
कब्जियत एक यस्तो स्थिति हो, जो पेट ठिक ढंगले सफा हुन पाउँदैन। साथै, मल त्याग गरेको समयमा कष्ट हुन्छ। कब्जियत पीडित आम व्यक्तिको तुलनामा कम शौच गर्छन् । सामान्य व्यक्तिले दिनहुँ मल त्याग गर्छन् । तर, जसलाई कब्जियत छ, उनीहरु दुई/तीन दिनसम्म पनि शौच गर्न सकिरहेका हुँदैनन्।
यहि कारण उनीहरुको पेट भारी हुन्छ, शरीर चंगा र छरितो महसुस हुँदैन । खानामा अरूचि हुन्छ। कब्जियतको कारण कतिको वान्ता र टाउको दुख्ने समस्या हुन्छ ।
किन हुन्छ कब्जियत ?
– खाने तालिका नियमित नहुनु ।
-बासी खानेकुरा सेवन ।
-शारीरिक रुपमा निष्कृय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
– मानसिक तनाव
-अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
– पेटको कमजोरी
-पानी कम पिउनु ।
-खाना खाएको समय धेरै पानी पिउनु ।
-गरम मसलायुक्त एवं मसलेदार खानेकुरा खानु ।
के छ त उपचार ?
कब्जियत खराब दिनचर्या र खानपानको कारण हुनेगर्छ । त्यसैले सक्रिय जीवन बिताउनुपर्छ । शारीरिक श्रम गर्नुपर्छ । त्यही अनुसार स्वस्थ्य र सुपाच्य भोजन ग्रहण गर्नुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । फाइबरयुक्त सब्जी, फलफूल र सलादको सेवनमा जोड दिनुपर्छ । यससँगै व्यायाम पनि आवश्यक हुन्छ । दिसा-पिसाबलाई लामो समय रोकेर राख्न हुँदैन ।
आयुर्वेदिक उपचार विधि
-त्रिफला चूर्ण दुई चम्चा हल्का तातो पानीमा घोले नियमित रुपले राति सुत्नुअघि सेवन गर्नुपर्छ ।
– मनतातो दूध वा पानीमा हर्रा-बर्रा र अमलाको समान मात्रामा तयार गरिएको चूर्ण राति सुत्नुअघि सेवन गर्नुपर्छ ।
-कब्जियतको उपचारमा किसमिस एकदमै उपयोगी मानिन्छ । आठ वटा जति किसमिस तातो दूधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।
-पेटको रोगमा एकदमै उपयोगी हुन्छ, मेवा ।
-स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।
-अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ति दिन्छ ।
-गोलभेडा सेवन गर्दा कब्जियत ठिक हुन्छ ।
-तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र बिहान खाली पेटमा पिउने गर्नुपर्छ ।
-पानी भरपुर पिउने
कब्जियतबाट छुटकारा पाउने भने भरपुर मात्रामा पानी पिउनुपर्छ । यसले मल त्याग गर्न सजिलो हुन्छ । पानी पिउन जाँगर चलेन भने जुसलगायतका पेय पदार्थ पिउँदा पनि हुन्छ ।
फाइबरयुक्त खाना
आफ्नो डाइटमा बढीभन्दा बढी फाइबरयुक्त खानेकुरा समावेश गरौँ । यसले पेटलाई पूर्णरुपमा सफा राख्न मद्दत गर्छ । साथै यसले पेटमा ग्यास वा कब्जियतको समस्या रहँदैन । हरियो पत्तेदार तरकारी, सिमी, फलफूल, अप्रशोधित अन्न आदिमा फाइबरको मात्रा भरपुर हुन्छ ।
दूध होइन, दही खाने
पनीर, दूध र अन्य डेरी उत्पादनमा लेक्टोस हुन्छ जसले पेटमा ग्यास भरिने र पेट बटार्ने समस्या निम्त्याउँछ । त्यसैले यसबाट बच्नुपर्छ । दूधको सट्टामा दहीको सेवन गर्न सकिन्छ । यसमा प्रोटिन पनि हुन्छ र यसले कुनै हानि गर्दैन ।
म्याग्नेसियम फुड
आफ्नो डाइटमा म्याग्नेसियमयुक्त खानेकुरा समावेश गर्नु राम्रो हुन्छ । यो कब्जियतका लागि एकदम प्रभावकारी हुन्छ । यसले आन्द्रादेखि मलद्वारसम्मलाई राम्ररी सफा गर्छ ।
जंक फुडबाट टाढा
हामीमध्ये धेरैलाई पकाइएर धेरै समय त्यसै राखिएको खानेकुरा अति मनपर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।
व्यायाम र योग
माथिका सबै उपायहरुका बाबजुद कब्जियत निवारणमा सबैभन्दा महत्वपूर्ण छ व्यायाम । स्वस्थ शरीरका लागि एक्सरसाइज अति आवश्यक हुन्छ । योग वा प्राणायामले पनि यसलाई ठिक गर्नसक्छ ।
प्रतिक्रिया 4