+
+

फूलखेती गर्दा पहिले घर निकाला, अहिले वाहवाही

पुष्प व्यावसायी रमेशको प्रेरणादायी कथा

टोपराज शर्मा टोपराज शर्मा
२०७६ कात्तिक ६ गते १०:४५

६ कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का रमेश पाण्डेले बैंकमा जागिर खाएको देख्न चाहन्थे उनका आमा–बुवा । तर रमेशको बैंकसँग होइन, माटोसँग प्रेम थियो । त्यसैले ०५७ मा रमेशले घरको करिब २ कठ्ठा खेतमा फूल खेती र तरकारीका बिरूवा उत्पादन सुरु गरे । घरमा पनि गमलामा फूल राखेर सजाउन थाले ।

बुबा–आमालाई रमेशको यो काम मन परेको थिएन । एक दिन त बुवाले घर निकाला नै गरिदिए ।

‘नर्सरीमा कोदालो खन्दै गर्दा घरमा मिटिङ छ भनेर बोलाइयो, गएपछि बुवाले कि नर्सरी छोड्, कि घर छोड् भन्नुभयो,’ विगत सम्झिँदै रमेशले भने, ‘मैले फूलखेती र नर्सरी नै गर्छु भनेपछि घरबाट निकाल्दिनुभयो ।’

श्रीमती गर्भवती रहेका बेला नर्सरी नष्ट गर्दै बुवाले घर निकाला गरिदिएपछि रमेश बेस्सरी रोएका थिए

भनेको नमानेपछि परिवारले घर निकाला मात्रै गरेन, नर्सरीमा डोजर लगाएर त्यो बेलाको झण्डै तीन लाख रुपैयाँ मूल्यका बिरूवा नष्ट गरिदिएको पाण्डे बताउँछन् । ‘भर्खर बिहे गरेको थिएँ, श्रीमती गर्भवती थिइन्, त्यस्तो बेला घर निकाला गरिदिएर नर्सरीसमेत नष्ट गरिदिँदा बेस्सरी रोएँ ।’

रमेशले हिम्मत हारेनन् । बरू केही गरेर देखाउनुपर्छ भन्ने संकल्प गरे । उनले घरेलु तथा साना उद्योग कार्यालयमा फर्म दर्ता गरेर व्यवसाय सुरु गर्ने निर्णय गरे । तर, अभिभावकले जग्गाको लालपुर्जाको फोटोकपीसमेत दिएनन् । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै उनलाई बुटवलकै आफन्तले जग्गाको लालपूर्जा दिए । त्यसपछि रमेशले ‘लुम्बिनी नर्सरी एण्ड गार्डेन’ नामको फर्म दर्ता गरेर व्यवसायलाई निरन्तरता दिए ।

त्यतिञ्जेल घरमा सम्पत्तिको अंशवण्डा पनि भयो । आफ्नो भागमा परेको करिब तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका फूलका विरूवा उत्पादन सुरू गरे । अहिले उनले तिलोत्तमा ५ मै डा. प्रायश्चित श्रेष्ठको चार कठ्ठा जग्गा भाडामा लिएर फलफूलका बिरूवा, शो–प्लान्टलगायत उत्पादन गर्दै आएका छन् । गार्डेन डिजाइनरसमेत रहेका रमेश नर्सरी व्यवसायबाट कुस्ता आम्दानी गर्न सफल भएको बताउँछन् ।हालसम्म नर्सरीमा ५० लाख रुपैयाँ लगानी गरेको र वर्ष दिनमा कम्तीमा २५ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । सबै खर्च कटाएर वार्षिक १० लाख बचत हुने उनी बताउँछन् । ‘आम्दानीका हिसाबले सन्तुष्ट छु, वर्षमा खर्च कटाएर कम्तीमा दस लाख आम्दानी बचत हुन्छ,’ पाण्डेले भने, ‘विगतको पीडा अहिलेको सफलताले भुलाइदिएको छ । बुवा पनि मेरो प्रगति देखेर अहिले दंग पर्नुभएको छ ।’

हेलाहोचोकै बीच फूलखेती गरेका रमेशले यतिबेला कुस्ता आम्दानी गरिरहेका छन् भने घरनिकाला गरिदिने बावु पनि उनीसँग प्रसन्न छन्

नर्सरी व्यवसाय गर्छुभन्दा छानो र मानो गुमाएका रमेशले अहिले मणिग्राम दुई नम्बरमा करिब ४० लाख लागतमा पक्की घर बनाएका छन् । नर्सरी बारीमा फूल फक्रेजस्तै ढकमक्क देखिन्छ उनको जीवन ।

दूध, दही खान एउटा भैंसी पनि पालेका छन् । भैंसीको गोबरबाट नर्सरीलाई चाहिने प्रांगारिक मल तयार गर्छन् । नर्सरीमा दुई जनालाई प्रत्यक्ष र १० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छन् । श्रीमतीले बजारमा पठाउनका लागि दुबो र फूलका माला गाँस्छिन् । उनको नर्सरीबाट रुपन्देहीसहित प्रदेश नम्बर ५ का विभिन्न जिल्ला, गण्डकी प्रदेशको पोखरा र काठमाडौंसम्म पनि दुबो र फूलको माला पुग्छ । एक वर्षमा फूल र दुबोको माला मात्रै करिब चार लाखको बिक्री गर्ने रमेश बताउँछन् ।

बुटवल–बेलहिया ६ लेन सडकको डिभाइडरलाई बगैंचाको रूपमा विकास गर्नुपर्छ भन्ने उनकै अवधारणा अनुसार बुटवल–१० का वडा अध्यक्ष पदमबहादुर थापाले कालिकानगर क्षेत्रका सडकका दुवैतर्फ फूल रोपेर हरियाली बनाएका छन् । दुई वर्षदेखि प्रदेशका विभिन्न जिल्लामा व्यवसायिक फूल खेती प्रवद्र्धनका लागि किसानलाई तालिम दिँदै हिँडेका पाण्डेले यो वर्ष करिब एक दर्जन स्थानमा महिला समूह र अन्य किसानलाई फूल खेतीमा उत्प्रेरित गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँगको सहकार्यमा उनले व्यवसायिक पुष्प खेती तालिम दिएका छन् । उनको अभियानमा मणिग्रामकै जनक भण्डारी, नवीना भण्डारी लगायतले साथ दिएका छन् ।
फूल खेतीमा राम्रो भविष्य देख्ने रमेश नेपालको हावापानी र भूगोल फूल खेतीका लागि उपयुक्त रहेकाले प्रशस्त उत्पादन गरी विदेशसमेत निर्यात गर्न सकिने सम्भावना देख्छन् ।

पैसा कमाउनकै लागि विदेश जाने युवाले नेपालमै फूल खेती गर्ने हो भने थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ

‘स्थानीय र प्रदेश सरकारले फूल खेती गर्ने किसानलाई प्रोत्साहन दिने र बजार सुनिश्चित गरिदिने हो भने फूलबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ,’ पाण्डे भन्छन्, ‘यसैका लागि हाम्रो समूह तराईदेखि पहाडसम्म पुगेर पुष्प खेतीमा किसान समूह र महिलाहरुलाई आकर्षित गरेका छौं ।’

पैसा कमाउनकै लागि विदेश जाने युवाले नेपालमै फूल खेती गर्ने हो भने थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘फूल खेती थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने व्यवसाय हो,’ पाण्डेले भने, ‘तर सरकारले विदेश निर्यातका लागि सहजीकरण गरिदिनुपर्छ ।’

बुटवलसहित विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा उत्कष्ट व्यवसायीका रुपमा करिब एक दर्जन स्थानमा पुरस्कृत र सम्मानित भएका पाण्डे सम्पूर्ण जीवन फूल खेती र नर्सरी व्यवसायमै बिताउने इच्छा व्यक्त गर्छन् । ‘नेपाललाई फूलको देशका रुपमा चिनाउने लक्ष्य छ,’ उनले आफ्नो योजना सुनाए ।

पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्षसमेत रहेका पाण्डेका अनुसार अहिले नेपालमा वार्षिक करिब २० करोड रुपैयाँभन्दा बढीको पुष्पजन्य उत्पादन आयात हुने गरेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ८ लाख ६४ हजार ७ सय ७३ मूल्य बराबरको ३५ हजार ७ सय ५० किलोग्राम बिभिन्न जातका फूलहरु आयात भएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?