
२४ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रह्यो । तेस्रो पटक पनि भारतसँग हारेपछि मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए । ‘मेरो टार्गेट भनेकै गोल्ड मेडल थियो,’ खेलपश्चात उनले भनेका थिए, ‘टार्गेट पूरा गर्न नसक्दा जिम्मेवारीमा बसिरहनु उपयुक्त ठानिनँ ।’
तर उनी दावाका साथ भन्छन्, आफ्नो मुख्य प्रशिक्षणमा महिला फुटबल टिम धेरै सुधार आएको छ । पहिले पूरै दबावमा खेल्ने नेपाल अहिले ५०/५० को अवस्थामा आइसकेको उनले सुनाए । प्रस्तुत छ, प्रशिक्षक खड्कासँग अनलाइनखबरकर्मी विकास रोकामगरले गरेको कुराकानी :
एक्कासी जिम्मेवारीबाट राजीनामा दिनुभयो । यो जरुरी थियो र ?
मेरो टार्गेट गोल्ड मेडल थियो । त्यो पूरा हुन सकेन । टार्गेट पूरा हुन नसकेपछि जिम्मेवारीमा बसिरहन जरुरी थिएन । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले मलाई वुमेन्स हेड बनाएको छ । मुख्य प्रशिक्षकबाट मात्रै राजीनामा दिएको हुँ । बाँकी मेरो जिम्मेवारी त छँदै छ नि !
आफ्नो डेढ वर्षे कार्यकाललाई चाहिँ कसरी समीक्षा गर्नुहुन्छ ?
मैले ढेड वर्ष अघि महिला टिम सम्हाल्दा र अहिले धेरै सुधार पाएको छु ।
पहिले इन्डियासँँग खेल्दा पूरै डोमिनेट हुनुपथ्र्यो । अहिले त्यस्तो छैन । भारतलाई एसियन छनोटमा बराबरीमा रोक्यौं, हिरो गोल्डकपमा पराजित गर्याैं । अहिले हाम्रो महिला टिम र इन्डियन महिला टिममा धेरै फरक पाइँदैन । ५०/५० को स्थिति छ । जसले पाएको अवसरलाई सदुपयोग गर्यो, जित उसैको हुने अवस्था छ । समग्रमा भन्दा नेपाली महिला फुटबलमा धेरै सुधार देखिएको छ ।
डेढ वर्षे कार्यकालमा उपाधि त धेरै दिलाउन सक्नु भएन । आफूले दिलाएको सफलता केलाई मान्नुहुन्छ ?
महिला राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मा लिइसकेपछि एन्फाबाट बेस्ट कोच अवार्ड पनि पाएँ । इन्डियालाई अहिलेसम्म हराउन सकेका थिएनौं । तर उसलाई उसकै भूमिमा गएर हराएर आयौं । एसियन ओलिम्पिक क्वालिफिकेसनमा अहिलेसम्म नेपाल पर्न सकेको थिएन, मेरै प्रशिक्षणमा पर्यो। महिला फुटबलले धेरै सफलता पाएको छ ।
तर अहिलेको हाम्रो टार्गेट साफ च्याम्पियनसिप र साग हो । त्यसमा गोल्डमेडल दिलाउन नसकेपछि बाँकी सफलता पनि छाँयामा परेको अनुभूत हुँदोरहेछ । त्यही भएर पनि नैतिकताका आधारमा राजीनामा घोषणा गरेको हुँ ।
तपाईं पूर्वराष्ट्रिय खेलाडी पनि हो । तपाईंले फुटबल सुरु गर्दा र अहिले नेपाली खेलकुदमा कत्तिको फरक पाउनुहुन्छ ?
हामीले खेल्न सुरु गर्दा प्रोफेस्नालिजम् थिएन । राष्ट्रिय झन्डा छात्तीमा राखेर खेल्न पाउँदा मात्रै पनि जितेजस्तो अनुभव हुन्थ्यो ।
तर अहिले त्यस्तो छैन । खेल व्यवसायिक भएको छ । खेलेरै जीवन धान्न सक्ने अवस्था हुन थालेको छ । अहिले ग्रासरुट लेबल, युथ लेबलका प्रोग्राम धेरै बढ्न थालेका छन् । फरक त धेरै भइसक्यो ।
राज्यले खेलकुदमा गरेको लगानी र दिएको प्राथमिकताप्रति सन्तुष्ट हुनुहुन्छ ?
राज्यको प्राथमिकतामा खेलकुद बिल्कुलै छैन । कुल बजेटमा १ प्रतिशत बजेट छुट्याउँछ भने त्यसलाई कसरी प्राथमिकतामा राखेको भन्नु ? यदि राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको भए साग धेरै पहिले हुन्थ्यो । रंगशाला धेरै पहिले तयार हुन्थ्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारहरु तयार भइसक्थे ।
राज्यले कति बजेट र कस्तो योजना ल्याएको छ भन्ने कुराले नै राज्यको प्राथमिकतामा छ या छैन थाहा हुन्छ ।
तस्वीर : युनिस गुरुङ/अनलाइनखबर
प्रतिक्रिया 4