
२५ चैत, काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको बिक्री सुरु गरेको छ । विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोतल स्यानिटाइजरको बिक्री सुरु गरेको लिमिटेडका निमित्त महाप्रवन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिए ।
‘बजारको अभाव चिर्न उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरिएको छ,’ निमित्त महाप्रवन्धक बज्राचार्यले भने । बजारमा स्यानिटाइजरको अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनत साथ कच्चा पदार्थ खोजेर स्यानिटाइजर बनाइएको बज्राचार्यले बताए ।
विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधि लिमिटेडले उद्योग मन्त्रालय र औषधि व्यवस्था विभागसँग छलफल गरेर उत्पादन थालेको बज्राचार्य बताउँछन् ।
स्यानिटाइजरको मुख्य कच्चा पदार्थ अल्कोहल बाराको रिलायन्स सुगर मिल्सबाट खरिद गरिएको लिमिटेडले जनाएको छ । पहिलो चरणमा कम्पनीले १० हजार लिटर अल्कोहल खरिद गरेको र अझै खरिद गरिने लिमिटेडले जनाएको छ ।
लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा अल्कोहल ८० प्रतिशत, पानी १८ प्रतिशत बाँकी ग्लिसिरिन तथा डिस्टिल वाटरको प्रयोग गरिएको छ ।
आइतबारदेखि एक सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको उनले बताए ।
एकसय एमएलको बोतलको होलसेल मूल्य एक सय ५० रुपैयाँ र खुद्रा बिक्री मूल्य एक सय ७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेहरुका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको उनले बताए ।
बबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहेजति स्यानिटाइजर किन्नसक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने बज्राचार्यको दाबी छ ।
नेपाली सेनाले मात्रै एकैदिन दुई सय ५० लिटर स्यानिटाइजर माग गरेको र अन्य सरकारी कार्यालयबाट पनि माग भएको निमित्त महाप्रवन्धक बज्राचार्यले बताए ।
प्रतिक्रिया 4