
खानाले शरीरलाई पोषण प्रदान गर्छ । निरोगी र जीवित राख्छ । त्यसैगरी खानाले नै हामीलाई रोगी र जीर्ण बनाउँछ । खानपानबीच पनि यस्तो भेद छ ।
खान नपाएर वा भोकमरीले मान्छेहरुको मृत्यु भएको छ । उचित खानाको अभावमा कुपोषणले ग्रस्त भएका छन् । जबकी आवश्यक्ताभन्दा बढी खाएर पनि मान्छेहरुको मृत्यु भएको छ । खाना खाएकै कारण मान्छेहरु रोगी भएका छन् ।
त्यसैले कस्तो खाना खाने भन्ने कुरासँगै कति र कसरी खाने भन्ने कुरा महत्वपूर्ण छ । हाम्रा पितापूर्खाले विभिन्न उखानको माध्यामबाट कस्तो खानपान गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने दर्शाउँदै आए ।
धेरै खायो भने चिनी पनि तीतो हुन्छ
चिनी त गुलियो चिज हो । तर, त्यसको गुलियोपन त्यसबेलासम्म मात्र रहन्छ, जब हामी नियन्त्रित मात्रामा सेवन गर्छौं । उचित मात्रामा सेवन गर्छौं । धेरै खाइयो भने चिनी गुलियो होइन, तीतो लाग्न थाल्छ । यसले जस्तोसुकै गुणी खानेकुरा पनि सही मात्रामा खानुपर्छ भन्ने दर्शाउँछ ।
अन्नमा भन्दा सन्नामा जोड
यो भनाईले खानाको सन्तुलन कसरी मिलाउनुपर्छ भन्ने जनाउँछ । अन्नको मात्रा कति हुनुपर्छ, सागपातको मात्रा कति हुनुपर्छ भन्ने बुझाउँछ । अन्नभन्दा सागपात, सलाद वा झोलिलो खानेकुरामा जोड दिनुपर्छ । जति हामी चामल, रोटी, तरकारी आदि सेवन गर्छौं, त्यो भन्दा बढी झोलिलो खानेकुरा खानुपर्छ ।
बिहानको खाना आफु खानु, रातीको सत्रुलाई
बिहानको खाना आफुले खानु, दिउँसोको साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु । यो भनाईले हाम्रो खानपान तालिका कस्तो हुनुपर्छ भन्ने बुझाउँछ । बिहानको खाना भरपेट खानुपर्छ । किनभने बिहानको खानाले शरीरलाई दिनभरको लागि आवश्यक उर्जा दिन्छ । त्यसपछि भने खानाको मात्रा क्रमस घटाउँदै लानुपर्छ । रातीको खाना शरीरका लागि आवश्यक छैन ।
सूर्योअस्तपछिको खाना विष समान
यसले खानपान र समयको सन्तुलन कसरी मिलाउनुपर्छ भन्ने जनाउँछ । हाम्रा पूर्खाहरुले सूर्यअस्तपछिको खानेकुराले शरीरलाई पोषण दिने नभई विकार पैदा गर्ने बताउँदै आए । किनभने राती शरीरले विश्राम गर्छ । यसअघि खाइने खाना पाचन यन्त्रका लागि भार बन्छ । त्यसले शरीरमा विकार पैदा गर्छ ।
जस्तो खाना उस्तै शरीर
हामीले खाने खानाबाट नै शरीरका कोषहरु निर्माण हुने हो । त्यसैले खानाको सोझो असर शरीरमा पर्छ । हामीले पोषिलो, ताजा, स्वस्थ्यवद्र्धक खाना खायौं भने शरीर पनि तन्दुरुस्त र बलियो हुन्छ । यदि सडेगलेको, तारेको, भुटेको, अस्वस्थ्यकर खानेकुरा खाइयो भने शरीर रोगी हुन्छ ।
प्रतिक्रिया 4