
५ वैशाख, कैलाली । प्रदेश सरकारको निर्देशन अवज्ञा गर्दै सेती प्रादेशिक अस्पतालले प्रसूति सेवा पुनः सुरु गरेको छ ।
यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्रसूति सेवा बन्द गर्न निर्देशन दिएको थियो । तर, त्यसको ३ दिन नबित्दै पुनः प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ ।
मन्त्रालयको प्रसूति सेवा बन्द गर्ने निर्देशनलगत्तै प्रदेश स्वास्थ्य निर्देशनालयले सेवा सञ्चालन गर्न भनेपछि त्यहीअनुरूप गरिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
‘मन्त्रालयले बन्द गर्न भने पनि निर्देशनालयले खोल्न भन्यो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘निर्देशनालयको निर्देशनपछि आजदेखि पूर्ववत् प्रसूति सेवा प्रवाह गर्ने निर्णय गरिएको छ ।’
स्वास्थ्य निर्देशनालयले आवश्यक सावधानी अपनाउँदै सेवा गर्न निर्देशन दिएपछि प्रसूति सेवा सुरु गर्ने निर्णय गरिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे बताउँछन् । यसका लागि छुट्टाछुटै बाटो तयार भइसकेको जानकारी उनले दिए ।
यसअघि प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेको थियो। संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेको भन्दै प्रसूति सेवा बन्द गरिएको थियो ।
मन्त्रालयले धनगढीकै नवजीवन अस्पतालबाट प्रसूति सेवाको व्यवस्था मिलाउनसमेत निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4