
२४ फागुन, काठमाडौं । आजभन्दा पाँच हजार वर्षअघि मनको भावना व्यक्त गर्न कुन विधि अपनाइन्थ्यो होला ? भाषिक उच्चारणको सुरुवात नभएको र अक्षरले समेत जन्म नलिएको समयमा कुनै पनि कुरालाई एकबाट अर्काे ठाउँमा लैजानका लागि कस्तो विधि अपनाउथे होला त्यतिबेलाका मान्छेहरु ?
शब्द र अक्षरले गर्भगृहमा परिपक्वताको चरण पार गरिरहँदा भाषाले चित्रात्मक भ्रुण अवस्थामा निकै समय गुजारिसकेको थियो । ५१ सय वर्षअघि सुरु भएको मानिएको शब्दाक्षर लेखन पद्दतिले २१ औं शताब्दीको सुरुवाती समयसम्म आइपुग्दासम्म धेरै चरणहरु पार गर्याे ।
जापानले हिरागाना काताकानाको वर्ण त्यहीँबाट पायो । कोरियाले त्यही लिपिमा आफ्नो इतिहास कोर्याे । चीनले आफ्नो विरासत धान्यो । र, यसरी नै बचिरहेको छ ५१ सय वर्षदेखि ध्वन्यात्मक लेखनको इतिहास ।
भाव ध्वनिमूलक लिपिको विकासपछि झण्डै तीन हजार वर्षअघि विश्वभरि नै विभिन्न ठाउँबाट शब्दाक्षर पद्दतिको विकास भएको पाइन्छ । समय फरक फरक भए पनि अहिलेसम्म विश्वमा ७ वटा लेखन पद्दतिले विश्वलाई लेखन कला सिकाएको मान्ने गरिएको छ ।
इतिहासले विकासको कोल्टे फेर्दै गर्दा पूख्र्याैली आविस्कारमा चित्त बुझाउन चाहेनन् । मानव प्रजातिले समयक्रमसँगै भाषिक परिवर्तनलाई, जस्तै–लिपिको परिवर्तनमा समेत ध्यान दिँदै आए । चित्रबाट आफ्नो अभिव्यक्ति चलाउने १२ हजार वर्ष अघिदेखिको हाम्रो खोज अहिलेसम्म आइपुग्दा वर्णभन्दा पनि सानो इकाईको पत्ता लगाउनमा तल्लीन छ ।
पाषाण युगमा चित्रमार्फत् विचार अभिव्यक्त गर्ने परम्परा एउटा ठूलो आविस्कार थियो । त्यसपछि प्रतिकात्मक लिपि अर्काे आविस्कारका रुपमा विकास भयो । यसरी विकसित रुपमा परिवर्तन हुँदै जाँदा ध्वनिमूलक लिपिको विकास हुन थाल्यो । आवाज वा ध्वनिको अंशलाई नै दृश्य चिह्नमार्फत् चिनाउन सकिने नयाँ खोजीले सफलता पायो ।
सुरुमा शब्दको आविस्कार भयो । आवाज वा ध्वनिको अंशलाई नै दृश्य चिह्नमार्फत् सम्प्रेषण गर्ने परम्परालाई नै लेखन भन्छन्, त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका सहप्राध्यापक डा. महेश कुमार आचार्य । उनका अनुसार यस्तो लेखन मानव जातिले विचार वा भावना सम्प्रेषणका लागि भाषाको आविस्कार गरेपछि मात्रै उत्पत्ति भएको हो ।

शब्द, अक्षर र वर्णहरुको आविस्कारलाई नै लेखन परम्पराको कोटीमा नराख्ने हो भने आजभन्दा १२ हजार वर्षअघिदेखि हामीले निरन्तर आफ्नो भावनालाई अभिव्यक्त गर्न कुनै न कुनै माध्यम अँगाल्दै आयौं । ढुंगे युगमै पनि दुनियाँ चलिरहेकै थियो । त्यसलाई अहिलेका इतिहासवेत्ताहरुले उच्च पूरा पाषणकालको नाम दिए । गुफामा आफ्नो गुजारा चलाउनेहरुले परिचयात्मक वा विवरणात्मक रुपमा बनाउने चित्रहरुसँगै सुरु भएको हो हामीहरुको लेखनकला ।
हस्तिहाडमा जीवजन्तुको चित्र बनाउने युगले आजको जस्तो सहज दैनिकी पक्कै पनि बोकेको थिएन । रुखको बोक्रामा चित्र कोर्ने कलाकारहरुले आफ्नो कलाको चिरकालीन प्रसिद्धिको पक्कै पनि अपेक्षा राखेका थिएनन् होला । यसबाहेक पशुको छाला र माटोको भाँडामा बनाइएका सुन्दर आकृतिहरुले अहिलेसम्म पनि यसको ऐतिहासिकताको पुष्टि गरिरहेको छ ।
मेसोपोटामिया, ग्रीस, साइबेरिया जस्ता स्थानहरुमा पाइएका यस्तै खालका तस्बिरहरुले लेखनकलाको सर्वप्राचीन चित्र लिपिलाई ईंकित गरेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार दक्षिणी फ्रान्स, स्पेन, क्रेट, मेसोपोटामिया, ग्रीस, इटाली, पोर्चुगल आदि ठाउँहरुमा यस्ता प्राचीन चित्रहरु पाइएका छन् । यी चित्रहरु हस्तिहाड, रूखको बोक्रा, पशुको छाला र माटोका भाँडाहरुमा बनाउने गरिएको थियो ।
त्यतिबेलाका सांकेतिक सूत्रहरुमा सूर्यको लागि गोलाकार चित्र, विभिन्न वस्तुहरूको लागि तिनीहरूको तस्वीर, मानिसका लागि मान्छेको तस्वीर र विभिन्न अंगहरूका लागि ती अंगहरूको तस्वीर बनाउने गरिन्थ्यो । हाइरोग्लिफ्सको परम्परा त्यस समयदेखि कुनै न कुनै रूपमा चलिरहेको मानिन्छ ।
चित्रात्मक लिपिलाई पालो दिन विकास भयो प्रतिकात्मक लिपि । प्रतिकात्मक भाषामा बोलिने यसलाई शुद्ध अर्थमा लिपि नै हो भनेर यकीन गरिएको छैन । यद्यपि लेखनकलाको विकासक्रममा यसलाई पनि कतै व्यवस्थापन गर्नुपर्ने इतिहासकारहरुको मत छ । टाढाका व्यक्तिको विचारलाई प्रेषित गरिएका वस्तुको आधारमा त्यसको अर्थ चिन्ने कला हो प्रतिकात्मक लिपि ।
यो प्राचीन समयदेखि धेरै देशहरु र जनजातिहरुको पछिल्लो समयसम्म पनि प्रचलनमा रहेको पाइन्छ । पछिल्लो समयमा आएर तिब्बती–चिनियाँ सीमानामा कुखुराको कलेजोलाई तीन टुक्रा बनाएर खुर्सानी सहित रातो कागजमा बेरेर पठाउँदा युद्धको संकेत मान्ने प्रचलन यही प्रतिकात्मक लिपिको उदाहरण हो । रातो झण्डाले युद्धको संकेत गर्छ, सेतो झण्डाले शान्तिको । यही नै प्रतिकात्मक लिपिको उदाहरण हो ।
पाँच हजार वर्षभन्दा पुरानो शब्दाक्षर लेखन
हामीले बोलिराखेको देवनागरी लिपि कुन् लिपिको विकसित रुप हो ? भन्ने यकीन छैन । एकातर्फ सिन्धुघाँटीको सभ्यतासँगै लेखन परम्पराकोबारेमा इतिहास मौन छ । वैदिक कालमा कस्तो लेखन परम्परा चल्यो ? भन्नेमा पुरातात्विक स्रोतहरु बोल्दैन । एकैपटक इसापूर्व तेस्रो शताब्दीमा अशोकले विकसित भइसकेको ब्राह्मी लिपिमा लेखेका अभिलेखहरुसँगै भेटिन्छ । पुरातात्विक खोजहरुमा इसापूर्व चौथो शताब्दीका समेत प्रमाणहरु अहिले प्राप्त हुने क्रममा छन् । यद्यपि भार तवर्षबाट सुरु भएको यो लिपि एक्कासी विकसित रुपमा कसरी आयो ? यो अझै खोजीको विषय छ । प्राचीन सिन्धुलिपि अहिलेसम्म पढ्न नसकिएको कारणले पनि ब्राह्मी लिपि सिन्धु लिपिकै विकसित रुप हो या होइन ? भन्नेमा मतभेद जारी छ ।
समयको हिसाबले हेर्ने हो भने अहिलेको इराकबाट सुरु भएको सुमेरियन लेखन नै विश्वको सबैभन्दा पुरानो शब्दाक्षर लेखन भएको मान्ने गरिएको छ । जुन ईसापूर्व ३१०० देखि इसाको ७५ सम्म चलेको विश्वास छ । यही लेखनले विश्वमा पहिलोपटक अक्षरको विकास गर्यो । शब्दबाट सुरु गरेर अक्षरहुँदै वर्णसम्मको गहिराईमा पुर्याउन यही लेखनले धेरै योगदान दिएको छ । एरामाइट र हर्रियनलाई सुमेरियन किलाक्षरले नै जन्म दियो । यस्तै धेरैलाई जन्म दिएको छ किलाक्षरले ।
यता, सुमेरियनहरुले शब्दको आविस्कार गरेको केही समयमा नै एलममा एलमाईट लेखनको सुरुवात भइसकेको थियो । यो इसापूर्वको ३००० देखि ईपू २२०० सम्म चलेको विश्वास गरिन्छ । सोही समयताका मिश्र (हालको इजिप्ट) मा पनि इजिप्टियन लेखन परम्पराको सुरुवात भयो । यसमा ईसापूर्व ३००० देखि ईंपू ४०० सम्म चलेको मानिन्छ ।
यी तीन लेखन पद्दतिभन्दा केही नयाँ हो सिन्ध लेखन र चिनियाँ लेखन । सिन्ध लेखन अहिलेको भारत र पाकिस्तानमा २२०० देखि २५ सय इसापूर्वदेखि सुरु भएको मान्ने गरिन्छ । उता चिनियाँ लेखन भने ईसापूर्व १३०० देखि मात्रै सुरु भएको मान्ने गरिन्छ । यी दुईमध्ये सिन्ध लेखन अहिलेसम्म पढ्न सकिएको छैन भने चिनियाँ लेखन पद्धतिमा पहिलेको भन्दा खासै भिन्नता रहेको पाउँदैनौं ।
यसबाहेक पनि क्रिट र ग्रीसमा सुरु भएको क्रेटान लेखन इपू २००० देखि ईपू १२०० सम्म सञ्चालनमा आएको मान्ने गरिन्छ । एनाटोलिया र सिरिया क्षेत्रमा विकास भएको हिट्टाइट लेखन पनि इसापूर्व १५०० देखि ईपू ७०० सम्म चलेको मान्ने गरिन्छ । अहिलेसम्म सिन्ध, एलामाइट र क्रेटान लेखनका अक्षरहरु पढ्न नसकिएको डा. आचार्य बताउँछन् ।
चित्रात्मकदेखि वर्णात्मक लेखनको चरण
लिपि विकासको पहिलो चरण चित्र लिपिको चरण हो भने अन्तिम चरण वर्णनात्मक लिपि विकासको चरण हो । वर्णनात्मक लेखनमा, त्यहाँ ध्वनिका प्रत्येक इकाईको विभिन्न प्रतिकहरु हुन्छन् । विश्वको प्रमुख लिपिलाई दुई मुख्य कोटीहरूमा राख्न सकिन्छ ः
१ जोसँग वर्णहरू हुँदैन, जस्तै क्यूनिफर्म, चिनियाँ आदि ।
२. जसमा वर्णहरू हुन्छन्, जस्तै रोमन र देवनागरी आदि।
प्रथम वर्गमा पर्ने मुख्य लिपिहरु हुन्– क्युनिफर्म, हेरोग्लाफिक, क्रीटको लिपि, सिंधु घाटीको लिपि, हिट्टाइट लिपि, चिनियाँ लिपि ।
त्यस्तै– दोस्रो वर्गका प्रधान लिपिहरु– हिब्रु लिपि, फोनेशियन लिपि, खरोष्ठी लिपि, आर्मेइक लिपि, अरबी लिपि, भारतीय लिपि, ग्रीक लिपि, ल्याटिन लिपि आदि हुन् ।
नेपाली भाषालेखिएको देवनागरी लिपीको विकासको प्रक्रियाभने ब्राह्मी लिपीबाट सुरु भएको मानिन्छ । ब्राह्मी लिपीबाट विकास भएर पूर्व लिच्छवि, त्यसपछि उत्तरलिच्छवि हुँदै मध्यकालदेखि नै नेवारी र उत्तरमध्यकालदेखि देवनागरी लिपीको विकास भएको पाइन्छ । जसमा विभिन्न शाखा लिपीको पनि विकास भए । यसरी लिपीको विकास भएको पाइन्छ ।
प्रतिक्रिया 4