
१५ चैत्र, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबारदेखि पुरै भरिएको एलपिजी ग्यास (सिलिण्डर १४.२ किलो) को बिक्री वितरणमा रोक लगाउने निर्णय लियो ।
सरकारको यस्तो निर्णयले बजारमा ग्यासको हाहाकार भएको सन्देश गएको छ । जबकी त्यस्तो अवस्था नभएको व्यवसायीहरु बताउँछन् ।
नेपाल आयल निगमले बुधबार साँझ नै सबै ग्यास उद्योगलाई आधा सिलिण्डर (७.१ किलो) को तयारी गर्न आग्रह गर्दै इमेलमार्फत् पत्राचार गरेको थियो । सरकारले घोषणा गरेको लकडाउनले ग्यासको अभाव सिर्जना हुनसक्ने भएकाले यो निर्णय लिइएको निगमको तर्क छ । तर, व्यवसायीले भने यो निर्णय समस्या झन् बढ्ने बताएका छन् ।
मासिक खपत र आयात दरभन्दा बढी मात्रामा ग्यास आपूर्ति भइरहँदा सरकारको यस्तो निर्णय आएपछि उपभोक्तामा पनि त्रास सिर्जना भएको छ ।
दैनिक एक लाख सिलिण्डर बजारमा
कोरोना महामारीले ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरु फागुन अन्तिम सातादेखि नै रित्ता सिलिण्डरहरु लिएर बजारमा निस्किए । आयल निगमका एलपीजी तथा हवाई इन्धन वितरण विभाग प्रमुख निर्देशक दीपक बरालका अनुसार चिसो मौसममा नेपालभरी मासिक ३८ हजार मेट्रिक टन ग्यासको खपत थियो र आपूर्तिमा समस्या थिएन ।
बिस्तारै मौसम परिवर्तन भएर गर्मी लाग्दैगर्दा ग्यासको खपत ओरोलो लाग्नुपर्ने हो । तर, ग्यास अभावको भयले घर–घरमा व्यवस्थापन सुरुभयो ।
बजारमा कृत्रिम अभाव देखिएपछि निगमले दुई हप्ताको अवधिमा करिब ४६ हजार मेट्रिकटन ग्यास वितरण गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल जानकारी दिए ।
पौडेलकाअनुसार देशभर ५९ ग्यास उद्योग र हजारौंको संख्यामा रहेका डिलरमार्फत् दैनिक एक लाख १५ हजार सिलिण्डर पुरै भरिएको ग्यास वितरण गरिएको थियो ।
रित्ता सिलिण्डर एकैपटक बजारमा
निगमकाअनुसार देशभर अहिले २८ लाख सिलिण्डर उपभोक्ताको घरमा छन् । अहिलेको संकट अघि दैनिक ८० देखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरण हुन्थ्यो । गर्मीमा यो अझै कम हुनुपर्ने निगमको भनाइ छ ।
नाकाबन्दीका बेला प्रायः परिवारले घरमा अतिरिक्त सिलिण्डर राखेका थिए । यस्ता अतिरिक्त सिलिण्डर लिएर उपभोक्ता लाइनमा आएको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।
उनी भन्छन्, ‘३८ हजारको मासिक खपत दोब्बर बन्यो, अब तत्काल निगमले ८० हजार मेक्ट्रिकटन हाराहारी ग्यास उपलब्ध गराउनुपर्ने चुनांैती थपियो ।’
यो चाप निगमलाई मात्रै नभई डिलरदेखि ग्यास उद्योगसम्म पुग्यो । एलपीजी ग्यास उद्योग संघका अनुसार एउटा उद्योगले मासिक आफ्नो वितरणका लागि २० बुलेट ग्यास ल्याउँथे भने उनीहरुलाई ४० बुलेट ल्याउनु पर्नेभयो । एउटा डिलरले दिनमा एक सय सिलिण्डर बेच्थे भने उसलाई दैनिक अब दुई सय सिलिण्डर चाहिन्छ ।
संघका अध्यक्ष गोकुल भण्डारीले त पत्रकार सम्मेलन गरेरै भने ‘बजार हल्लाकै भरमा त्रास बढ्यो, ग्यास मौज्दात नराख्नुहोला, ग्यास अभाव हुन्न’ ।
ग्यास अभावको खबर सुनेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगममार्फत् भारतबाट हुने आयात १२ हजार मेट्रिकटनले बढाउन लगाए । आफैं बजार अनुगमनमा पनि हिँडे ।
मन्त्रीको सचिवालय स्रोत भन्छ ‘पछिल्लो तीन साताको दौडधुपमा आपूर्तिको समस्याले उपभोक्तामा त्रासकै कारण ग्यास अभाव भएको देखियो ।’
उपभोक्ताको गुनासो सुन्न वाणिज्य विभागमा ११३७ नम्बरको हटलाइन सञ्चालनमा छ । विभागका महानिर्देशकसहितका उच्च तहका कर्मचारीको मोबाइलमा समेत कल ट्रान्सफर हुने व्यवस्था मिलाइएको छ । हटलाइनमा आएका गुनासाबारे सुनाउँदै विभागका सूचना अधिकार दीपकराज पोख्रेल भन्छन्, ‘अनेक खालका गुनासो आउँछन् । कतिपयले त भरमार गाली पनि गर्छन् ।’
ग्यास अभावले चुल्हो ननिभोस् भनेर निगम र ग्यास उद्योगीले काठमाडौं उपत्यकाको लागि ग्यासको रिटेल काउन्टर सञ्चालनमा ल्याए । उपत्यकाको १७ स्थानबाट २४ कम्पनीका आएका जति खाली सिलिण्डर साट्नेगरी तीन दिन त्यस्ता काउन्टरबाट ग्यास वितरण गरियो । ती आउटलेटबाट एकै दिनमा २५ सय सिलिण्डर ग्यास वितरण भएको उद्योगी गोकुल भण्डारीले बताए ।
तर, अझै ग्यास अभाव
मासिक ग्यासको माग ३८ हजार मेट्रिकटन छ । तर, मार्चमा ५० हजार मेट्रिकटन आयात गरियो । निगमका अनुसार नेपालले मागे जति ग्यास भारतीय आयल कर्पोरेसनले उपलब्ध गराएको छ । आपूर्तिमा कुनै समस्या पनि छैन । तर, पनि अभाव यथावत् छ ।
यसको तीनवटा कारण रहेको विश्लेषण गर्दै निगमले नयाँ निर्णय लिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । पहिलो, कोठामा÷घरमा ग्यास थुपारेर एकथरी मान्छे गाउँ गए । दोस्रो, भरी सिलिण्डर ग्यास नयाँ उपभोक्तालाई डिलरले बेचिरहेका छन्, जसले गर्दा घर–घरमा ग्यासको नयाँ सिलिण्डर जम्मा भयो । तेस्रो, भरिएका १४.२ किलोका सिलिण्डर ठूलो परिमाणमा भण्डारण गरेको छ ।
भारतमा एक महिनामा एउटा सिलिण्डर चार पटकसम्म औसत भरिन्छ । तर, यो हिस्सा नेपालमा महिनामा एउटा मात्रै छ । निगमका अनुसार नेपालीको ग्यास खपत किफायती छ, जसले गर्दा सिलिण्डर चलायमान हुन पाउँदैन ।
घरमा सिलिण्डर थुप्रिएपछि बुलेटमा आएको ग्यास पनि वितरण गर्न कठिन हुने अवस्था सिर्जना भएको निगमले जनाएको छ । भर्खरै मात्र भारतबाट आयात भएको ६ हजार मेक्ट्रिकटन ग्यास बिक्री वितरण गर्न समस्या आउन लागेको निगमले जनाएको छ ।
किन आधा सिलिण्डर ?
मंगलबारसम्म ग्यास वितरणमा मन्त्रालय, निगम र उद्योगी सँगसँगै हातेमालो गरेर हिँडेका थिए । तर, बुधबार साँझ सरकारी अधिकारीहरुको मात्रै सहमतीमा निगमले उद्योगीलाई आधा सिलिण्डरको एकतर्फी निर्णय इमेलमा पठाए । पौडेल यसलाई अभावविरुद्धको सर्जिकल स्ट्राइकलको संज्ञा दिन्छन् ।
व्यवसायीहरुले निगमको कदमको आलोचना गरेपछि निगमले बिहीबार मन्त्रालयबाटै आफ्नो निर्णय सदर गर्दै मन्त्रीस्तरबाटै आधा सिलिण्डर वितरणको निर्णय कार्यन्वनयनमा ल्यायोे ।
पूरा र आधा सिलिण्डर ग्यास भर्न उद्योगलाई बराबर समय र खर्च लाग्छ । आधा सिलिण्डरको निर्णयले उद्योगहरुमाथि अतिरिक्त भार थपिएको भन्दै निगमको निर्णयमा उद्योगीहरुले असहमती जनाएका छन् । तर, उपभोक्तालाई जसरी पनि ग्यास दिन र चुल्हो निभ्नै नदिन यस्तो निर्णय गरिएको र यो उद्योगहरुका लागि बाध्यकारी हुने निगमको दाबी छ ।
शुक्रबारसम्म दैनिक १४.२ किलोको एक लाख सिलिण्डर बजारमा गइरहेकोमा अब त्यो संख्या कम परिमाणमा भएपनि दोब्बर भएर दुई लाख पुग्ने निगमको दाबी छ । यस्तै, लुकाईएका ग्यास शुक्रबारसम्म मात्रै झिक्न पाइन्छ र लुकाउनेहरु त्यो झिक्न बाध्य हुने निगमले जनाएको छ ।
शनिबारबाट निश्चित तोकिएको क्षेत्रबाहेक पूरा सिलिण्डर ग्यास बेच्न पाइन्न । अर्कोतर्फ आधा सिलिण्डर ग्यास छिटो सकिने र भर्नको लागि छिटो सिलिण्डर आउने हुँदा सिलिण्डर नभएर बुलेटमा ग्यास थन्किने अवस्था अन्त्य हुनसक्ने निगमको विश्वास छ ।
पूरा सिलिण्डरको मूल्य १४ सय ७५ रुपैयाँ तिर्न कठिन हुने परिवारका लागि सात सय ३७ रुपैयाँमा पाइने ग्यासले सहजता थप्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन् । आपूर्ति व्यवस्था चालु रहेको अवस्थामा उपभोक्ताले ग्यास नपाएको गुनासो गरुन्जेल आधा सिलिण्डरको निर्णय कायमै रहने उनले बताए ।
नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताको हितका लागि सरकारी निर्णय स्वीकार्य भएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष गोकुल भण्डारीले उद्योगहरुले आधा सिलिण्डर ग्यास बजारमा पठाउन सुरु गरिएको जानकारी दिए ।
‘लकडाउनको अवस्थाले चुनौतीहरु थपिएका छन् । तर, हामी जिम्मेवारी निर्वाह गर्दैछौं, यसको लागि सबैको साथ चाहिएको छ,’ भण्डारीले भने ।
प्रतिक्रिया 4