
२५ पुस, बुटवल । साविकका पाँचवटा क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकहरु मर्ज भएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चित नोक्सान करिब ७७ करोडबाट सुधार गर्दै ११ करोडमा झारेको छ ।
पाँच वटा ग्रामीण विकास बैंक मर्ज हुँदा सञ्चित नोक्सान ७६ करोड ६१ लाख १५ हजार रहेकोमा पाच वर्षमा नोक्सानलाई घटाउँदै चालु आर्थिक वर्षमा आइपुग्दा ११ करोड १४ लाख १५ हजारमा झारेको हो ।
चालु आर्थिक वर्षको मुनाफाबाट यो नोक्सान पूर्ति गर्ने लक्ष्य रहेको संस्थाको पाँचौं साधारणसभामा अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकसमेतको लगानी रहेकोे राष्ट्रिय स्तरको यो वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा २८.१४ प्रतिशतले मुनाफा वृद्धि गरेकाले अर्को वर्ष सञ्चित नोक्सानको भार नरहने अध्यक्ष शाक्यले बताए ।
संस्थाले गत आर्थिक वर्षमा ९ अर्ब ९० करोड कर्जा लगानी र ३ अर्ब २३ करोड निक्षेप संकलन गरी ३२ करोड ११ लाख ६५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले बताए ।
संस्थाले गत वर्षको तुलनामा कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले वृद्धि गरेको उनको भनाइ छ ।
संस्थाको जारी तथा चुक्ता पुजी ९८ करोड २५ लाख पुगेको र हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब रुपैयाँमा वृद्धि गरी २ अर्ब रुपैयाँ पुर्याउने साधारणसभाले निर्णय गरेको छ ।
देशका ७ वटै प्रदेशका ५७ जिल्लाका ३६३ स्थानीय तहमा १ सय ८८ वटा शाखा कार्यालय र ८ हजार ९ सय ६० केन्द्र सञ्चालन गरी २ लाख १९ हजार ८६० समूह सदस्य र एक लाख २६ हजार २ सय ६६ ऋणी सदस्यमाझ सेवा पुर्याएको कम्पनी सचिव दीपक पाण्डेले बताए ।
साधारणसभामा शेयरधनीहरु नारायण पन्थीलगायतले संस्थामा कर्मचारी धेरै तर अन्य लघु वित्तको तुलनामा मुनाफा कम आर्जन गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।
संस्थामा ९ सय १८ जना कर्मचारी रहेका र गत वर्ष कर्मचारी तलबमा ६९ करोड ६२ लाख, कार्यालय सञ्चालन खर्चमा १० करोड ३५ लाख खर्च भएकोमा समेत शेयर धनीले असन्तुष्टि जनाएका थिए ।
साधारणसभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था भेटिएमा एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने निर्णय पनि गरेको छ ।
संस्थाको निष्कृय कर्जा कूल कर्जाको ४.२३ प्रतिशत रहेकाले यसलाई घटाउन नीतिगत सुधार गर्ने निर्णय साधारणसभाले गरेको छ ।
संस्थामा नेपाल सरकारको ३०.१६५ प्रतिशत, पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको १०.२२९ प्रतिशत,शेयर सदस्य र कर्मचारीको ८.२७३ प्रतिशत,नेपाल राष्ट्र बैंकको ३.०५३ प्रतिशत, नेपाल बैंक लि.को ६.८९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २.२९५ प्रतिशत, हिमालयन बैंकको १.४६६ प्रतिशत र नेपाल बंगलादेश बैंकको १.४७८ प्रतिशतलगायत १९ संस्थाको शेयर लगानी रहेको छ ।
प्रतिक्रिया 4