+
+

४० हजार र्‍यापिड टेस्ट भइसक्यो, अझै परीक्षण भएको छैन गुणस्तर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १४:५६

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भए/नभएको परीक्षण गर्न प्रयोग भइरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको गुणस्तर अझै प्रमाणित नगरेको पाइएको छ ।

ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता विवादमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको थियो ।

मन्त्रालयले १९ चैत २०७६ मा ओम्नी समूहले ल्याएको ७५ हजार किट गुणस्तर निर्क्यौलपछि मात्रै प्रयोग गर्ने भनेको थियो । मन्त्रालयका विज्ञ सल्लाकार डा. खेम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको थियो, ‘सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुनेछ ।’

तर ४० हजार बढी आडीटी टेष्ट गरिसक्दा पनि गुणस्तर परीक्षण नगरिएको पाइएको छ ।

गुणस्तर परीक्षण भएको छैन : परिषद 

गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने भनेको एक हप्तामै मन्त्रालयले आरडीटी किटहरु प्रदेशहरूमा पठाउन सुरु गर्‍यो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रत्येक प्रदेशमा पाँच हजारका दरले किट पठाइएको जानकारी २७ चैतमा गराएका थिए ।

मन्त्रालयका अनुसार शनिबार साँझसम्म ३९ हजार ६७० वटा आरडीटी प्रयोग भइसकेको छ । ‘तर हामीले गुणस्तर जाँचेर प्रयोग योग्य भनेका छैनौं’, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका एक अधिकारीले भने ।

परिषदका अधिकारीहरूकाअनुसार किटको गुणस्तर परीक्षण गर्न कम्तिमा दुई हप्ता लाग्छ । किट प्रयोग गर्ने क्रममा परिषदले सरकारसँग आडीटीको ६०० नमुना माग पनि गरेको थियो ।

तर अहिलेसम्म नमुना नै पाएको छैन । परिषद्का एक अधिकारी भन्छन्, ‘हामीले सबै नमुना समयमै प्राप्त गरेको भए फास्ट ट्रयाकबाट काम गर्दा १५ दिनसम्ममा नतिजा पठाउन सक्थ्यौं ।’

परिषद्मा प्रा. डा. प्रकाश घिमिरेको अध्यक्षतामा २० सदस्यीय इथिकल रिभ्यु बोर्ड छ, जसले गुणस्तर जाँचसम्बन्धी काम गर्छ ।

दुई लाख आरडीटी किन्दै सरकार

ओम्नी समूहमार्फत आएको सबै किट प्रदेश र स्थानीय तहहरूमा पुगिसकेका छन् । आरडीटीले नेगेटिभ देखाएकोलाई पीसीआरले पोजेटिभ र पोजेटिभलाई नेगेटिभ देखाएका थुप्रै केस आइसकेका छन् ।

एन्टीजेन कीट ल्याउनुपर्नेमा ओम्नीले एन्टीबडी ल्याएपछि कोरोना नभएकालाई भएको र भएकालाई नभएको देखाएको विज्ञहरूको भनाइ छ ।  निगरानीका लागि मात्रै प्रयोग हुने एन्टीबडी किट सरकारले कोरोना पहिचानका लागि प्रयोग गरेको भन्दै विज्ञहरूले विरोध गर्दै आएका छन् ।

तर स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने अहिलेभन्दा भरपर्दो आरडीटी ल्याउन लागेको बताउँछन् । तत्काललाई दुई लाख वटा आरडिटी खरिद गर्न लागेको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?