा छ । वीरगञ्ज पुग्न २ दिन लाग्छ तर यदि कोही काठमाडौंबाट गयो भने आधा दिनमा पुग्छ । मेरो मनमा निकै प्रश्नहरू उब्जिए सदस्यहरू बाँडिएर जान सक्छन् तर मलाई नै किन जान भनियो ? अध्यक्षको निर्देशन थियो कसरी नाई भन्ने ?
लमहीमा केही थारु आन्दोलनरत नेताहरूलाई भेटी वीरगञ्जतर्फ लागियो । मेरो गाडी चितवनमा थारु आन्दोलनरतहरूले रोके हाम्रो कुरा सुनेर जानुस् केही समय त्यहाँ पनि रोकियो । चितवन चोकमा ठूलो रुखको लठ्ठा तेस्र्याएर आन्दोलन गरिरहेका हरूले हाम्रो गाडी पास गराए र राम्ररी जान भने ।
यसरी आफू वीरगञ्ज पुग्दा पुरै बाटो टायरको कालो खरानीले पुरिएको थियो । प्रशासनको व्यवहार निकै नै खराब थियो गाडीबाट झर्न पाएको छैन स्थानीय पत्रकारहरूले गुनासो गरे, मैले भोलि कुरा गर्छु भनेँ ।
तर मनले मानेन तत्काल जिल्ला प्रशासन कार्यालय पुगे । सबै कुरा बुझ्दै जादा पत्रकारहरूलाई नै उल्टै गाली गर्न थाले सुरक्षा र प्रशासनकाले कुरा बुझ्दै जाँदा गोली लागी मारिएका युवाको खबर किन छापेका त्यसले आन्दोलन भड्कियो भन्ने ठम्याइ प्रशासनको थियो, जुन कि सरासर गलत थियो ।
आन्दोलनकारीको समाचार छापिएन भनेर आन्दोलनरतहरूले पत्रिका जलाउदै थिए । बेलुका नै पत्रकारहरूसंग वीरगञ्जको अनुगमन गरियो । वीरगंज पूर्ण रूपमा बन्द थियो कहां बस्ने के खाने केही निश्चित थिएन ।
एउटा होटललाई अनुरोध गरेर कोठा मागियो र जे छ पकाएर खुवाउन अनुरोध गरियो । यति मानवता होटलका साहुले देखाएर केही दिनको बास होटलमा भयो । हाम्रो बसाईले वीरगञ्जको स्थिति सामान्य भयो र हामीलाई अर्को ठाउँ जान निर्देशन आयो ।
यसरी आन्दोलनको अनुगमन गर्दै रौतहट लागियो । चपुर पुग्नु केही पर थियौं हाम्रो गाडी आन्दोलनरत पक्षले रोके र एकजना आयोगको सदस्यको नामै लिएर तिनी छन् कि छैनन्, छन् भने यो गाडी जान नदिने भने गाडीमा भएका कर्मचारी साथीले मेरो परिचय दिए पछि हाम्रो गाडीलाई त्यहाँबाट जान दिइयो ।
एक त काठमाडौंलाई मधेशसंग निकै रिस थियो । रिस हुनु पनि स्वभाविक नै थियो किनभने तत्कालिन समयमा काठमाडौं लगायतका पहाडी भेगमा भइरहेको चरम दैनिक उपभोग्य सामाग्रीको अभाव र महंगी काला बजारीले काठमाडौंका ग्याँस डिपोहरूमा सिलिन्डरको कहालीलाग्दो लाइन थियो ।
काठमाडौं फर्किएपछि संविधान जारी भयो असन्तुष्ट पक्षहरूले संविधानमा हस्ताक्षर गरेनन् संविधान जारीको दिनलाई कालो दिवसको रूपमा मनाउने घोषणा गरे जसले गर्दा पुनः संस्थापन पक्षले यो विषयलाई आफ्नो सम्मानको बर्खिलाफको रूपमा लियो ।
एकातिर दिपावली थियो भने अर्को तिर कालो दिनको रूपमा संविधान जारी भएको दिनलाई मानउन थाले । त्यसदिन प्रायः मधेशी समुदायले आफ्नो घरमा कालोझण्डा राखे र आ–आफ्नो सामाजिक सञ्जाललाई पनि कालो रंगको बनाए । घरमा दिपावली मनाएनन् शोक मनाए । यसरी ३ असोज २०७२ लाई मधेशी नागरिक र दलहरूले यसरी सम्झिन्छन् ।
म जीवित छु भन्नु को कारण के छ भने म सप्तरीको अनुगमनमा थिए । त्यस बखत अनुगमनमा प्रायः जसो मलाई नै खटाइन्थ्यो । सप्तरीमा आन्दोलन निकै भयावह बन्दै गएको थियो । आयोगको एउटा गाडी तोडफोड भइसकेको थियो ।
यो आन्दोलन भयावह बन्नुको एउटै कारण थियो दलहरू को प्रतिष्ठाको लडाई । एउटा दलले आफ्नो अडान नछोड्न र मधेशवादी दलले पहाडी नेता र दललाई एक किसिमले निषेध नै गरेका थिए । कुनै पनि स्थानीय पहाडी मूलका नेता आफ्नो घरमा थिएनन्न् ।
यही बीच हालका प्रधानमन्त्री नै तत्कालिन समयका प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले मेची माहाकाली यात्रा कार्यक्रम नै घोषणा गर्नुभयो ।
कार्यक्रमस्थलको रूपमा सप्तरीको औधोगिक क्षेत्र तोक्नुभयो उहाँको चुनौती थियो मलाई कसैले पनि छेक्न रोक्न सक्दैन ।
मधेशवादी दलहरूले पनि उहाँको यो अडानलाई आफ्नो अस्तित्वको लडाईको रूपमा लिएका थिए । त्यसदिन सप्तरीमा प्रधानमन्त्री आउने भने पछि अत्याधिक मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीहरू परिचालित थिए तर दुर्भाग्य जिल्ला सम्हाल्ने सिडियो भने थिएनन् ।
कार्यक्रम बिथोलियो र प्रधानमन्त्री उपस्थित भएको कार्यक्रमस्थल भित्र र बाहिर कल्पना नगरिएका घटनाहरू भए । एकजना युवा जसको भर्खर विवाह भएको थियो तिनलाई सुरक्षाकर्मीले टाउकोमा गोली हाने । कयौं आश्रु ग्यासका सेल फायर भए जसको कारण स्थानीय बासिन्दाले अनुहारमा पानी भरिएका फोकाहरू नै उठे । घटनाको केही दिनपछि मसहित विराटनगर कार्यालयको कर्मचारी त्यहाँ पुग्यौं वास्तविकतामा स्थिति निकै नै नाजुक थियो ।
स्थानीय बासिन्दा निकै रुष्ट थिए कोही बोल्न चाहेका थिएनन् । सरकारी व्यक्ति र खासगरी आयोगका मानिसलाई देख्नै चाहेका थिएनन् । एकजना स्थानीय र पत्रकारको सहायतामा हामी त्यहाँ पुग्यौं । घाइतेहरूलाई भेट्दै जाँदा सबैमा अत्यन्तै घृणा र आक्रोश थियो । स्थानीयको हामी वा सरकार प्रतिनिधिसँग भेट्ने इच्छा थिएन ।
केही समय रोकिएर कुराकानी सुरुवात गर्यौं । स्थानीय व्यक्ति कुरा गर्न आए यसरी कुराकानीकै क्रममा हामीलाई पीडितको घर लगियो । आमा र पत्नीसंग भेट भयो हामी कुरा नै सुनिरहेका थियौं । सबैले घटना बारे राम्रैसंग बताउदै थिए तर एक्कासी आयोगको गाडी त्यहाँ आइपुग्यो ।
अनुगमनमा केही सहजता होस् भनेर मैले गाडी निकै पर छोडेर हिँड्दै गाउँ पुगेकी थिएँ । यसरी आयोगको गाडी देख्ना साथ तिनले भने, ‘यही गाडीले मेरो भाइलाई बचाएन ‘पुलिसलाई गोली नचला भनेन, मेरो भाइ खाना खान घर आउदै थियो, उ आन्दोलनमा गएकै होइन ।’ उनले अति नै मर्माहत बनाउने कुरा गर्न थाले ।
तिनको रुवाइमा भाइ गुमाएको पीडा थियो । तिनलाई सम्झाई बुझाई कसैले त्यहाँबाट लग्यो तर एक्कासी पेट्रोल बोकेर आए र आयोगको गाडी ढुगांले फुटाउदै पेट्रोल छर्किन थाले, यसरी तिनलाई छेक्दै गर्दा तिनले बोकेको सारा पेट्रोल मेरो शरीरमा खनियो मेरो आँखा पेट्रोलको कारणले केही समय देख्नै नसकिने भएको थियो ।
स्थानीयकै अगुवाइमा म त्यहांबाट निस्किएँ त्यस बखतको एउटा कुरा भन्नैपर्छ, तत्कालिन अमेरिकी राजदूत ऐलाईना बि. टेप्लिजले फोन गरेर ‘मोहना तिमी ठोक छौ ?’ भनेर सोधिन्, त्यस बखत साँच्चै म जीवित छु भन्ने लाग्यो ।
त्यसबेला म जुन संस्थाको प्रतिनिधित्व गर्दै सप्तरी पुगेको थिए त्यहाँबाट मलाई कसैले पनि मेरो हाल खबर लिन एक कल फोन पनि गरेनन् । कुनै पनि सुरक्षाकर्मीको त्यस ठाँउमा उपस्थिति थिएन, जबकी म त्यस ठाउँमा हुनेछु भन्ने सबै प्रहरी निकायमा खबर थियो ।
नेपालको संविधान २०७२ को सबैमा हार्दिक मंगलमय शुभकामना । म जीवित छु ।
(अन्सारी राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य हुन् ।)
प्रतिक्रिया 4