+
+

पर्यटक तान्न घोडाघोडी महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १२:०९

२१ पुस, कैलाली । भ्रमण वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कैलालीको घोडाघोडीमा पर्यटन महोत्सवको तयारी भइरहेको छ ।

पर्यटन गतिविधि बढाउन माघ २ गतेदेखि १२ गतेसम्म घोडाघोडी नगरपालिका १ सुखडमा सांगीतिक तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो ।

‘विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो,’ महोत्सव मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले भने, ‘महोत्सवको माध्यमबाट पर्यटक बढाउन खोजिरहेका छौँ ।’

महोत्सवले घोडाघोडी ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धि गराउने अपेक्षा गरेको उनी बताउँछन् । ‘धेरैले घोडाघोडीको नाम सुनेका छन् । तर, देखेका छैनन्,’ उनले भने, ‘हाम्रो उद्देश्य घोडाघोडी तालसम्म पर्यटक पुर्‍याउनु हो ।’

घोडाघोडी तालकै नामबाट घोडाघोडी नगरपालिकाको नामांकन गरिएको हो । घोडाघोडी नगरपालिकाभित्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, धार्मिक तथा पर्यटकीय स्थल, होमस्टे छन् । साथै टीकापुर पार्क, चिसापानी पुल, लोकहा भौकहा ताल, कोइलही ताल, जोखर ताल, गोदावरी धाम, शिवपुरी धामलगायत पर्यटकीय क्षेत्र पनि छन् ।

महोत्सवले घोडाघोडी क्षेत्रमात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने प्रचार प्रसार समितिका संयोजक प्रकाश मिश्र बताउँछन् । उनले भने, ‘बर्दगोरिया पुगेका पर्यटकलाई घोडाघोडीसम्म ल्याउने र घोडाघोडी आएका पर्यटकलाई त्यहाँसम्म पुर्‍याउने हाम्रो योजना छ ।’

महोत्सवमा थारु परिकार र पहिरनको समेत प्रचार प्रसार गर्ने स्थानीय कलाकार संयोजक स्वरूप चौधरी बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवर्द्धन गर्नु पनि हाम्रो दायित्व हो ।’

महोत्सवमा राजेश हमाल, रामजी खाँड, कमला घिमिरे, अमृत सापकोटा सुरवीर पण्डित, कमल खत्री, निशान भट्टराईलगायत कलाकार आउने भन्दै आयोजकले प्रचार प्रसार गर्दै आएको छ ।

महोत्सवमा आएका कलाकारहरूको माध्यमबाट राष्ट्रिय स्तरमा घोडाघोडीको चर्चा बढ्ने अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उप समितिका संयोजक होम प्रसाद आचार्य बताउँछन् । उनले भने, ‘विभिन्न क्षेत्रबाट आएका कलाकारहरूको माध्यमबाट पनि हामी घोडाघोडीलाई प्रचार गर्नै छौं ।’

माघ २ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट महोत्सव उदघाटन गराउने योजना आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?