+
+

जलविद्युत आयोजनाहरुमा विस्फोटक पदार्थको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १८:२२

२९ कात्तिक, काठमाडौं । जलविद्युत आयोजनाहरुमा विस्फोटक पदार्थको अभाव भएको छ । समयमै विस्फोटक पदार्थ पाउन नसकेर काम प्रभावित भएको जलविद्युत आयोजनाहरुले गुनासो गरेका छन् ।

आयोजनाहरुमा सडकमार्ग बनाउन र सुरुङ बनाउन ठूलो मात्रामा विस्फोटक पदार्थ आवश्यक पर्छ । तर, विस्फोटक पदार्थ पाउन मुस्किल हुन थालेको भन्दै विभिन्न आयोजनाहरुले सरकारलाई समस्या समाधानका लागि ताकेता गरेका छन् ।

स्वतन्त्र उर्जा उत्पादक संघ ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई आयोजनाहरुमा विस्फोटक पदार्थको अभावले कामको गति घटेको बताउँछन् ।

‘सेनाबाट हामीले पर्याप्त विस्फोटक पदार्थ पाएका छैनौं,’ उनले भने, ‘भारतीय दूतावास मार्फत ‘नो अब्जेक्सन लेटर’ लिएर सीधै ल्याउन पनि पहिलेभन्दा निकै कसिलो गरिएको छ ।’

आयोजनाहरुले दुई माध्यमबाट विस्फोटक पदार्थ पाउन सक्छन् । पहिलो सीधै नेपाली सेनासँग खरिद गर्ने र दोस्रो भारतीय दूतावासमार्फत नो अब्जेक्सन लिटेर लिएर खरिद गर्ने ।

भारतीय दूतावासमार्फत नो अब्जेक्सन लिन विभिन्न सरकारी प्रक्रिया पुरा गर्नुपर्छ । नेपाली सेनाले चाहे मात्रै दूतावासम्म अनुमतिको लागि सजिलै फाइल पुग्छ ।

‘पछिल्लो समयमा आफैंले आपूर्ति गर्न पनि सजिलोसँग अनुमति पाइएको छैन,’ गुरागाइँ भन्छन्, ‘सेनाले थोरै परिमाणका दिने विस्फोटक पदार्थ पनि गुणस्तरीय छैन ।’

ईप्पानका अनुसार सेनाले दिइरहेको हालको विस्फोटक पदार्थको गुणस्तर आधा कमजोर छ । त्यसैले एक टनले काम पुरा हुने अवस्थामा पनि दुई टन विस्फोटक खर्चिरहनु परेको छ ।

यस्तो समस्या निजी उर्जा प्रवर्धकहरुलाई मात्रै छैन । प्राधिरकण अन्तरगतको कम्पनीले निर्माण गरिरहेको त्रिशुली थ्री बी लगायतका आयोजनाले पनि विस्फोटक पदार्थको अभाव झेलिरहेका छन् ।

आयोजनाका एक अधिकारीका अनुसार पर्याप्त विस्फोटक पदार्थ प्राप्त नहुँदा निर्माणले अपेक्षाअनुसारको गति लिन सकेको छैन । त्रिशुली थ्री बी आयोजना अन्तरगतको ठेकेदारले ६ महिनाअघि भारतबाट विष्फोटक पदार्थ आयातका लागि आवेदन गरे पनि अझै भाररतीय दूतावासमार्फत ‘नो अब्जेक्सन’ आईसकेको छैन ।

विभिन्न सरकारी निकाय हुँदै दूतावास पुग्ने सो आवेदन कुनै निकायमा अल्झिएको छ वा दूतावासले नै अल्झाएको छ भन्नेबारे आयोजना बेखबर छ ।

ईप्पानका अध्यक्ष गुरागाइँ पर्याप्त मात्रामा सहज तरिकाबाट विस्फोटक पदार्थ नदिँदा आयोजनाको लागत समेत बढ्न थालेको गुनासो गर्छन् । यसलाई सरकारले गम्भीर भएर समाधान गर्नुपर्ने उनको भनाइ छ ।

हाल देशभर करिब २५ सय मेगावाट बराबरका आयोजनाहरु निर्माणाधीन छन् । कतिपय आयोजनाहरुमा विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने चरण पार भइसके पनि धेरैलाई विस्फोटक पदार्थ अत्यावश्यक पर्छ ।

यसरी विस्फोटक पदार्थ लिएपछि नेपाली सेनाको प्रत्यक्ष निगरानीमा त्यसको भण्डारण र प्रयोग गर्नर्छ । आयोजनाले निर्माण अवधिभरका लागि सेनालाई बंकर बनाएर प्रदान गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?